प्रहरीद्वारा १६ लाख बराबरको अवैध सामान बरामद
तिलोत्तमा — रुपन्देहीको बुटवलबाट सशस्त्र प्रहरीले बिलबिजक नभएको सामानसहित गाडी बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस बुटवल, रुपन्देहीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) शशीराम भारतीको कमाण्डमा खटिएको गाडी मोबाइल टोलीले सामानसहित गाडी बरामद गरेको हो ।
शुक्रबार बिहान साढे ९ बजे बुटवल उपमहानगरपालिका ९ स्थित इँटाभट्टा क्षेत्रबाट लु २ च ६६६४ नम्बरको गाडी (छोटाहात्ती) लाई शंका लागि जाँच गर्ने क्रममा बिलबिजक नभएको अवस्थामा सामान, सवारीसाधन तथा चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको सामान, गाडी र चालकलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) दुर्गाबहादुर थापाले जानकारी दिए ।
लेडिज सेण्डिल चप्पल ४५० जोर, जेन्स जुत्ता १४४ जोर, गाडीको टायर २ थान र ढुवानीमा प्रयोग भएको सवारीसाधन १ थान गरी अन्दाजी मूल्य १६ लाख ४ हजार ६ सय २० बराबरको सामान बरामद गरिएको डीएसपी थापाले बताए ।
प्रकाशित : वैशाख ७, २०८१ २१:२७