१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

तानसेनको श्रीनगर डाँडामा दिनहुँ डढेलो

माधव अर्याल

पाल्पा — पाल्पा सदरमुकाम तानसेनको श्रीनगर डाँडास्थित जंगलक्षेत्रमा तीन दिनयता डढेलो लागेको छ । मंगलबारदेखि बिहीबारसम्म दैनिक डढेलो लागेको हो । सामुदायिक वनका उपभोक्ताले डढेलो नियन्त्रण प्रयास गरे पनि पुनः लाग्ने समस्याले पीडित भएको गुनासो गरेका छन् । 

तानसेनको श्रीनगर डाँडामा दिनहुँ डढेलो

डिभिजन वन कार्यालयका वन अधिकृत उपेन्द्र अर्यालका अनुसार दैनिक लागेको डढेलोले हैरानी खेप्नु परेको छ । तानसेन बजारदेखि केहीमाथि गणेश मन्दिर क्षेत्र, कैलानगर क्षेत्र, गैरागाउँ, भुसालडाँडातर्फबाट डढेलो लाग्दै आएको छ । भुसालडाँडा क्षेत्रमा दुईपटक डढेलो लाग्यो भने अन्य भागमासमेत दैनिकजसो लागेको छ ।

उपभोक्ताका अनुसार सामान्य डढेलो निभाउन सके पनि जंगलभित्र भीषण डढेलो लाग्ने समस्या छ । डढेलो निभाउन सशस्त्र प्रहरी, नेपाली सेना, जनपथ प्रहरी, वन कर्मचारी, स्थानीय उपभोक्ता खटिने गरेको स्थानीय प्रेम गैरेले बताए । कतिपय उपभोक्ता पर्याप्त प्रविधि नभएपछि सामान्य अग्नि रेखा बनाउने, घाँसले निभाउने गरेको उनले बताए ।

रातभर लागेको डढेलो निभाउन प्रहरी, सशस्त्र प्रहरी र सैनिक पुग्ने गरेका छन् । नगरपालिकाको दमकलसमेत तयारी अवस्थामा रहने गरेको वन अधिकृत रामचन्द्र लामाले जानकारी दिए । ‘दैनिक डढेलो लागेपछि हैरान नै बनाएको छ,’ उनले भने, ‘लामो खडेरीले डढेलो लाग्ने क्रम बढेको छ ।’ डढेलोले सल्लाको पातसँगै चौडापाते जंगललाई समेत असर गरेको उपभोक्ता दीपक पाण्डे क्षेत्रीले बताए । डिभिजन वन कार्यालयको भवन रहेको होलाङ्दीकै छेउमा आगलागी हुँदा निभाउन केही समय समस्या भएपछि दमकल नै लैजानु परेको थियो । वनका कर्मचारी र नगरपालिकाको दमकलले डढेलो नियन्त्रणमा आए पनि पुनः डढेलो लागेको छ ।

तीन दिनअघि तानसेनकै छेउमा रहेको वनदेवी जंगलक्षेत्रमा भीषण डढेलो लागेको थियो । त्यसअघि धरमपानी क्षेत्रको जंगल डढेलोले सखाप पारिसकेको छ । बन्दीपोखरा क्षेत्रमासमेत डढेलो लागिसकेको छ । यसैगरी जिल्लाका ३० बढी सामुदायिक वनमा ५ सय हेक्टर बढी सखाप पारिसकेको डिभिजन वन कार्यालयले जनाएको छ ।

बढ्दो खडेरीसँगै जिल्लाको सामुदायिक र सरकारी जंगलमा केही दिनयता भीषण डढेलो लागेको छ । डढेलोले जंगलका काठ, दाउरा जलेर नष्ट भएका छन् । केही दिनयता जिल्लाको चुरेक्षेत्र ज्यामिरे, बहादुरपुर, दोभान, गोठादी, कोलडाँडा, मस्याम, कचल, रहवास,सत्यवती, बल्ढेङ्गगढीका जंगलमा आगलागी भएका छन् । चुरेक्षेत्रमा तराईतर्फबाट लागेको आगो पहाडी बस्तीमा निभाउने प्रयास भए पनि नसकिने अवस्था आउने उपभोक्ताले जनाए ।

प्रकाशित : वैशाख ६, २०८१ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?