कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

उद्यमी र श्रमिकलाई सम्मान

गगनशिला खड्का

गुल्मी — गाउँमै श्रम र उद्यम गरेका महिलालाई सत्यवती गाउँपालिकाले सम्मान गरेको छ । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर कृषि, पशुपालन, ग्रील लगायतका उद्यम र श्रम गरेका ११ महिलालाई आइतबार सम्मान गरेको हो ।

उद्यमी र श्रमिकलाई सम्मान

पालिकाले उद्यममार्फत परिवार पाल्ने, राम्रो आम्दानी गर्ने, श्रीमान्‌लाई विदेशबाट फर्काउने, संघर्षशील एकल महिलालगायत ११ जना महिला छनोट गरी उनीहरूको संघर्षको कथावाचन र सम्मान गरेको हो । पालिकाले उद्यमी महिलाका कथा समेटेर ‘सत्यवतीका स्वावलम्बी महिला’ फिचरसंग्रह पनि विमोचन गरेको छ ।

पालिका अध्यक्ष टीकाराम पाण्डेले सबै महिलालाई प्रेरणा मिलोस् भन्ने उद्देश्यले यो दिनलाई सत्यवतीको शक्ति पर्वका रूपमा मनाइएको बताए । ‘सीपयुक्त महिला उत्पादन गर्ने सत्यवतीको सोच हो,’ उनले भने, ‘आफूले पाएको जिम्मेवारी, दायित्व पूरा गर्न महिलाहरू सक्षम हुनुहुन्छ भन्ने आजको कार्यक्रमले पुष्टि गरेको छ ।’

पालिका उपाध्यक्ष निरमाया तरामुले अब सत्यवतीका स्वावलम्वी महिलालाई सबैले सम्झने बताइन् । ‘महिलहरू गाउँमै उद्यमी बन्नु सानो संघर्षले होइन, अब संघर्षबाट माथि उठ्नु हुनेछ,’ उनले भनिन्, ‘गाउँमा के गर्न सकिन्छ र भन्नेहरूलाई उहाँहरूले राम्रो उदाहरण दिनुभएको छ, त्यसैले सम्मान गरेका छौं ।’

जिल्ला समन्वय समिति सदस्य नरमाया रानाले अन्तर्राष्ट्रिय महिला दिवस श्रमिक महिलाको आन्दोलनपछि विजयको दिन भएकाले सत्यवतीले श्रमिक उद्यमीलाई सम्मान गरेर औचित्य पुष्टि गरेको बताइन् । प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले दिवसलाई उपलब्धिमूलक बनाउनका लागि यसरी उद्यमीलाई सम्मान गरिएको बताए । सत्यवती–६ का वडाध्यक्ष विष्णु भण्डारीले महिलाको कथा अरूका लागि पनि प्रेरणा भएको बताए । ‘कुनै काम यो पुरूषले गर्ने, यो महिलाले गर्ने भनेर छुट्याउने होइन,’ उनले भने, ‘सबैले मिलेर गर्नुपर्छ भन्ने उदाहरण आजका सम्मानित महिला हुन् ।’

उद्यमी लक्ष्मी भण्डारी, मोतीमाया पुलामी सिँजापति, रञ्जना पाण्डे लगायतले आफ्नो संघर्षको कथा प्रकाशित गरिदिएकामा खुसी व्यक्त गर्दै सबै महिलालाई उद्यमी बन्न आह्वान गरेका थिए ।

प्रकाशित : फाल्गुन २७, २०८० १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?