कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

साइकलबाट ‘टुर दी ठाकुरद्वारा’

प्रकृति, संस्कृति, स्वास्थ्य, खेलकुद र वातावरणसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगन्जबाट बर्दियाको पर्यटकीय केन्द्र ठाकुरद्वारासम्म २ सय ५० जनाद्वारा १०२ किलोमिटर साइकल यात्रा
रूपा गहतराज

नेपालगन्ज — भारत बरेलीका सञ्जीव जिन्दललाई पाइडल चलाउँदै साइकलबाट नेपालगन्जदेखि ठाकुरद्वारा पुग्दा समय गएको पत्तै भएन । जिन्दल साइकल चलाउन भनेरै तीन सय किलोमिटर पार गरेर बरेलीबाट नेपालगन्ज आएका हुन् ।

साइकलबाट ‘टुर दी ठाकुरद्वारा’

‘साइकल चलाउँदा प्रकृति अनि कल्चरसँग पनि नजिक भइन्छ,’ साइकल राइडर जिन्दलले भने, ‘प्रकृतिलाई नजिकबाट नियाल्न साइकल चढ्नु आवश्यक छ ।’ उनीसँगै केरला, लखनउ, दिल्लीबाट साइकल राइडर नेपालगन्ज आएका छन् ।

नैनीतालका शैलेन्द्र शाह पेसाले पर्यटन व्यवसायी हुन् । उनले नेपालको प्राकृतिक सुन्दरताको बेग्लै स्वाद अनुभव गरे । बर्दिया राष्ट्रिय निकुञ्ज पुगेपछि उनलाई त्यहाँको प्राकृतिक विविधताले तान्यौ । ‘हरियाली, जंगलमार्ग, वन्यजन्तुको विविधता यहाँको सुन्दरता हो,’ उनले भने, ‘त्यसमाथि यहाँको थारू नाच आफैंमा आकर्षक लाग्यो । आँखा थाके पनि मन भने थाक्दैन ।’ नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा शुक्रबारदेखि शनिबारसम्म ‘टुर दी ठाकुरद्वारा’ यात्रा गरिएको हो । यात्रामा सहभागी हुन भारतका सञ्जीव, शैलेन्द्रसहित झन्डै २ सय ५० जना नेपालगन्ज आएका हुन् ।

भारतको मिहिपुरवाबाट साइकल चढेर नेपालगन्ज आइपुगेका मनीषकुमार मौर्य साइकलबिनाको यात्रा गर्न रुचाउँदैनन् । एक ठाउँबाट अर्को गन्तव्यसम्म आउजाउको साधन उनले साइकललाई बनाएका छन् । उनी भुटान–पाकिस्तानको बर्डरसम्म साइकलमा पुगेका छन् । तर, उनलाई गाउँको जीवनशैलीले बढी आकर्षित गर्छ । ‘गाउँको परिवेश सहरभन्दा धेरै पृथक् लाग्छ, अनौठो अनि रोचक कुरा हेर्न पाइन्छन्,’ उनले भने, ‘साइकलको माध्यमबाट धेरै ठाउँमा पुगेर धेरै कुराको अनुभव लिन पाइन्छ  ।’ तेस्रो पटक नेपाल आएका उनले यहाँको जैविक विविधताले थप आकर्षित गरेको सुनाए ।

हालसम्म साइकलबाट ३० हजार किलोमिटर हिँडिसकेका मनीषकुमार अब साइकलबाटै विश्व घुम्न चाहन्छन् । ‘साइकल यात्रामा साना कुरालाई नजिकबाट नियाल्न पाइन्छ । रूख, पात, जंगललाई महसुस गर्न पाइन्छ । त्यसैले साइकललाई माध्यम बनाएर यहाँसम्म आइपुगें,’ उनले भने, ‘ठूला फराकिलो ठाउँभन्दा गाउँहरू त्यहाँको परिवेश हेर्दै शान्त वातावरणमा बेग्लै आनन्द फिल हुने भएकाले नेपाली भूमिको साइकल यात्रा रोजे ।’

नेपाल पर्यटन बोर्डसँगै यहाँका स्थानीय तहले साइकल यात्रा सफल बनाउन सहयोग गरेका थिए । प्रकृति, संस्कृति, स्वास्थ्य, खेलकुद र वातावरणसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगन्जबाट बर्दियाको पर्यटकीय केन्द्र ठाकुरद्वारासम्म १ सय २ किलोमिटर साइकल यात्रा आयोजना गरिएको हो । प्रसिद्ध धार्मिकपीठ बागेश्वरी मन्दिरबाट सुरु भएको यात्रा बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारासम्म पुगेर समापन भएको हो । जसमा २५ जना महिला साइकल यात्री र चिकित्सक पनि सहभागी थिए । युवाहरूको साइकल दौडमा उमेरले ६० कटेका नेपालगन्ज मेडिकल कलेजका डा. सुरेश कनोडिया साइकल चलाएर गन्तव्यमा पुगे । ‘यहाँ उमेर र अवस्थाको कुरा हुँदैन । साथ अनि सर्कल महत्त्वपूर्ण हुन्छ । समूहमा हिँड्दा बेग्लै ऊर्जाले काम गर्दोरहेछ,’ उनले भने, ‘समूहमा यति लामो यात्रा गर्दा पनि थकाइ लागेन  ।’

जोखिमयुक्त मार्ग हुँदै अघि बढेको साइकल यात्रामा भेरी अस्पतालका डा. विपिन आचार्यले साइकल चलाउने बानीले हामीलाई शारीरिकसँगै मानसिक रूपमा स्वस्थ बनाउन मद्दत गर्ने बताए । ‘अहिले धेरैजसो युवामा मुटुको समस्या बढेको छ । अस्वस्थ जीवनशैली खाना नै हामी सबैको समस्या हो,’ उनले भने, ‘पहिले परिश्रम बढी गर्थे, साधनस्रोत थिएन बाध्यता पनि हुन्थ्यो । अहिले हामी सबै अल्छी भएका छौं । साइकल चलाउने बानीले शारीरिकसँगै मानसिक रूपमा स्वस्थ बनाउन मद्दत गर्छ ।’ यात्रामा कीर्तिमानी विश्व साइकल यात्री पुस्कर शाहको उपस्थितिले धेरै साइकल यात्रीलाई हौसला दिएको थियो । ‘यो एक प्रकारको मेडिटेसन पनि हो,’ शाहले भने, ‘जीवन र जगत् बुझ्न साइकल चलाउन जरुरी छ ।’

भारतीय सीमा क्षेत्रबाट नजिकको मुख्य पर्यटकीय केन्द्र बर्दिया राष्ट्रिय निकुञ्ज वरिपरि साइकल यात्रुलाई राखिएको नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले बताए । ‘विदेशी आगन्तुकलाई सस्तो र सहज यात्रा गराउँदै नेपालका पर्यटकीय स्थलको अवलोकन गराउनु यात्राको अर्को उद्देश्य हो,’ उनले भने । नेपालगन्ज साइक्लिङ क्लबका सल्लाहकार सतीश निरौलाले साइकलका माध्यमबाट वातावरण, प्रकृति र वन्यजन्तु संरक्षणसम्बन्धी छलफल चलाउन पनि यो यात्रालाई अभियानका रूपमा अगाडि बढाइएको बताए । ‘यस्ता जमघटले एक–अर्काको कल्चर एक्सचेन्ज गर्न सहयोग पुर्‍याउँछ,’ निरौलाले भने, ‘यो साइकल यात्राले लुम्बिनी प्रदेशकै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने आशा छ ।’

प्रकाशित : माघ २७, २०८० २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?