२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३७

लुम्बिनीमा सडक खाना तथा साँस्कृतिक महोत्सव हुने

माधव ढुंगाना

भैरहवा — अंग्रेजी नयाँ बर्ष २०२४ को अवसर पारेर लुम्बिनीमा दसाैँ साँस्कृतिक तथा सडक खाना महोत्सवको आयोजना हुने भएको छ । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न लुम्बिनी होटल संघले आउँदो डिसेम्बर ३१ का दिन महोत्सव सञ्चालन गर्न लागेको हो ।

लुम्बिनीमा सडक खाना तथा साँस्कृतिक महोत्सव हुने

बुधबार लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै आयोजकले लुम्बिनीमा रहेका विभिन्न अन्तर्राष्ट्रिय बिहार र स्वदेशी विभिन्न समुदाय समेतको सहयोगमा यो महोत्सवको आयोजना गरिएको जनाएको छ ।

संघका अध्यक्ष तथा महोत्सवका संयोजक गोविन्द ज्ञवालीेले लुम्बिनीमा रहेका चीन, जापान, कोरिया, भियतनाम, क्याम्बोडिया, म्यानमार श्रीलंकालगायतका बिहारको सहयोगमा विभिन्न विदेशी परिकार र स्वदेशी स्थानीय परिकारका खाना उपलब्ध गराइने बताए ।

‘यो महोत्सव लुम्बिनीमा स्वदेशी र विदेशी पर्यटक प्रवर्द्धनका लागि आयोजना गरिएको हो,' ज्ञवालीले भने, ‘महोत्सवमा पाँच तारे होटेलदेखि स्थानीय विभिन्न जाति र समुदायको प्रचलित खाना सडकमै उपलब्ध गराइनेछ ।’

उनका अनुसार, महोत्सवमा बिदेशी खानाको साथमा झिँनिया रोटी, बटुक, हाँसको छोइला, चुकाउनी, इम्रिती मिठाइलगायतका परिकार उपलब्ध गराइने छ । महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारको साथमा नौमती, पञ्चेबाजा, बिराहा, थारु, झुमरा लगायतका सांस्कृतिक कार्यक्रम समेत हुनेछन् ।

संघका वरिष्ठ उपाध्यक्ष लिलामणि शर्माले डिसेम्बर ३१ र जनवरी १ का दिन लुम्बिनी क्षेत्रका होटलमा १५ प्रतिशत छुट उपलब्ध गराइएको बताए । ‘महोत्सवमा लुम्बिनी आउने ठूलो संख्याका भारतीय पर्यटकको सहजताका लागि सीमा नाकाहरूमा भारतीय र नेपाली सुरक्षा निकायसँग समन्वय गरिएको छ,’ शर्माले भने ।

प्रकाशित : पुस ११, २०८० १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?