कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गीतमार्फत एकताको सन्देश

दुर्गालाल केसी

दाङ — टुटफुट र खण्डित कुरा नगर
आत्मसमर्पणको कुरा नगर
एकढिक्का एकताको कुरा गर
वीरताको कुरा गर

गीतमार्फत एकताको सन्देश

देशव्यापी सञ्चालन भएको राष्ट्रका लागि संगीत अभियात्राअन्तर्गत शुक्रबार घोराहीस्थित दाङ जिल्ला उद्योग वाणिज्य संघको सभाहलमा यो गीत गुन्जँदा दर्शकदीर्घा भावुक भयो । देशमा नेताहरू नमिलेको, टुटफुट चलिरहेको प्रसंग जोड्दै गायकले दलहरूलाई एकताको सन्देश दिन उक्त गीत प्रस्तुत गरेका थिए ।

जनवादी गीतमार्फत देशमा एकताको सन्देश दिन चैत ४ गते धनगढीबाट संगीत यात्रा थालिएको र वैशाख ५ मा काठमाडौंमा सबै शीर्ष नेताहरूलाई राखेर समापन गर्ने गायक जीवन शर्माले बताए । ‘हामी नेताहरू मिलेको हेर्न चाहन्छौं । नेताहरूलाई जनताप्रति जिम्मेवार बनाउन चाहन्छौं,’ उनले भने, ‘गीत–संगीतको शक्तिमार्फत देशव्यापी सन्देश दिन हिंडेका छौं ।’ नेताहरूको बढ्दो अस्थिरता देखेर देशव्यापी संगीत यात्रामा निस्केको उनले बताए ।

सानो सानो बुकुरो पहराको छेउमा

मेरो घर

त्यही नि साउले खाइदियो अब मलाई झनै केको डर ।

शर्माको यो गीतमा रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष नारायण शर्माले अभिनयमूलक प्रस्तुति गर्दा दर्शक भावुक भएका थिए । झरनाको चिसो पानी..., सिमली छायामा बसी भरिया लामो सास फेरेको... लगायतका गीत गाएर शर्माले हल तताएका थिए ।

शर्माका साथै गायक तथा पूर्वमन्त्री मणि थापालगायतका अग्रज कलाकारले एकसाथ प्रस्तुति दिँदा दर्शकले नाचेर साथ दिएका थिए । गायक उदय श्रेष्ठ, उदय रिजाल, मोहित श्रेष्ठ, गायिका निलिमा पुन, प्रगति महरा, कर्ण विद्रोही, चिरन सी, कुस्मिता दर्लामी, लक्ष्मण पाख्रिनलगायतका कलाकारले एकसाथ हाम्रो रातो लालटिन... गीत प्रस्तुत गरेर दर्शकलाई जुरुक्कै उचालेका थिए । कलाकारले शासन सत्तामा पुगेपछि नफेरिने नेताहरूको चरित्रलाई निम्न गीतमार्फत सचेत बनाएका थिए :

लेकै फुल्यो लालीगुराँस बेसी सुनाखरी

शासनको रूप एउटै हो, शासक आए थरीथरी ।

गायकहरू माधव प्रधान, टेक बलम्पाकी, केशरी घर्ती मगर, कविता पुन, अनु शर्मा, सन्ध्या मगरलगायतका कलाकार राष्ट्रिय संगीत यात्रामा सहभागी छन् । देशमा विकृति र विसंगति मौलाउन थालेको बेला कलाकार चुप लागेर बस्न नसक्ने गायक एवं पूर्वमन्त्री थापाले बताए । ‘देश अस्थिरतातर्फ धकेलिइरहेको छ । नेताहरूमा विग्रह छ,’ उनले भने, ‘यस्तो बेला हामी कलाको माध्यमबाट सन्देश दिन निस्किएका छौं । नेताहरूले केही सन्देश ग्रहण गर्नुहुनेछ भन्ने अपेक्षा छ ।’

प्रकाशित : चैत्र १२, २०७९ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?