लागूऔषधसहित पाल्पामा दुई जना पक्राउ

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्ग भएर पोखरा जाँदै गरेका दुई युवालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, दोभान झुम्सामा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–५, वीरेठाँटीका ३५ वर्षीय संजय मुल्मी र धादिङ जिल्ला तिरपुरा गाउँपालिका–३, मुरचोकका ३७ वर्षीय किरण गजमेर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

राजमार्गको झुम्सा क्षेत्रमा प्रहरी टोलीले शंका लागेर खोजतलास गर्ने क्रममा बुटवलदेखि पोखरा जाँदै गरेको ग ३ च ५९०१ नम्बरको कारबाट लागूऔषध बरामद भएको हो ।

कारबाट नुफिन ५० एम्पुल, डाइजेपाप ५० एम्पुल, डाइचेपाम ५० एम्पुुल, फेनारगन ५० एम्पुल लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जना र कारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र ११, २०७९ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्

राहुल गान्धीले भने- 'भारतमा लोकतन्त्रमाथि आक्रमण भयो'

'अडानीको सेल कम्पनीमा २० हजार करोड रुपैयाँ कसले लगानी गर्‍यो ? सवाल यो हो कि, २० हजार करोड रुपैयाँ कसको हो ? मैले यही सोधेको थिएँ । तर मलाई कसैको डर छैन, संसद रहे वा नरहे पनि प्रश्न उठाउन छोड्दिनँ ।’
राजेश मिश्र

नयाँ दिल्ली — अदालतबाट चार वर्ष पुरानो मानहानी मुद्दामा दोषी ठहर भएपछि सांसद पद गुमाएका भारतीय कंग्रेस पार्टीका नेता राहुल गान्धीले भारतमा लोकतन्त्रमाथि आक्रमण भइरहेको बताएका छन् । सांसद पद गुमाउनु परेको भोलिपल्ट शनिबार उनले पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

नाटकीय ढंगले विकसित घटनाक्रमपछि गान्धीले शनिबार दिल्लीस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेका हुन् । यस क्रममा उनले भारतको लोकतन्त्रमाथि भइरहेको आक्रमणको दिन प्रतिदिन नयाँ नयाँ उदाहरण आइरहेको बताए । तर उनले कुनै पनि परिस्थितिबाट आफू नडराउने र सरकारलाई प्रश्न गर्न आफूले बन्द नगर्ने पनि बताए ।

'नरेन्द्र मोदीजीको अडानीसँग के सम्बन्ध छ ? र २० हजार करोड रुपैयाँ कसको हो ?' जस्ता प्रश्न आफूले सोध्दै जाने भन्दै आफूलाई कोहीसँग कुनै डर नभएको उल्लेख गरेका छन् । भारतीय उद्योगपति गौतम अडानी पछिल्लो समय विवादमा तानिएका छन् । गान्धीले उनै अडानीको प्रधानमन्त्रीसँगको सम्बन्धबारे संसद र सडकमा प्रश्न उठाउँदै आएका छन् ।

'अडानीको सेल कम्पनीमा २० हजार करोड रुपैयाँ कसले लगानी गर्‍यो ? अडानीको पैसा त छैन । अरु कसैको पैसा हो त्यो । सवाल यो हो कि, २० हजार करोड रुपैयाँ कसको हो ? मैले यही सोधेको थिएँ । मैले तथ्य निकालेर मोदी र अडानीको सम्बन्धबारे सोधेको थिएँ । जब मोदीजी गुजरातको मुख्यमन्त्री बनेका थिए । त्यसिबेलादेखि नै मोदी र अडानीको सम्बन्ध हो । मैले यही सोधेको थिएँ,' गान्धीले भनेका छन् ।

गान्धीले आफूलाई संसद पदबाट हटाएर, धम्क्याएर, जेलमा हालेर आफ्नो बोली कसैले बन्द गराउन नसक्ने चेतवानी दिएका थिए । हिन्दुस्तानको लोतन्त्रका लागि आफू लडिरहेको भन्दै उनले त्यसका लागि निरन्तर लडिरहने र केहीसँग पनि आफूलाई डर नहरेको बताए । सरकारले नियम परितर्वन गरेर अडानीलाई एयरपोर्टको जिम्मा लगाएको बताए । साथै मोदी गुजरातको मुख्यमन्त्री रहेदेखि नै अडानीले संरक्षण पाएको आरोप लगाए ।

पत्रकार सम्मेलनमा अदालतबाट आएका फैसलाका सम्बन्धमा भने कुनै टिप्पणी गर्न चाहेनन् । तर, अदालतले मानहानी मुद्दामा अधिकतम सजाय सुनाउनुको पछाडि आफ्नो संसदको सदस्यता पद जोडिएको हुनसक्ने उल्लेख गरे ।

२ वर्षभन्दा बढी कैद सजाए पाएका सांसदको सदस्यता पद खारेज हुने कानुन छ । अदालतले मानहानी मुद्दामा गान्धीलाई दुई वर्षको कैद सजाए सुनाएको हो । २०१९ को चुनावी सभामा 'सबै चोरको थर मोदी नै किन हुन्छ ?' भन्दै दिएको भाषणविरुद्ध उनी माथि मानहानी मुद्दा चल्दै आएको थियो । दुई दिन अगाडि गुजरातको सुरतस्थित अदालतले त्यसमा गान्धीलाई दोषी ठहर गरेको छ । अदालतले फैसला दिएको २४ घण्टापछि लोकसभाले उनको सांसद पद खारेज गरिदिएको हो ।

दिल्लीको अकबर रोडस्थित कंग्रेस पार्टी मुख्यालयमा पत्रकारहरु माझ राहुल गान्धीले आफू सांसद पदमा रहे वा नरहे पनि आफ्नो काम गर्दै जाने बताए ।

‘म संसद भित्र रहुँ या बाहिर, मलाई कुनै फरक पर्दैन,’ उनले भने ‘म आफ्नो काम गरिरहने छु ।’ उनी निर्वाचित रहेको केरलको वायनाड क्षेत्रका जनतासँग पारिवारिक सम्बन्ध रहेको भन्दै त्यहाँका मानिसहरुसँग आफ्नो मुटुमा रहेको कुरा साट्ने उल्लेख गरेका छन् । गान्धीको सदस्यता खारेजीसँगै वयनवाडा निर्वाचन क्षेत्र रिक्त भएको छ । त्यहाँ उपनिर्वाचनको सम्भावना छ । माथिल्लो अदालतबाट राहुलको पक्षमा फैसला नआए उनी चुनाव लड्न पाउने छैनन् ।

प्रकाशित : चैत्र ११, २०७९ १५:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×