लुम्बिनीको राष्ट्रिय सभा उपनिर्वाचनमा मतगणना सुरू- लुम्बिनी - कान्तिपुर समाचार

लुम्बिनीको राष्ट्रिय सभा उपनिर्वाचनमा मतगणना सुरू

दुर्गालाल केसी

दाङ — लुम्बिनी प्रदेशको अन्य समूहअन्तर्गत राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको मतगणना सुरू भएको छ । कर्मचारी मिलन केन्द्रमा नै मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले बताए ।

बुधबार बिहान १० बजेदेखि घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा भएको मतदान अपराह्न ३ बजे सकिएको थियो ।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३ सय ५ रहेकोमा ३ सय ४ मत खसेको उनले जनाए । एक जना मतदाता अनुपस्थित रहे । रूपन्देहीको मर्चवार गाउँपालिका उपाध्यक्ष आशा सिं उपचारका लागि भारत गएकाले मतदानमा सहभागी नभएको कार्कीले जानकारी दिए । उनी प्रगतिशील पार्टीबाट निर्वाचित भएकी थिइन् ।

मतदातामध्ये प्रदेशसभा सदस्यको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुखको संख्या २ सय १८ छ । लुम्बिनी प्रदेशमा १ सय ९ पालिकाहरु छन् । प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये हरेकको मतभार १८ हुने निर्वाचन कार्यालयले जानकारी दिएको छ । अब केहीबेरमा मतगणना सुरू हुने निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कवरले बताए ।

नेकपा एमाले, नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । सत्ता गठबन्धनका तर्फबाट एमालेका कुमार दशौंदी, कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्तिका राजेन्द्रवीर राय उम्मेदवार छन् । सत्ता गठबन्धनका तर्फबाट दशौंदीको उम्मेदवारी दर्ता भए पनि उन्मुक्तिले असन्तुष्टि जनाउँदै छुट्टै उम्मेदवारी दिएको छ । दशौंदी र आचार्य रोल्पा निवासी हुन् भने राय बाँकेका हुन् ।

एमालेका खिमलाल भट्टराईले प्रतिनिधिसभा निर्वाचनका क्रममा राजीनामा दिएपछि रिक्त भएको पदमा उपनिर्वाचन भएको हो । रुपन्देहीका भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन राष्ट्रिय सभा सदस्य छोडेका थिए । उनले रुपन्देही–५ बाट उम्मेदवारी दर्ता गरेका थिए । उनीभन्दा पहिला एमालेबाटै तिलोत्तमा नगरपालिकाका पूर्वप्रमुख बासुदेव घिमिरेको उम्मेदवारी दर्ता भएका कारण भट्टराईको उम्मेदवारी खारेज भएको थियो ।

प्रकाशित : माघ २५, २०७९ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस सधैं प्रेस स्वतन्त्रताको पक्षमा : नेता महर

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका नेता नैनसिंह महरले लोकतान्त्रिक अधिकार र प्रेस स्वतन्त्रताको सवालमा नेपाली कांग्रेस सधैँ सतिसाल झैँ खडा हुने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले लोकतान्त्रिक अधिकार र स्वतन्त्र प्रेसको सवालमा नाफाघाटा नहेरेर अधिकार संरक्षणका लागि कांग्रेस सतिसाल झैं उभिने बताए। 

लोकतान्त्रिक पद्धति र निष्पक्ष पत्रकारितामाथिको जुनसुकै आक्रमणको खिलाफमा रहने उनको धारणा थियो । 'जननिर्वाचित व्यवस्थापिका, कल्याणकारी कार्यपालिका, निष्पक्ष न्यायपालिका र स्वतन्त्र प्रेस लोकतान्त्रिक व्यवस्थाका प्राणवायु नै हुन् । यी चार अंगको सन्तुलन र प्रभावकारिताले मात्र राष्ट्रले फड्को मार्न सक्छ,' उनले भने ।

अझ स्वतन्त्र प्रेसबिना त झन् लोकतान्त्रिक व्यवस्थाले ठीकसँग काम नै गर्न नसक्ने उनको धारणा थियो । लोकतान्त्रिक व्यवस्थाबिना नेपाली कांग्रेसको राजनीतिक अभीष्ट पूरा हुन नसक्ने बताउँदै केन्द्रीय सदस्य महरले पत्रकारिताको विरुद्धमा कसैलाई पनि धावा नबोल्न चुनौती दिए ।

'नेपाली कांग्रेस लोकतान्त्रिक पद्धति र निष्पक्ष पत्रकारितामाथिको जुनसुकै आक्रमणको खिलाफमा रहन्छ । कसैको अधिकार हनन् हुँदा कांग्रेस अधिकार संरक्षणका पक्षमा उभिन्छ । लोकतान्त्रिक अधिकार र स्वतन्त्र प्रेसको सवालमा हामी नाफाघाटा हेर्दैनौं । फेरि भन्छौं, अधिकार संरक्षणका पक्षमा सतिसाल झैं उभिन्छौं,' उनले भने ।

उनले नेपालमा लोकतन्त्र प्राप्तिको लागि प्रेस जगतको ठूलो योगदान रहेको स्मरण गरे ।

प्रकाशित : माघ २५, २०७९ १५:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×