संघीयताबारे गरिएका चर्चा हल्काफुल्का छन् : मुख्यमन्त्री गिरी- लुम्बिनी - कान्तिपुर समाचार

संघीयताबारे गरिएका चर्चा हल्काफुल्का छन् : मुख्यमन्त्री गिरी

कान्तिपुर संवाददाता

काठमाडौँ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संघीयताबारे हल्काफुल्का टिप्पणी हुने गरेको बताएका छन् । उनले लामो संघर्षबाट प्राप्त संघीयतालाई संविधानले गरेको व्यवस्थाबमोजिम अगाडि बढ्नुपर्ने बताए ।

कान्तिपुर मिडिया ग्रुपद्वारा शनिबार भैरहवामा आयोजित 'लुम्बिनीको सामर्थ्य' कार्यक्रममा 'संघीयता संस्थागत गर्ने समय' विषयमाथि बोल्दै उनले भने, 'संघीयता सुरु हुँदा २०७४ सालमा हाम्रा हातमा शासन थियो तर बस्ने आसन थिएन । हामीसँग बस्ने घर, पूर्वाधार थिएनन् । काम गर्ने वातावरण थिएन । कानुन बनेका थिएनन् । आजसम्म आइपुग्दा पाँच वर्षमा लुम्बिनी प्रदेशसभाले ७२ भन्दा बढी कानुन बनाएर कानुनी हिसाबले बाटो प्रसस्त गरेका छौं ।'

संघीयता कार्यान्वयनमा विगतमा संघीय सरकारका संरचना र व्यक्तिअनुसार संकुचन देखिएको मुख्यमन्त्री गिरीको भनाइ थियो । 'संविधानको संघीयताबारे गरिएका चर्चा हल्काफुल्का छन्,' उनले भने । अनुसूचीमा अधिकार बाँडफाँट भएको भन्दै उनले किटान गरिएका अधिकार प्रदान गर्नुपर्ने बताए । अहिलेसम्म संविधानले सुनिश्चित गरेका अधिकार प्रत्यायोजन नगरिएको बताए ।

'संघीयता लामो संघर्षपछि प्राप्त गरेको नयाँ राजनीतिक व्यवस्था हो । यसका बारेमा हल्काफुल्का केही चर्चा गरेको सुनिन्छ । यसमा रहेका तमाम कमिकमजोरी दुरुस्त गरेर संघीयतालाई मूल मर्मअनुसार अगाडि लैजानुपर्छ । स्थानीय सरकारलाई पनि अधिकार दिनुपर्छ । संघीय सरकारले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्छ,' मुख्यमन्त्री गिरीले भने ।

स्थानीय तह र संघीय सरकारका संरचना कायमै रहेको अवस्था तर प्रदेश सरकारलाई भने केही पनि नभएको अवस्था संघीयता कार्यान्वयनमा आएको मुख्यमन्त्री गिरीको भनाइ थियो । संघीयता नयाँ आयाम नै प्रदेश सरकार भएकाले यसलाई सही किसिमले कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ थियो ।

प्रकाशित : माघ २१, २०७९ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्

गौतमबुद्ध विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न कसैले रोक्न सक्दैन : अर्थमन्त्री पौडेल

कान्तिपुर संवाददाता

भैरहवा — उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले निकट भविष्यमै गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा (फूल फ्लेजेज) सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘कान्तिपुर लुम्बिनीको सामर्थ्य’ विषयक अर्थ सामाजिक बहसको मुख्य वक्ताका रुपमा बोल्दै पौडेलले शनिबार यस्तो बताएका हुन् ।

पछिल्ला दिनहरुमा विमानस्थलका सम्बन्धमा नकारात्मक टिकाटिप्पणी हुने गरेको स्मरण गर्दै उनले भने, ‘यो विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि कसैले पनि रोक्न सक्दैन । त्यसका लागि के गर्नु पर्छ भन्ने सम्बन्धमा छलफल गर्न छिट्टै सरोकारवालाहरुको बैठक बस्दै छ । त्यही बैठकबाट सबै समस्या समाधानका उपायहरु निकालेर कार्यान्वयनमा लगिनेछ ।’

विमानस्थलमा सबैभन्दा चुनौतीको काम जग्गा प्राप्ति भएको र अहिले त्यो काम पूरा भइसकेकाले अब तीव्र रुपमा क्षमता विस्तार गरिने उनले बताए । ‘कसैले यो विमानस्थल सेतो हात्ती हो चल्न सक्दैन भन्दै आएका छन्,’ उनले भने, ‘म उहाँहरुलाई भन्न चाहन्छु । विमानस्थल पूर्ण क्षमताका साथ चल्नेछ । र त्यसमा कसैको अवरोध हुनेछन् । क्षतमाको भरपूर र उच्चतम उपयोग कसरी गर्ने भन्ने विषयमा निकट भविष्यमा छलफल हुँदैछ ।’

पौडेलले लुम्बिनीको विकाससँग सरोकार राख्ने तथा शुभचिन्तक सबैलाई विमानस्थल निर्माणमा सकारात्मक सहयोग गर्न पनि आग्रह गरे ।

प्रकाशित : माघ २१, २०७९ ११:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×