
अर्घाखाँची — होटलमा आउने पहुनालाई चिया खुवाउन आइतबार बिहानै दूध लिन गएकी शितगंगा नगरपालिका–१० बोखरकी ६० वर्षीया राधा थापाको हत्या भएको प्रहरीले पुष्टि गरेको छ ।

बिहान ९ बजेसम्म नफर्कँदा आफन्तले खोजी गरे । दूध लिन जाने घरमा नआएको भनेपछि खोज्न जाँदा राधा जंगलको खोल्सामा मृत अवस्थामा भेटिएकी थिइन् । घटनापछि खोजीको क्रममा भारतीय नागरिकले सुनका गहना लुट्नका लागि हत्या गरेको प्रहरीले जनाएको छ ।
भारतीय नागरिक २३ वर्षीय सुशान्त सिंहलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । मृत अवस्थामा भेटिएकी वृद्धाको शरीरमा गहना केही नरहेको भन्दै प्रहरीले थापाले लगाएका गरगहना लुट्न हत्या गरेको हुनसक्ने जनाएको छ ।
यस क्रममा प्रहरीले गरगहना लिएर भाग्दै गर्दा शितगंगा नगरपालिका–११ स्थित मुन्द्रीबास भन्ने जंगलबाट भारतीय नागरिक २३ वर्षीय सुशान्त सिंहलाई पक्राउ गरेको छ । सिंहले मडहरी, सिक्री लगायत गहना लुटेको प्रहरीको अनुसन्धानमा खुलेको छ । बोखरकी शिवकला परियारसँग विवाह गरी बसेका सिंहलाई पक्राउ गरी अनुसन्धान गर्दा उनको साथमा गहना भेटिएको प्रहरी निरीक्षक कृष्णहरि घिमिरेले बताए ।
थापा हरेक बिहान एक्लै दूध लिन जाने देखेपछि कपिलवस्तु चन्द्रौटामा डेरामा बस्दै आएका सिंह शनिबार एक्लै आएर ससूरालीको खाली घरमा बसेको पनि प्रहरीको अनुसन्धानमा खुलेको छ । आइतबार बिहान थापाले दूध लिन जाने बाटोमा कुरेर पछाडिबाट ढुंगा र हँसियाले हानेर घिसार्दै १५ मिटरको दूरीको जंगलमा फालेको प्रहरीको अनुसन्धानमा खुलेको बताइएको छ ।
साथै मृतकको कान र घाँटीमा रहेका गहना लगेर जंगलको बाटो भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक घिमिरेले बताए । सिंहलाई अर्घाखाँची जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । प्रहरीसँगको वयानमा सिंहले थापाको हत्या गरेको स्वीकार गरेका छन्।
प्रकाशित : पुस १८, २०७९ १९:५८