कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पोखरामा श्रमाधान रोजगार मेला सुरु

रासस

गण्डकी — पर्यटकीय राजधानी पोखरामा आजदेखि श्रमाधान रोजगार मेला सुरु भएको छ । मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्त रुपमा उद्घाटन गरे।

पोखरामा श्रमाधान रोजगार मेला सुरु

मन्त्री अर्यालले रोजगारदाता कम्पनी र रोजगारको खोजीमा रहेकाको मिलनबिन्दुका रुपमा मेलाको भूमिका रहने बताए । 'रोजगारीका अवसर सिर्जना, सीप विकास र उद्यमशीलता प्रवर्द्धन गर्नेलगायत उद्देश्यसहित श्रमाधान रोजगार मेलाको आयोजना गरिएको हो', उनले भने, 'नेपालको श्रम बजार र रोजगारबारे जानकारी तथा परामर्श लिने थलोका रुपमा यो मेलालाई लिन सकिन्छ ।'

मन्त्री अर्यालले कामको खोजीमा विदेश गएका युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने धारणा राखे। 'देशमा रोजगारी दिन चाहाने संस्था/कम्पनी धेरै हुनुहुन्छ, रोजगारको खोजीमा रहेका युवा पुस्तालाई त्यहाँसम्म जोड्न यो मेलाले महत्वपूर्ण सहयोग पु-याउनेछ', उनले भने ।

मन्त्री अर्यालले श्रम क्षेत्रका समस्या समाधानका लागि मन्त्रालयमा स्तरीय श्रमाधान कल सेन्टर स्थापना गरीएको जानकारी दिए । पैसा नलाग्ने फोन नम्बर ११४१ फोन गरेर जोकोहीले आफ्ना समस्या, सुझाव तथा गुनासा राख्न सक्ने उनको भनाइ छ । मुख्यमन्त्री पाण्डेले रोजगार अभाव मुलुकको प्रमुख समस्या रहेको बताए ।

'रोजगारीका समस्यालाई सही ढङ्गले समाधान गर्न नसकेका कारण राजनीतिक प्रणाली र व्यवस्थामाथि नै टिकाटिप्पणी भइरहेको छ', उनले भने, 'अहिलेको मुख्य चुनौती भनेको श्रमशक्ति र रोजगारको व्यवस्थापन हो ।'

मुख्यमन्त्री पाण्डेले एकैसाथ ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्न सक्ने निजी क्षेत्रलाई लगानीमा आकर्षण गर्न लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने बताए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रोजगारदाता र रोजगार गर्न चाहानेहरुबीचमा परामर्श र सूचना आदानप्रदानका लागि मेला महत्वपूर्ण रहने बताए । उत्पादन, श्रम र रोजगारमा निजी क्षेत्रलाई आकर्षित गर्न सरकारले नीतिगत र संरचनागत सुधार गर्न आवश्यक रहेको उनको भनाइ छ ।

मेलामा ४१ वटा रोजगारदाता संस्था/कम्पनीका कक्षहरु रहेका छन् । मेला अवलोकनका लागि युवा, विद्यार्थीलगायतको भीड लागेको छ । मेलामा रोजगारीको खोजीमा रहेकाहरुको सीप प्रवद्र्धनका लागि कार्यशाला र ‘नेटवर्किङ’ सत्रहरु सञ्चालन गरिने जनाइएको छ । मेलाले सार्वजनिक-निजी साझेदारीको अभिवृद्धि गर्न टेवा पु-याउने विश्वास लिइएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र पोखरा महानगरपालिकाद्वारा आयोजित उक्त मेला मङ्गलबारसम्म सञ्चालन हुनेछ ।

मेलामा उद्योग, व्यापार, पर्यटनलगायत विषयमा समूहगत छलफलसमेत आयोजना गरिएको छ । छलफलमा सम्बन्धित क्षेत्रका विज्ञसहित रोजगारदाता संस्थाका प्रतिनिधिहरु सहभागी हुनेछन् । यही जेठ १७ गते कोशी प्रदेशको विराटनगरबाट सुरु भएको श्रमाधान रोजगार मेला गण्डकीसहित सातै प्रदेशमा सञ्चालन हुनेछ ।

प्रकाशित : जेष्ठ २१, २०८१ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?