कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

पैसाको लोभ देखाएर पीडितलाई दिएका थिए दबाब
प्रकाश बराल

बागलुङ — बलात्कार गरी किशोरी गर्भवती बनाएपछि भागेका निसीखोला गाउँपालिका २ का ३० वर्षीय विजय मल्ल पक्राउ परेका छन् । पीडित बालिकाको उजुरीपछि खोजी भइरहेकोमा मल्ललाई बुधबार बिहान भैरहवाबाट पक्राउ गरेको प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए 

किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

९ महिनाअघि मल्लले १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेका थिए । पैसा र दबाब दिएर घटना लुकाउन खोज्दा पीडितहरू उजुरी आउन सकेका थिएनन् । पीडितले परिवारले ९ महिनापछि मात्रै गत गत शुक्रबार उजुरी गर्न सफल भएको थियो । भैरहवामा पक्राउ परेका मल्ललाई प्रहरीले बागलुङ ल्याउँदै छ ।

जबर्जस्ती करणीमा परेकी किशोरी र उनको परिवार दबाबमा पर्दा ढिलागरी जाहेरी परेको हो । ती बालिकाले शनिबार बिहान ३ बजे छोरीलाई जन्म दिएकी छिन् । धौलागिरि अस्पतालमा ती किशोरीले छोरी जन्माएकी थिइन् । २.१ केजीको ती बालिकाको थप उपचारका लागि पोखरा पठाइएको छ ।

किशोरी गर्भवती बनेपछि बालिकालाई पैसा दिएर घटना लुकाउन खोजिएको थियो । पीडितलाई बुटवल लगेर गर्भपतन गराउनसमेत मल्लले दबाब दिएको पीडितका परिवारले जानकारी दिए । ‘बुटवल लगेर गर्भपतन गराउन खातामा पैसासमेत दिएका थिए, तर नमिल्ने अवस्थाको भइसकेकोले फिर्ता भयौं,’ पीडितका आफन्तले भने, ‘बाहिर कुरा नल्याउन भन्दै पैसा दिन खोजेका थिए ।’ पीडित बालिकाले ढिला गरी घरमा जानकारी गराएकोले गर्भपतन गराउने समय सकिएको उनले बताए ।

स्थानीय तहका जनप्रतिनिधिसमेतले पीडितको न्याय र पीडकलाई कारबाहीमा साथ दिने बताए । मोबाइल बनाउन जाँदा मल्लले बाटोबाटै तानेर जंगलमा लगी जबर्जस्ती गरेको पीडितको जाहेरीमा उल्लेख छ । मल्लले विद्यालयका शिक्षकलाई समेत प्रभावमा पारेर घटनालाई बाहिर नल्याउन पहल गरेको देखिएको निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरले बताए ।

पीडितको अवस्था देखेपछि मानवअधिकार संगठन बागलुङकी अध्यक्ष लक्ष्मीदेवी जिसीले जाहेरी लेखेर सहयोग गरेकी थिइन् । ‘यो मानवअधिकार र बालअधिकारको समेत हनन् हो’ जिसीले भनिन्, ‘पीडितले न्याय पाउनुपर्छ भनेर थाहा पाउनेबित्तिकै प्रहरीमा पुगेका हौं ।’ पीडित बालिकाको कानुनी र अधिकारको लडाइँमा सबैले साथ दिनुपर्ने उनले बताइन् ।

प्रकाशित : चैत्र १४, २०८० १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?