कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लमजुङमा अफिम खेती गर्ने युवक पक्राउ

आश गुरुङ

लमजुङ — लमजुङ प्रहरीले लागूऔषध अफिम खेती गरेको आरोपमा मध्यनेपाल नगरपालिका ३ सूर्यपालबाट एक युवकलाई पक्राउ गरेको छ ।

लमजुङमा अफिम खेती गर्ने युवक पक्राउ

मकवानपुर राक्सिराङ गाउँपालिका ८ घर भई १ वर्षदेखि सूर्यपालका विष्णु सुवेदीको खेतबारी रेखदेख गर्दै आएका २६ वर्षीय हिमाल लामा थिङलाई प्रहरीले पक्राउ गरेको हो । अन्दाजी ३ रोपनी क्षेत्रफल जग्गामा लागूऔषध (अफिम) को खेती गरेको भेटिएको र उनका साथमा अफिमबाट संकलन गरिएको चोप १०७.४ ग्राम, चोप निकाल्ने कार्यमा प्रयोग भएका चक्कु र कचौरासमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी मिनबहादुर घलेले बताए ।

प्रहरीले बेंसीसहरस्थित जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी ती युवक र युवकबाट बरामद गरिएको सामान मंगलबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंले अफिम खेती गरिएको ठाउँमा १४ हजार ५ सय ६६ अफिमको बोटसमेत भेटिएको र उक्त बोटलाई उखेलेर प्रहरी कार्यालय ल्याएको बताए ।

प्रहरीका अनुसार ती युवकलाई आइतबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको हो । सोमबार जिल्ला अदालत लमजुङबाट दिन ७ को म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक मेघनाथ चापागाईंले बताए ।

डीएसपी घलेले ती युवकविरुद्ध लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार अफिमको खेती गर्ने, उत्पादन गर्ने, सञ्चय गर्ने र कारोबार गर्ने कसुरको मुद्दामा कारबाहीको प्रक्रिया अघि बढेको बताए ।

प्रकाशित : चैत्र १३, २०८० १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?