कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०

१० दिनमै पुल निर्माण सक्ने सम्झौता गरेका ठेकेदार फेरि सम्पर्कविहीन

जिल्ला प्रशासन कार्यालयमा पुगेर २१ गतेसम्म पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेका ठेकेदारले ५ दिन बितिसक्दा काम नै सुरु गरेनन् ।
नारायण शर्मा

पूर्वी नवलपरासी — कावासोतीस्थित केरुंगे पुल निर्माणको काम ४ वर्षदेखि अलपत्र पारेका ठेकेदारले यही जेठ २१ गतेभित्र सम्पन्न गर्ने लिखित प्रतिबद्धता जनाए पनि मंगलबार (१६ गते) सम्म काम नै थालेका छैनन् ।

१० दिनमै पुल निर्माण सक्ने सम्झौता गरेका ठेकेदार फेरि सम्पर्कविहीन

पुल निर्माणको ठेक्का पारेका चितवनका एडभेन्चर कन्सट्रक्सन प्रालिका संचालक ठेकेदार कमल भट्टले गत शुक्रबार जिल्ला प्रशासन कार्यालयमा यही 'जेठ २१ गते आइतबारसम्म काम सम्पन्न गर्नेछु' भनेर लिखित सम्झौता गरेका थिए । तर उनले काम सम्पन्न गर्ने भनेको अन्तिम मिति आउन ४ दिन मात्रै बाँकी छँदा पनि काम नै सुरु भएको छैन । सम्झौता गरेको ५ दिन बितिसक्दा उनले कामदार नै खटाएका छैनन् ।

'हामीलाई झुक्याए कामै थालेनन् । म अहिले पुल निर्माणको काम हेर्न पुगेको थिएँ । निर्माणस्थलमा कोही पनि छैन । ठेकेदारले फेरि ठगे,' वडा नम्बर ४ का अध्यक्ष नारायण लोहनीले भने ।

साढे १० करोडमा पक्की पुल निर्माणको जिम्मा लिएका ती ठेकेदारले पुल अलपत्र पारेको समाचार इकान्तिपुरमा प्रकाशन भएपछि सम्पर्कमा आएर काम गर्ने लिखित सम्झौतमा आफैंले हस्ताक्षर गरेका थिए ।

कावासोतीको अठाइस बिगाह र हसौरा जोड्ने पुल निर्माणको जिम्मा उनले ४ वर्षअघि पाए पनि पटकपटक ठेक्का नवीकरण गर्दै बीचमै अलपत्र पारेर सम्पर्कविहीन भएका थिए । तर पछिल्लो पटक ढलान नगरेर उनले पुल अलपत्र पारेको भन्दै कावासोती नगरपालिकाका मेयर विष्णु भुसालले ठेकेदार खोजेर कारबाही गरिपाऊँ भन्दै अघिल्लो साता प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरेका थिए ।

त्यसपछि भने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको कार्यकक्षमा वडा अध्यक्षहरुको रोहबरमा उनले १० दिनभित्र काम सक्ने भन्दै लिखित सम्झौतमा हस्ताक्षर गरेका थिए ।

मेयरले प्रजिअलाई पत्र लेखेको समाचार इकान्तिपुरमा प्रकाशन भएको भोलिपल्टै उनी जिल्ला प्रशासनमा आएर सम्झौता गरेका हुन् । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले भने पुल निर्माणको आयोजनालाई पत्राचार गरेर ठेकेदारलाई कालोसूचीमा राख्न पत्राचार गर्ने बताएका छन् ।

कावासोतीका मेयर विष्णु भुसालले ठेकेदार सम्पर्कमा नआएका कारण कारबाहीका लागि सिफारिस गर्न प्रजिअलाई पुन: पत्र पठाउने बताएका छन् ।

१० दिनभित्र काम सक्ने भनेर ५ दिनअघि नै लिखित सम्झौता गरेर फेरि सम्पर्कमा नआएको भन्दै मेयर भुसालले कारबाही प्रक्रिया अगाडि बढाउने बताए । समाचारका लागि पनि ठेकेदार भट्टलाई फोन गर्दा सम्पर्क हुन सकिरहेको छैन । वडाध्यक्ष नारायण लोहनीले फोन गर्दा भने आफू बुटवलमा भएको र छिट्टै आउने भन्दै अन्य कुरा गर्न चाहेका थिएनन् ।

प्रकाशित : जेष्ठ १६, २०८० १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले नेपालमा फेरि हवाइ सुरक्षाको प्रश्न उठेको छ । पटकपटक दुर्घटना भइरहनुको मुख्य कारण के होला ?

×