कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखराका स्वास्थ्यकर्मीले ३ महिनादेखि पाएनन् तलबभत्ता

काज सरुवाको अनुमति दिएर थप कर्मचारी भित्र्याइँदा यहीँ कार्यरतहरु खाली हात
अनिश भट्टराई

गण्डकी — पोखरा महानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तीन महिनायता तलबभत्ता पाएका छैनन् । माघको तलबभत्ता बुझे पनि त्यसयता नपाएको भन्दै स्वास्थ्यकर्मी महानगरमा तारन्तार धाइरहेका छन् । महानगरका ४८ स्वास्थ्य संस्थामा कार्यरत १ सय ९० स्थायी कर्मचारीले तलबभत्ता नपाएका हुन् ।

पोखराका स्वास्थ्यकर्मीले ३ महिनादेखि पाएनन् तलबभत्ता

सहरी स्वास्थ्य केन्द्र, रत्नचोककी प्रमुख सिनियर अहेब सुनिता गिरीले जेठ लागिसक्दा पनि फागुनको तलबभत्ता नपाएको बताइन् । महानगरमा पटकपटक ताकेता गर्दा पनि ‘राष्ट्रिय समस्या’ भन्दै फर्काइएको र छिट्टै तलब पाउने नदेखेको बताइन् ।

‘घरखर्च चलाउनै गाह्रो भइसक्यो, राष्ट्रिय समस्या भन्दै फर्काइन्छ,’ उनले भनिन् । १४ महिनाअघि अन्नपूर्ण गाउँपालिकाबाट सरुवा भएर पोखरा महानगर आएकी उनी सुरुबाटै तलबभत्ता दिन ढिलासुस्ती गरिएको बताइन् । सुरुमै पनि दुई–तीन महिनामा मात्र तलब निकासी हुने गरेकोमा अहिले ४ महिना लागिसक्दा पनि नपाएको बताइन् । अरु पालिकामा ‘राष्ट्रिय समस्या’ को प्रभाव नदेखेको दाबीसहित पोखरा महानगरले मात्र तलबभत्ता नदिनुमा उनी अनभिज्ञ देखिइन् । चापाकोट स्वास्थ्य सेवा केन्द्रमा कार्यरत यादव दाहालले बालबच्चाको विद्यालय खर्च बुझाउने, भर्ना गर्ने बेलैमा तलब नआउँदा समस्या परेको बताए ।

पोखरा महानगरपालिका–२० भलाममा कार्यरत जनस्वास्थ्य निरीक्षक विष्णुराज घिमिरेको पनि दुखेसो उस्तै छ । बाहिरी जिल्लाबाट आएर डेरामा बस्नुपरेको र समयमै तलबभत्ता नपाउँदा भाडा तिर्नै समस्या भएको जनाए । किनेर खाएको दूधको पैसासमेत तिर्न नसक्ने अवस्थामा पुगेको भन्दै उनी आक्रोशित बने ।

महानगरमा दरबन्दीमा खटाइएका डेढ सय स्थायी कर्मचारी रहेपनि बाहिरबाट काज सरुवा गरेर महानगरले कर्मचारी थप्दा तलबभत्ता दिन समस्या परेको आकलन स्वास्थ्यकर्मीको छ । ‘हामी यहीँका कर्मचारीको १२ महिनाकै तलबभत्ता आएको हुन्छ, महानगर आफैंले सरुवा अनुमति पत्र दिएर ल्याएका कर्मचारीलाई हाम्रो भागबाट तलब दिँदा नपाउने अवस्था आयो,’ घिमिरे भन्छन् । महानगरमा अहिले ४२ जना कर्मचारी बाहिरबाट काज सरुवा लिएर कार्यरत छन् ।

महानगरले अझै १५ जना थप कर्मचारीलाई महानगरमा आउन अनुमतिपत्र दिन लागेको छ । यसमध्ये १० जनालाई पोखरा महानगरपालिकामा काज सरुवा गरेर आउन महानगरले अनुमति दिइसकेको छ । प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले महानगर अन्तर्गतका रिक्त दरबन्दीमा स्थायी कर्मचारीलाई काज सरुवाको अनुमति दिएको बताए । ‘यहीँ भएकालाई तलब दिन नसक्ने अनि मेयर र प्रमुख प्रशासकीय अधिकृतले भटाभट निर्णय गर्दै भागभण्डामा आफ्ना मान्छे फेरि यहीं थप्ने,’ एक कर्मचारीले रोष व्यक्त गरे ।

महानगरमा हाल ३ सय २७ कर्मचारी कार्यरत छन्, जसमध्ये १९० जना स्थायी कर्मचारीको तलबमा ढिलाइ भएको हो । महानगरका स्वास्थ्य महाशाखा प्रमुख कृष्णप्रसाद अर्यालले संघीय सरकारले सशर्त कार्यक्रमबाट दिने रकम कम हुँदा कर्मचारीको तलब दिन ढिलाइ भएको बताए । संघ सरकारबाट पोखरा महानगरपालिकाका स्वास्थ्य कर्मचारीका लागि यस आर्थिक वर्षमा ११ करोड रुपैयाँ आएको थियो । यसमा प्रशासनिक खर्च कटाएर साढे ८ करोड रुपैयाँ तलबमा सकिएको र अहिले तलब दिने पैसा महानगरसँग पनि छैन । तलब एकैपटक निकासा गर्न अझै ६ करोड रुपैयाँ आवश्यक पर्ने महाशाखाले जनाएको छ । यसका लागि अर्थ मन्त्रालयमा पत्राचार पनि गरिसकिएको अर्यालले जनाए । अर्यालले आफू निकटलाई धमाधम महानगरमा ल्याउने प्रयास गरिरहेको कर्मचारीले गुनासो गरे ।

कर्मचारीलाई तलभत्ता दिन रकमान्तर गरेर पछि शोधभर्ना गर्न स्वास्थ्यकर्मीको सुझाव छ । तर महानगरले त्यसरी रकमान्तर गरेर शोधभर्ना गर्न नसक्ने वित्त व्यवस्थापन महाशाखा प्रमुख जयराम पौडेलले बताए । ‘सरसापट जस्तो गर्न उहाँहरुको सुझाव छ, तर महानगरले रकमान्तर गरेरै तलब ख्वाउन सक्दैन,’ पौडेलले भने । यता स्वास्थ्यकर्मीले भने तलबभत्ता चाँडो नपाए आफूहरु आन्दोलनमा उत्रने र कामकारबाही पनि ठप्प पार्ने भन्दै धम्की दिएका छन् । उनीहरुले आइतबार महानगरलाई ज्ञापन पत्र बुझाउँदै संघर्षमा उत्रन सक्ने चेतावनी दिएका हुन् ।

प्रकाशित : जेष्ठ ७, २०८० २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?