कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

गोरखा दरबारबाट रुपन्देहीसम्मको एकीकरण मार्गमा नेपाली सेनाको पदयात्रा सुरु

हरिराम उप्रेती

गोरखा — गोरखा दरबारबाट रुपन्देहीको जितगढी एकीकरण मार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । बुधबार गोरखा दरबारबाट सुरु भएको यात्रा वैशाख ७ गते रुपन्देही जिल्लाको जितगढी पुगेर टुंगिनेछ । 

गोरखा दरबारबाट रुपन्देहीसम्मको एकीकरण मार्गमा नेपाली सेनाको पदयात्रा सुरु

गोरखा मूल दरबारबाट बाजागाजा, राष्ट्रिय झन्डा तथा एकीकरणको दौरानमा स्थापना भएका ५ प्रथम कम्पनी (श्रीनाथ, कालीबक्स, वर्दवाणी, सवुज र पुरानो गोरख) तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झन्डासहित पदयात्रा सुरु गरिएको हो । शार्दुलजंग गुल्म पनि ऐतिहासिक सैनिक पोसाक तथा हतियारसहित जितगढीसम्मको यात्रामा निक्लिएको छ ।

गोरखा दरबारबाट हिँडेको पदयात्रा टोली तनहुँ, पाल्पा हुँदै वैशाख ७ गते रुपन्देहीको जितगढी पुग्नेछ । वैशाख ७ गते जितगढीको प्रतीमा प्रधानसेनापतिबाट बुटवल उप–महानगरपालिकालाई हस्तान्तरण गर्ने योजना बनाइएको छ ।

पदयात्रामा गोरखाको रिपुमर्दन गण, तनहुको रुरुभैर दल गण, कालिभञ्जन गण, श्री नं. ३ राजदल गण, स्याङ्जाको समरजीत गुल्म, पाल्पाको दि फेमस महिन्द्र दल गण र रुपन्देहीको गरुडदल गण सहभागी बन्नेछन् । गोरखा दरबारदेखि जितगढीसम्मको दुई सय ७ किलोमिटर दूरीमा यात्रा हुने नेपाली सेनाको रिपुमर्दन गणका गणपति हेमराज विष्टले बताए । ‘जिल्लागत हस्तान्तरण हुँदै यात्रा अघि बढ्छ,’ उनले भने, ‘गोरखाबाट यात्रा सुरु गरेको युनिटले आज साँझ नै सतिघाटबाट तनहुँलाई हस्तान्तरण हुन्छ ।’

तनहुँ खण्डमा चैत ३०, वैशाख १ र २ गतेसम्म तीन दिनको यात्रापछि केलादीघाटमा पाल्पालाई हस्तान्तरण गर्नेछ । पाल्पाले वैशाख ३, ४, ५ र ६ गतेसम्मको ४ दिनको यात्रापछि नुवाकोटगढीमा रुपन्देहीको युनिटलार्ई हस्तान्तरण गर्ने गरी रुट तय गरिएको उनले बताए । वि.सं. १८७२ मा तत्कालीन सेनाका कर्णेल उजिरसिंह थापाको नेतृत्वमा जितगढी किल्लामा युद्ध भएको थियो ।


जितगढी किल्लामा वि.सं. १८७२ वैशाख ७ गते नेपालसँग हारेपछि अंग्रेज सेना फिर्ता भएको इतिहासका जानकार बताउँछन् । वैशाख ७ गते जितगढीमा विजय उत्सव दिवसको रुपमा मनाउँदै आइएको छ । गोरखाबाट पदयात्रा सुरु गरेको नेपाली सेनाको युनिटले सोही उत्सवमा सहभागिता जनाउनेछ । नेपाली सेनाको अगुवाइमा ऐतिहासिक महत्त्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्गलगायत धरोहरको संरक्षण, सम्बर्द्धन एवं प्रवर्द्धनका लागि पदयात्रा सुरु गरिएको हो ।

पाँच वर्षयता राष्ट्रिय एकता दिवसको अवसर पारेर प्रत्येक पुस २७ गते पूर्वतर्फ गोरखा दरबारबाट काठमाडौं हनुमानढोकासम्मको एकीकरण पदयात्रा गर्दै आएको सेनाले पश्चिमतर्फको जितगढीसम्मको यात्राको पनि बुधबारबाट आरम्भ गरेको हो ।



प्रकाशित : चैत्र २९, २०७९ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?