प्राकृतिक चिकित्सालयका थेरापी उपकरण अलपत्र

म्याग्दी — बेनी नगरपालिका–४ तातोपानीमा प्राकृतिक चिकित्सालय खोल्न ल्याइएका तातोपानी थेरापी उपकरण वर्ष दिनदेखि अलपत्र छन् ।

नेपालमा पहिलो पटक प्राकृतिक तातोपानीसँग जोडेर तातोपानी कुण्ड व्यवस्थापन समितिले साउना स्नान, थेरापी र योगासहितको तातोपानी सामुदायीक प्राकृतिक चिकित्सालय सञ्चालनको तयारी गरेको थियो । यसका लागि मसाज थेरापी, हाइड्रो थेरापी, होमियोथेरापी, फिजियोथेरापी, नेच्युरोप्याथिक थेरापी र अकुपञ्चरका उपकरण ल्याइएको थियो ।
‘प्राकृतिक तातोपानीमा आधारित प्राकृतिक अस्पताल खोल्न विभिन्न उपकरण ल्याई सेटअप गर्ने क्रममा थियौं । कानुनी प्रक्रियामा अल्झन आएपछि रोकिएको अवस्था छ । उपकरणहरू प्लास्टिकले छोपेर राखेका छौं’ तातोपानी कुण्ड व्यवस्थापन समितिका सदस्य कुमार केसीले भने, ‘लाखौं मूल्यका यी उपकरण चलाउन प्राकृतिक चिकित्सक पनि ल्याएका थियौं ।’
संस्था दर्ता ऐनअन्तर्गत दर्ता भएको तातोपानी कुण्ड व्यवस्थापन समितिमार्फत प्राकृतिक सामुदायिक चिकित्सालय सञ्चालन तयारी भइरहँदा समिति भ्याटमा दर्ता हुन र समितिको विधानको उद्देश्यमा प्राकृतिक/प्रविधि चिकित्सालय सञ्चालन गर्नेसम्बन्धी बुँदा थप्न बेनी नगरपालिकाले सुझाएपछि अभियान प्रभावित भएको थिायो ।
‘भ्याटसमेतमा अल्झेको सबै कानुनी अल्झन सकिएको छ । अब छिट्टै थन्किएका तातोपानी थेरापीका सामग्री उपयोगमा आई प्राकृतिक चिकित्सालय सञ्चालन आउने छ’ कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले भने, ‘अब समितिको अधिवेशन गरी विधान र प्रबन्ध पत्र संशोधनपछि यही आवमा चिकित्सालय सञ्चालन गर्ने योजनामा छौं ।’
समितिले परम्परागत प्राकृतिक तातोपानी पोखरीमा डुबुल्की लगाउँदै आएको उपचार विधिमा योगा थेरापी, मसाज थेरापी, हाईड्रो थेरापी, होमियोथेरापी, फिजियोथेरापी, नेच्युरोप्याथिक थेरापी र अकुपञ्चर विधिबाट पनि उपचार ल्याएका सवै थारापीका उपकरण थन्क्याएर राखिएको छ । यहाँका तातोपानीका पोखरीहरूमा एलोपेथिक औषधीय उपचारबाट सञ्चो हुन नसकेका बिरामी प्राकृतिक चिकित्सा मानिएको डुबेर उपचार गराउँदा लाभ पुगेको धेरै अनुभव छ ।
प्राकृतिक चिकित्सालय खोल्न आव ०७७/०७८ मा संघिय सरकारको ५० लाख र थेरापीका उपकरण खरिद गर्न गण्डकी प्रदेशले ५० लाख बजेट खर्च भइसकेको छ । ‘समितिले चिकित्सालय सञ्चालन गर्न स्वीकृत दिनुअघि प्रक्रियागत त्रुटि सच्याउन भनेका हौं’ बेनी नगरपालिकाका मेयर सुरत केसीले भने, ‘प्रक्रियागत रूपमा आए नगरपालिकाले चिकित्सालय सञ्चालन गर्न अनुमति दिन्छ । राम्रो कामको सुरुआत गर्दा विधि प्रक्रिया पनि राम्रो होस् भन्ने चाहना मात्र हो ।’
प्राकृतिक अस्पतालमा आवश्यक सबै थेरापीका उपकरण थन्क्याएर राखिएको छ । थेरापी लगायतका उपचार कक्षमा उपकरण सेट गर्दागर्दै रोकिएको अवस्थामा छ । समितिले तातोपानी सामुदायिक प्राकृतिक चिकित्सालयका लागि नियुक्त गरेको प्राकृतिक चिकित्सक डा.आयुशा अधिकारीलाई फिर्ता गरी फिजियो थेरापिस्ट, मसाज थेरापिस्ट र नर्सिङ स्टापको विज्ञापन पनि रद्द गरेको थियो ।
‘चिकित्सालयमा आवश्यक थेरापीहरूका उपकरण आई केही सेटअप पनि भइसकेको छ । सबै प्रक्रिया पूरा गरी सकेसम्म छिटो प्राकृतिक अस्पतालबाट सेवा सुरु गर्ने योजनामा छौं,’ सचिव खड्काले सुनाए ।
यहाँका तातोपानीका पोखरीहरूमा एलोपेथिक औषधीय उपचारबाट सञ्चो हुन नसकेका बिरामी प्राकृतिक चिकित्सा मानिएको डुबेर उपचार गराउँदा लाभ पुगेको धेरै अनुभव छन् । बिरामीको तातोपानीमा डुबेर निको भएको वचन विज्ञापनकै आधारमा बर्सेनि सयौं बिरामी यहाँ आउने गरेका छन ।
प्रकाशित : चैत्र १७, २०७९ ०७:५८