जुनार खेतीमा जनशक्ति र सिँचाईको अभाव

टीकाप्रसाद भट्ट

रामेछाप — जिल्लाको दक्षिणी क्षेत्रका पाखाहरु यतिबेला जुनारले पहेँलपुर छन् । जुनारले बजार र भाउ दुवै पाएका बेला किसानलाई भने जनशक्तिको अभाव खड्किएको छ । किसानले भएका बगैंचामा गोडमेल, काँटछाँट र अन्य स्याहार पुर्‍याउन सकेका छैनन् । जनशक्तिकै अभावका कारण जुनार खेती विस्तार गर्न समेत नसकिएको किसानहरुले बताएका छन् । 

जुनार खेतीमा जनशक्ति र सिँचाईको अभाव

‘जुनार छन् तानी तिनको उचित स्याहार गर्न अब हम्मे भैसक्यो ’ रामेछाप नगरपालिका-६ ओख्रेनीका किसान तिर्थवहादुर घिसिङले भने, 'बुढाबुढीले कतिन्जेलसम्म बगैँचाको हेरचाह गर्न सक्लान र ?'

अन्य क्षेत्रझैँ ओख्रेनीबाट पनि विदेशिनेको लर्को छ । गाउँमा एकाध घरमा केही युवा उमेर भएका किसानले बगैँचा गोडमेल र सिंचाईको प्रबन्ध गरेपनि अरु बगैँचामा स्याहार पुगेको छैन ।

जनशक्तिकै अभावमा बोटमा भएका जुनार टिपेर बजार लैजान किसानहरु आफुले सक्दैनन् । एक बोरा जुनार झण्डै १२ किलोमिटर टाढाको मन्थली बजार सम्म लैजान बोलेरो गाडीले २ सय रुपैयाँ भाडा लिन्छ । 'बोकेर बजार लाने जनशक्ति छैन, गाडीबाट पठाउँदा किसानले पाउने पैसा गाडीले लैजान्छ,' घिसिङले थपे ।

बगैँचामा प्रति केजी ६० देखि ७० रुपैयाँसम्म लिने किसानले बजारमा पुर्‍याउँदा भने त्यो भन्दा बढी भाउ नपाउने गरेको गुनासो उनको छ । बजारसम्म लैजाने जनशक्ति पनि नभएको उनले बताए ।


‘हामीलाई सिंचाईको पनि धेरै अभाव भएको छ, ’ गाईटारकै किसान धनबहादुर घिसिङ भन्छन्, 'यो वर्ष हिउँदमा पानी परेन । ५ महिनादेखि पानी नपरेकाले धेरै जुनार बगैँचा खडेरीको चपेटामा छन् । खडेरीले गर्दा बगैँचाको गोडमेल गर्न गाह्रो भएको उनले बताए ।

बगैँचामा पहेलपुर देखिएका जुनारमध्ये केही व्यवसायीले फल किनीसकेका बगैँचा पनि छन् । राम्रो स्याहार पुगेको बगैँचामा बाहिरी जिल्लाबाट आएका व्यवसायीहरुले जुनारको मोलतोल गरिसकेका छन् । स्याहार नपुगेको बगैँचा र साना दाना जुनारमा व्यवसायीका आँखा लागेको छैन ।

‘भाउ आएमा जुनार निकाल्ने बेला यही हो ’ धनबहादुर भन्छन्, 'माघको पहिलो सातादेखि पालुवा पलाउन थाल्छ, त्यस अगावै काँटछाँट र गोलमेल सक्नुपर्छ । तर अहिले त्यसका लागि धेरै बगैँचा तयार छैनन् । अधिकांशको बगैँचामा जुनार रुखमानै छन् । पुस मसान्त सम्म जुनार टिपीसक्नु पर्छ ।'

कृषिमा काम गर्ने जनशक्ति घटिरहेको बेला जुनार किसानलाई यान्त्रिकिकरणले केही सहज भएको छ । पुरै बगैँचा मिनिटिलरको सहयोगले खनजोत गर्न एक्लै किसानले भ्याएका छन् । रोग किराको पहिचान, प्रविधि हस्तान्तरण, औजार र उपकरण, सिंचाई , कुलवुट निर्माण, हाईटेक नर्सरी व्यवस्थापन र बजारीकरणमा केही बर्ष अघि देखि जुनार जोन घोषणा गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानलाई सघाउँदै आएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकी परियोजना रामेछापका प्रमुख थिरलाल गैह्रेका अनुसार रामेछाप र मन्थली नगरपालिकालाई समेटेर जुनार जोन कार्यक्रम संचालन गरिएको छ । जोन क्षेत्र भित्र पर्ने बगैँचामा किसानहरुलाई परियोजनाले अनुदान दिने व्यवस्था गरेको छ ।

अमिलो जातमा देखा परेका औंसा किराको प्रकोप नियन्त्रणका लागि गत बर्ष परियोजनाा विषाधि छिट्ने कार्यलाई प्रभावकारी बनाएका कारण अधिकांश बगैँचामा गत बर्ष देखिनै रोगकिराको प्रकोप देखिएको छैन ।

रोगकिराको नियन्त्रणसँगै व्यवसायिक जुनार उत्पादन गर्ने किसानले मनग्यै आम्दानी गर्न थालेका छन् । ओख्रेनीका किसान हिमाल तामाङका अनुसार गत बर्ष उनले ३ लाख ५० हजारको जुनार विक्री गरेका छन् । बगैँचामानै प्रतिकेजि ७० रुपैयाँसम्म लिएर जुनार दिएका उनले यो बर्ष पनि जुनारबाट त्यतिनै कमाउने लक्ष्य लिएका छन् । तामाङले १५ रोपनीमा जुनार लगाएका छन् ।

ओख्रेनीको पुरानागाउँका अगुवा किसान शेरबहादुर तामाङले आफ्नो बगैँचाको जुनार र सुन्तला एकमुष्ट बिक्री गरिसकेका छन् । उनको बगैँचाको जुनार ३ लाख ५० हजारमा यो वर्ष बिक्री भएको छ ।

गैह्रेका अनुसार जुनार जोन कार्यक्रम संचालन भएका रामेछाप र मन्थली नगरपालिकामा करिब ५ सय २० हेक्टरमा जुनार खेती गरिएको छ । उक्त क्षेत्रमा करिव ४ हजार ५ सय टन जुनार उत्पादन हुने तथ्यांक छ । जुनार विक्रीबाट किसानले २० देखि २२ करोड आम्दानी गर्ने उनले बताए । केही जुनारले उत्पादन दिने बेला नभैसकेकाले आगामी बर्ष उत्पादनमा थप वृद्धि हुने अपेक्षा उनको छ ।

जुनार किसानलाई आफ्नो उत्पादनबाट बढी भन्दा बढी फाइदा दिलाउनका लागि परियोजनाले ओख्रेनीमा २ वटा कुलवुट ( चिस्यान केन्द्र ) निर्माणमा सघाएको छ । यो बेला जुनार टिपेर चिस्यान केन्द्रमा राख्दा फागुन चैतमा दोब्बर भाउ लिन सक्ने भएकाले किसानलाई चिस्यान केन्द्र निर्माणमा उत्प्रेरणा जगाउन उक्त कार्यक्रम राखिएको हो ।

गाईटारका किसान धनबहादुर घिसिङले गत बर्ष १ सय ३५ क्रेट जुनार आफ्नो निजी चिस्यान केन्द्रमा राखेको र त्यसबाट चैतमा जुनार बजारमा पुर्‍याउँदा प्रतिकेजी १ सय २५ रुपैयाँसम्म भाउ पाएको बताए ।

जिल्लामा उत्पादन भएको जुनारको बजार आधाभन्दा बढी बाहिरी जिल्लामा छ । रामेछापमा उत्पादित जुनारको ६० प्रतिशत जुनार बाहिरी जिल्लामा जान्छ । त्यसमध्ये पनि सिन्धुलीमा धेरै जुनार जाने गरेको छ । सिन्धुलीका व्यवसायीले रामेछापबाट हरेक बर्ष जुनार लाने र त्यसलाई सिन्धुलीकै जुनार भनेर बिक्री गर्ने गरेका छन् ।

‘हाम्रो चिजलाई हामीले ब्राण्डिङ गर्न सक्नुपर्छ ’ जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्की भन्छिन् – त्यसका लागि स्थानीय सरकारले कार्यक्रम ल्याउनु पर्नेमा उनले जोड दिइन् । परियोजनाले गत वर्ष ब्राण्डिङ र प्याकेजिङमा सिमित कार्यक्रम ल्याएको बताउने गैह्रै रामेछापको जुनारलाई अझ प्रचार प्रसार गरेर बजार विस्तारमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित : पुस २९, २०८० १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?