‘प्रोफेसर यदुनाथ खनाल प्रवचन शृंखला’ मा प्राध्यापक सी. राजा मोहनले प्रवचन दिने

‘नेपाल–भारत सम्बन्धः सम्भावना र बाटोहरु’ बारे प्रवचन दिने

वैशाख ३१, २०८१

जगदीश्वर पाण्डे

In ”Professor Yadunath Khanal Lecture Series” Professor C. Raja Mohan will give a sermon

काठमाडौँ — परराष्ट्र मन्त्रालयले आयोजना गर्ने 'प्रोफेसर यदुनाथ खनाल प्रवचन शृंखलाको तेस्रो संस्करणमा भारतका प्रख्यात भूराजनीतिक विज्ञ प्राध्यापक सी. राजा मोहनले मंगलबार प्रवचन दिने भएका छन् । उनले ‘नेपाल–भारत सम्बन्धः सम्भावना र बाटोहरु’ बारे प्रवचन दिन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रवचनको पहिलो संस्करणमा दुई वर्ष अघि बेलायतको लिड्स विश्वविद्यालयका प्राध्यापक सूर्य सुवेदीले प्रस्तुति दिएका थिए । दोस्रो संस्करणमा पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले प्रवचन दिएका थिए । तेस्रो संस्करणमा प्राध्यापक राजा मोहनले प्रस्तुति दिन लागेका हुन् ।

को हुन् कूटनीतिज्ञ  खनाल?

मुलुकमा प्रजातन्त्र स्थापना (सन् १९५१) र संयुक्त राष्ट्रसंघ (यूएन) को सदस्यता प्राप्ति (सन् १९५५) पछि नेपालले एकातिर विभिन्न मुलुकसँग धमाधम द्विपक्षीय सम्बन्ध स्थापना गरिरहेको थियो भने अर्कातिर शीतयुद्धकालमा अमेरिकी वा सोभियत संघ कुनै पनि ध्रुबमा नलागेर असंलग्नता आन्दोलनलाई जोड दिएको थियो । त्यही बेलाको विश्वको जटिल भूराजनीति परिस्थितिमा अन्तर्राष्ट्रिय सम्बन्धलाई नेपालका तर्फबाट सम्हाल्ने जिम्मेवारी यदुनाथ खनालले पाएका थिए । परराष्ट्र सचिव, राजदूत हुँदै प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारसम्मको जिम्मेवारी निर्वाहमा उत्कृष्ट कौशल देखाएका उनै खनालको सम्मानमा परराष्ट्र मन्त्रालयले तीन वर्षदेखि लगातार रुपमा ‘प्रोफेसर यदुनाथ खनाल प्रवचन’ आयोजना गर्न लागेको हो  ।

प्राध्यापक खनालले नेपालको परराष्ट्र नीति, कूटनीति र देशको राष्ट्रिय हितका महत्त्वपूर्ण विषयमा पुर्‍याएको योगदानको सम्मान गर्दै उनको नाममा प्रवचन गर्न लागिएको परराष्ट्र मन्त्रालयको थियो । मन्त्रालयका अनुसार नेपालको राष्ट्रिय हित एवं अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा प्रत्यक्ष सरोकार राख्ने परराष्ट्र नीति, कूटनीति जस्ता विषयसँग सम्बन्धित शीर्षकमा प्रवचन प्रत्येक वर्ष हुँदै आएको छ । हरेक वर्ष हुने शंखृलामा कार्यक्रममा सम्बन्धित क्षेत्रका विशिष्ट व्यक्तिहरूसहित परराष्ट्र नीति निर्माण र कार्यान्वयनमा संलग्न व्यक्ति, बुद्धिजीवी तथा अन्य सरोकारवाला सहभागी रहँदै आएका छन् ।

खनाल राजा महेन्द्र शाहका पालमा दुई पटक परराष्ट्र सचिव र भारतका लागि राजदूत भएका थिए । राजा वीरेन्द्र शाहका शासनकालमा उनी अमेरिका र चीनका लागि राजदूत भए । २०४७ सालमा बहुदलीय प्रजातन्त्र स्थापना भएपछि अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र त्यसपछि प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरालाको परराष्ट्र मामिला सल्लाहकार बनेका थिए । तनहुँको मानुङमा सन् १९१३ अगस्तमा जन्मिएका खनालको मृत्यु सन् २००४ अक्टोबरमा भएको थियो ।

कूटनीतिज्ञ खनालले अन्तर्राष्ट्रिय मामिलामा जिम्मेवारी सम्हालिरहादा विश्व दुई ध्रुबमा बाँडिएको थियो भने गरिबीका कारण संसारभर विभिन्न खालका समस्या थिए । कतै राजनीतिक उथलपथल त कतै ब्रिटिस शासकहरूलाई घर फिर्ती चलिरहेको थियो । भारतबाट ब्रिटिस सरकार फर्किएपछि पाकिस्तान अलग्गिएको थियो । पछि बंगलादेश जन्मियो । अफगानिस्तानमा सोभियन सेनाको प्रवेश लगायतका मुद्दा थिए । त्यही पृष्ठभूमिमा नेपालका लागि खनालले महत्वपूर्ण योगदान गरेका थिए । अमेरिका र सोभिय संघबीच तनावको समयमा नेपालले असंलग्नता नीति लिनुपर्ने खनालको जोड थियो ।

‘यदुनाथ खनालको जीवनीबाट नेपालजस्तो अविकसित समाजमा विद्वान् समालोचक र कूटनीतिज्ञको निर्माण कसरी हुन्छ भन्ने बुझ्न मद्दत मिल्छ,’ पूर्वराजदूत जयराज आचार्यले ‘यदुनाथ खनालः जीवनी र विचार’ नामक किताबमा लेखेका छन्, ‘यदुनाथ कूटनीतिमा कौटिल्य र किसिन्जर दुवै बुझ्ने र आफ्नो व्यवहारमा ढाल्न सक्ने व्यापक बौद्धिक व्यक्ति हुन् ।’ सरकारले खनाललाई सम्झेर अन्तर्राष्ट्रिय सम्बन्धमा प्रवचन शृंखला गर्न लागेकामा आचार्यले खुसी व्यक्त गरेका थिए ।

काठमाडौंको त्रिचन्द्र कलेजमा अंग्रेजी भाषा पढेका खनाल पछि सोही कलेजमा प्राध्यापक भएका थिए । उनले आफ्नो पुस्तक ‘नेपाल्स नन–आइसोलेसनिस्ट फरेन पोलिसी’ (नेपालको अपृथक्तावादी परराष्ट्र नीति) मा नेपालको भारत र चीनसँगको सम्बन्धबारे पनि प्रस्ट पारेका छन् ।

‘भारत र चीनसँगको हाम्रो सम्बन्ध जहिले पनि कठिन र आणविक युगमा झन् कठिन मोड लिइरहँदा अहिले राजनीतिज्ञहरूको कमजोर सोच र बोलीका कारणले झन् जटिल बनाएको छ । उनीहरूको घोषणाले आफ्नै कार्यसम्पादनसँग कुनै सम्बन्ध राख्दैन,’ उनले पुस्तकमा लेखेका छन्, ‘चीन र भारतका बीचमा रहेको र उनीहरूसँग यथासम्भव मैत्रीपूर्ण सम्बन्ध कायम राख्न कटिबद्ध रहेको नेपालले उनका लागि गतिशील तटस्थताको नीति नै सबैभन्दा उपयुक्त भएको पाएको छ ।’ खनालले विदेश सेवामा केही अनिच्छा र आशंकाका साथ आए पनि काम गर्दा आफूलाई रमाइलो लागेको उल्लेख गरेका छन् ।

जगदीश्वर एक दशकभन्दा लामाे समयदेखि पत्रकारितामा क्रियाशिल पाण्डे परराष्ट्र, सुरक्षा र राजनीतिसम्बन्धी समाचार लेखनमा सक्रिय छन् ।

Link copied successfully