कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७५

माघे संक्रान्तिलाई राष्ट्रिय चाडका रुपमा मनाउँदै कुमाल समुदाय

रमेशकुमार पौडेल

चितवन — माघे संक्रान्तिलाई आदिवासी कुमाल समुदायले पनि मुख्य पर्वका रुपमा मनाउने भएका छन् । संक्रान्ति पर्वको अवसर पारेर सोमबार चितवन भरतपुर महानगरपालिका–२८ मेघौली गोलाघाटमा बृहत राष्ट्रिय कार्यक्रम आयोजना हुँदैछ ।

माघे संक्रान्तिलाई राष्ट्रिय चाडका रुपमा मनाउँदै कुमाल समुदाय

कुमाल समाज नेपाल केन्द्रीय समितिको आयोजनामा देशभरका कुमाल एकै ठाउँमा भेला भइ माघे संक्रान्ति पर्व मनाउन लागेको समाजका अध्यक्ष तेलबहादुर कुमाल विशालले बताए ।

गोलाघाट नारायणी नदीमा राप्ती खोला आएर मिसिने दोभान पनि यो । सुर्यास्तको भब्य दृश्य देखिने यो ठाउँमा माघे संक्रान्ति पर्व मनाउन कुमाल समुदायले परम्परागत पुरानो शैलीको घर नै बनाएका हुन्छन् । घरलाई पालीले घेरेर त्यसलाई पनि बार्ने हुँदा कुमाल समुदायको परम्परागत घर घुमाउने घर जस्तै देखिन्छ । घरमा झ्याल हुँदैनन् । ढोका दायाँ बायाँ स–साना खाली ठाउँ हुन्छन् ।

त्यस घरमा कुमाल समुदायले प्रयोग गर्ने सामाग्रीहरु राखिएको छ । कुमाल समुदायको परम्परागत पेसा माटाको भाडाहरु बनाउने हो । तर चितवनका कुमाल समुदायले यो पेसा अपनाएनन् भन्दा पनि हुने कुमाल समुदायका अगुवा जयमंगल कुमालले बताए । उनका अनुसार माटोका भाडा बनाउन प्रयोग हुने विशेष उपकरण ‘चक्र’ बाहिरी जिल्लाबाट मगाएका कारण संक्रान्तिका दिनसम्म आइपुग्ने र राख्ने तयारी छ ।


‘कुमाल समुदायका लागि माघे संक्रान्ति दशैं तिहारभन्दा पनि ठुलो पर्व हो । नेपालमा अन्य जात जातिले पनि माघ १ गते विभिन्न नाममा यो पर्व धुमधामले मनाउँदै आएका छन् । हामीले पनि मनाउने गर्दछौं । त्यसैको जानकारी राज्यका हरेक निकायलाई होस भनेर यो पटक चितवन गोलाघाटमा राष्ट्रिय स्तरको कार्यक्रम गर्न लागेका हौं’ केन्द्रीय अध्यक्ष तेलबहादुर कुमालले भने ।

कुमाल समुदायको भाषा, भेषभुषा, नाँच गान, परिकारहरु हराउँदै जान लागेका कारणले जागरण ल्याउन पनि राष्ट्रिय रुपमा पर्व मनाउन आवश्यक भएको अध्यक्ष तेलबहादुरले बताए । ‘हाम्रा विशेष खाले नाँच गान छन् । खेतीपाती लगाउँदा वर्षायाममा बाली गीत गाइन्छ । माघे संक्रान्तिमा रोदी बस्ने चलन छ । फागुमा डम्फु नाँच छ । पाङदुरे/पाउदुरे भन्ने नाँच दशैंको नवमीमा देखाइन्छ’ कुमाल अगुवा जयमंगल कुमालले भने ।

खानपान पनि विशेष खालका हुन्छन् । माघे संक्रान्तिमा मासको फुलौरा, कालो सुँगुरको मासु, तरुल, पिडालु, फर्सी उसिने र खाने पुरानो चलन हो । ‘गोलाघाटको राष्ट्रिय कार्यक्रममा हामी आफ्ना पोशाक, परिकार, रिति, सहन सहन सकेसम्म सवै प्रस्तुत गर्ने जमार्कोमा छौं । अन्य समुदाय र हाम्रै युवा पुस्तालाई पनि आफ्नो पहिचान बारे बुझाउन आवश्यक भएको छ’ कार्यक्रमका प्रचार संयोजक राजन कुमालले भने ।


माघ एक गतेपछि सुर्य उत्तरायण हुने भएका कारण प्रकृति पुजक जातिले यसलाई पुरानो वर्ष गएर नयाँ वर्ष आएको खुसीयालीका रुपमा मनाउने गरेको र कुमालहरु पनि प्रकृति पुजक भएका कारण माघ १ नयाँ वर्ष भएको अध्यक्ष तेलबहादुरले बताए । यस दिन सवेरै खोला र नदीमा गएर नुहाउने, घर आएपछि पितृ सम्झेर जल चढाउने गर्दछन् । छोरी ज्वाइ, भाञ्जा भाञ्जीहरु भेला गरी टीका लगाइ दिने र परिकार खान दिने चलन छ ।

जनगणना–२०७८ अनुसार कुमालको देशभरको जनसंख्या एक लाख २९ हजार ७०२ छ । चितवनमा ११ हजार ४०५ छ । माटाका भाँडा बनाउने परम्परागत पेशा मात्रै हैन भाषा र भेषभुषा पनि हराउँदै छ । मातृभाषा बोल्ने कुमालहरु १२ प्रतिशत जति रहेको अध्यक्ष तेलबहादुरले बताए । पहाडबाट बसाइ सरेर तराई झरेकाहरुले धेरै पहिलेदेखि माटाका भाडा नै नबनाउने गरेको उनले बताए ।

प्रकाशित : पुस २९, २०८० १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?