कैदमाफी पाएका थापाले अपहरणको धम्की दिँदै २५ लाख रुपैयाँ मागे

रमेशकुमार पौडेल

चितवन — माग गरेबमोजिम रकम नदिए अपहरण र गोली प्रहार गर्ने धम्की दिएको आरोपमा चितवन प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ५५ वर्षीय रामचन्द्र थापा यसअघि पनि विभन्न अपराधमा पटक–पटक समातिएका व्यक्ति हुन् । उनी यसअघि डाँका मुद्दामा पक्राउ परेर नौ वर्ष कैद सजाय पाए पनि गएको गणतन्त्र दिवसमा कैद माफी मिनाहा पाएर छुटेका थिए ।

कैदमाफी पाएका थापाले अपहरणको धम्की दिँदै २५ लाख रुपैयाँ मागे

मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका–२ स्थायी ठेगना भएका रामचन्द्र थापा भरतपुर महानगरपालिका–९ मा बस्दै आएका छन् । उनले भरतपुर महानगरपालिका–१ पुल्चोकमा औषधि पसल चलाएका सोमराज सुवेदीलाई धम्काउँदै रकम माग गरेको चितवन प्रहरीले जनाएको छ । सुवेदीसँग कात्तिक ८ गते बुधबार थापाले रकम माग्न सुरु गरेका थिए । त्यसपछि प्रहरीको निगरानीमा रहेका थापा सोमबार पक्राउ परेका हुन् ।

चितवन जिल्ला प्रहरी कार्यालयले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर भरतपुर–१० मालपोत चोक नजिकबाट रकम माग्दै गर्दा थापा पक्राउ परेको जानकारी गराएको छ । थापाले सोमराजसँग सुरुमा २५ लाख रुपैयाँ माग गरेको पत्रकार सम्मेलनमा चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले बताए । थापालाई समाउन प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहको नेतृत्वमा प्रहरी टोली खटेको थियो ।

‘कात्तिक ८ गते साँझपख त्यस्तै पौने ६ बजेतिर फोनमा हिन्दीमा बोल्दै मसँग २५ लाख रुपैयाँ माग गर्‍यो । पैसा नदिए अपहरण गर्ने र मलाई र छोरालाई समेत सूट गरेर मार्छु भन्यो’ सोमराज सुवेदीले सुनाए । सुवेदीले आफूसँग त्यति पैसा नभएको बताए । भोलिपल्ट २० लाख रुपैयाँसम्म दिए मान्ने कुरा भएको सुवेदीले बताए । यो बीचमा प्रहरीमा उजुरी परिसकेको थियो । र घटनाको अनुसन्धानमा प्रहरी खटेको थियो ।

पैसा माग्नेले एनसेलको सिम प्रयोग गरेका थिए । रकम कहाँ बुझाउने भन्ने ठाउँ तय गर्न समय लाग्यो । मंगलबारलाई दिन तोकेपछि पैसा बुझ्न भनेर आएका थापा समातिएका हुन् । डीएसपी पण्डितका अनुसार थापाविरुद्ध पहिलो पटक ६६ सालको जेठ २७ मा चितवन प्रहरीले चोरी मुद्दा दर्ता गराएको थियो । सोही वर्षको असार ३ मा अवैध हातहतियार देखाएर डाँका गरेको अभियोग पनि उनलाई लागेको थियो ।

त्यसैगरी ७३ सालको वैशाख २२ मा ललितपुर सातदोबाटो प्रहरी वृत्तले थापाविरुद्ध लागूऔषध अपराधमा मुद्दा दर्ता गरेको डीएसपी पण्डितले बताए । ७५ सालको मंसिर १३ मा चितवन प्रहरीले डाँकासम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो । सो अपराधमा उनलाई चितवन जिल्ला अदालतले नौ वर्ष कैद सुनाएको डीएसपी पण्डितले बताए । तर साढे चार वर्ष कैद पूरा गरेपछि गएको गणतन्त्र दिवसमा बाँकी कैद मिनाहा भएर उनी भरतपुर कारागारबाट मुक्त भएको डीएसपी पण्डितको भनाइ छ ।

प्रकाशित : कार्तिक १४, २०८० १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?