कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनकोसी जिप दुर्घटना : तेस्रो दिन गोताखोर टोलीबाट खोजी

राजकुमार कार्की

खुर्कोट (सिन्धुली) — सुनकोसी नदीमा जिपसहित बेपत्ता कर्मचारीको खोजीमा सशस्त्र प्रहरी, सेनाको गोताखोर र नेपाल प्रहरीको विपद् व्यवस्थान टोली घटनाको तेस्रो दिन आइतबारसमेत तीव्र गतिमा खटेको छ । गत शुक्रबार काठमाडौंबाट खोटाङतर्फ गइरहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का दुई निर्देशक र अधिकृतसहितको टोली शुक्रबार सुनकोसीमा खसेको थियो ।

सुनकोसी जिप दुर्घटना : तेस्रो दिन गोताखोर टोलीबाट खोजी

चालक भने पौडिएर बाँचेका छन् । प्रहरीको उपत्यका टोलीले शुक्रबारदेखि खोजी गरे पनि फेला पार्न नसकेपछि सशस्त्र प्रहरीका कुरिनटार र सेनाको सुन्दरीजलबाट गोताखोर टोली आएर तेस्रो दिन आइतबार खोजी सुरु गरेको सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले जानकारी दिए ।

खोजीमा नेपाल प्रहरीको विपद् व्यवस्थापनको दुईसहित चारवटा टोली खटिएका छन् । तीनवटा एक्स्काइभेटर प्रयोग गरेर सुनकोसीको पानीको बहाव २५ प्रतिशत अर्कोतर्फ कटाइएको छ । गोताखोर केशव महतका अनुसार सुनकोसी नदीको पानीमा अत्यधिक करेन्ट भएकाले नदीको तल्लो भागसम्म पुग्न ५० केजी वजन जिउमा बाँधेर खोजी कार्य सुरु भएको छ । तर, धमिलो पानी भएकाले भित्र नदेखिँदा समस्या भएको छ । ‘गहिराइमा पुग्दासमेत केही देखिँदैन,’ उनले भने, ‘पानी कञ्चन भइदिएको भए यति ठूलो समस्या हुने थिएन ।’

खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बा १ झ ७४६७ नम्बरको स्कार्पियो जिप शुक्रबार मध्याह्न मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनमा नदीमा खसेको थियो । त्यसमा सवार प्रशासन शाखाका निर्देशक ५७ वर्षीय कृष्ण केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्त्तेल र ३२ वर्षीय विद्युत् प्राविधिक अधिकृत भानु पौडेल रहेका छन् । चालक दाङ घर भएका कृष्ण चौधरी पौडिएर निस्किएका थिए ।


प्रकाशित : जेष्ठ २१, २०८० २२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?