सिन्धुलीमा करेन्ट लागेर मृत्यु 

रासस

सिन्धुली — सुनकोशी गाउँपालिका–४ फलामेचौरमा करेन्ट लाग्दा बिहीबार एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । करेन्ट लागेर १२ वर्षीय दिपेश श्रेष्ठको मृत्यु भएको र उनका बाबु ४० वर्षीय फत्तबहादुर श्रेष्ठ गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।

उनका अनुसार बाबु छोरा खेतमा काम गरेर घर फर्कंदै गर्दा बाटो छेउमा रहेको एघार हजार भोल्टेजको मेन लाइनको पोल नजिक छोरालाई करेन्ट लागेको र छोरालाई बचाउन खोज्दा बाबुलाई पनि करेन्ट लागेको थियो ।

गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारको लागि काठमाडौँ पठाइएको छ । करेन्ट कसरी चुहावट भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र १६, २०७९ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्

जनकपुरमा मनाइयो रामनवमी

श्यामसुन्दर शशि

जनकपुर — चैत्र शुक्लपक्ष नवमीको दिन पारम्परागत रुपले मनाइदै आएको रामनवमी जनकपुरमा धूमधामका साथ मनाइएको छ । रामनवमीको अवसरमा गाउँ–गाउँबाट बाजा–गाजासहित आएका श्रद्धालुहरूले शोभायात्रासमेत निकालेका थिए । 


रामनवमीको अवसरमा राम र जानकी मन्दिरमा दिनभरि विशेष कार्यक्रमको आयोजना गरिएको थियो । बिहान विशेष आरती गरिएको थियो भने मध्याह्नमा हर्ष बढाइँ गर्दै श्रद्धालुहरूले बधैया गाएका थिए । साँझमा पनि विशेष आरती गरिएको थियो ।

राम–सीताको दर्शन गर्न हजारौं श्रद्धालु मन्दिर परिसरमा भेला भएका थिए । केहि श्रद्धालु भने तीन दिन लगाएर नौमी दण्डवत् गर्दै मन्दिर परिसरसम्म आएका थिए । मनौती मानेकाहरू घरदेखि मन्दिर परिसरसम्म माटोलाई ढोग्दै आउने गर्छन् । जसलाई नवमी दण्डवत् भनिन्छ । रामनवमीको अवसरमा ग्रामीण क्षेत्रका मठ मन्दिरहरूमा पनि विशेष पूजाअर्चनाको आयोजन गरिएको थियो ।

राममन्दिरमा भेला भएका नेपाल र भारतका साधु सन्तहरूका लागि सामूहिक भोजनको समेत आयोजना गरिएको थियो ।

प्रकाशित : चैत्र १६, २०७९ १८:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×