कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
तस्बिरहरू

राप्ती किनारमा पर्यटकको चहलपहल बढ्दो

रमेशकुमार पौडेल

चितवन — कोरोनाका कारण तीन वर्षअघि देशव्यापी लकडाउन हुँदा सुनसान रहेका चितवनका पर्यटकीय क्षेत्र विस्तारै चलायामान हुँदै जाँदा पनि विदेशी पर्यटक देख्न मुस्किल थियो । हिजोआज विदेशी पर्यटक पनि बढ्न थालेका छन् । वन्यजन्तु अवलोकनका लागि चितवन देशको मुख्य पर्यटकीय गन्तव्य हो । राप्ती नदी तरेर निकुञ्ज छिर्न सकिन्छ । अचेल निकुञ्ज घुम्न जाने र घुमेर फर्कनेहरुको राप्ती किनारमा चहलपहल निकै बढेको छ ।

राप्ती किनारमा पर्यटकको चहलपहल बढ्दो

चिरपरिचित पर्यटकीयस्थल पूर्व चितवनको सौराहा होस् या पछिल्लो समय स्वदेशी विदेशी पर्यटकको नजरमा पर्दै गएको पश्चिम चितवनको पटिहानी दुवै राप्ती नदी किनारमा छन् । दुवै ठाउँमा अचेल घुम्न आउनेहरु बाक्लै देखिन्छन् ।

भरतपुर महानगरपालिका–२२ मा पर्ने पटिहानीको घटगाई ‘अम्रेला स्ट्रिट’का कारण छोट्टो समयमा नै धेरैको नजरमा पर्‍यो । सदरमुकाम भरतपुरबाट १५ किलो मिटर पर पश्चिम दक्षिणमा छ पटिहानी ।

सदरमुकामबाट छोटो दुरीमा रहेको, राम्रो बाटोघाटो र स्तरीय होटलदेखि घुम्ने हेर्ने ठाउँमा पनि विविधता रहेका कारण पटिहानी घुम्न आउनेहरु प्रशस्तै हुने गरेको भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णु महतोले बताए । चालु आर्थिक वर्षको फागुनसम्म कुल एक लाख ९१ हजार ८८३ जनाले निकुञ्ज घुमेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्षको १२ महिनामा जम्मा एक लाख ९० हजार ४५८ जनाले निकुञ्ज घुमेका थिए । आर्थिक वर्ष सकिन चार महिना बाँकी रहँदा नै पर्यटकको संख्या अघिल्लो वर्षको भन्दा धेरै भइसकेको छ ।

दुर्लभ वन्यजन्तु एक सिंगे गैंडा, पाटे बाघ लगायतका वन्यजन्तु हेर्न रुचाउने पर्यटक चितवन निकुञ्ज घुम्न आउँछन् । आवश्यक प्रक्रिया पुर्‍याएर निकुञ्जभित्र पैदल हिँड्ने, जिप सफारी या सामुदायिक वनमा हात्ती सफारी गर्दछन् ।

पर्यटकको कुल संख्या र स्वदेशी पर्यटकको संख्या उल्लेख्य बढे पनि विदेशी पर्यटकको संख्या विस्तारै सुधार हुँदै गएको छ ।

गएको आर्थिक वर्षमा निकुञ्ज घुम्नेमध्ये सार्क राष्ट्र बाहेकका विदेशी पर्यटक १४ हजार ८०८ जना थिए । यो वर्ष फागुनसम्म सार्क राष्ट्र बाहेकका ३२ हजार विदेशी पर्यटककले निकुञ्ज घुमेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए ।

विगतमा चितवन निकुञ्ज घुम्न वर्षमा सवा लाख विदेशी पर्यटकहरु आउने गरेको निकुञ्ज कार्यालयको तथ्यांक छ । त्यसैले अहिलेको संख्या खासै सन्तोषप्रद भने हैन । तर हालै चीनले आफ्ना नागरिकहरुले घुम्न सक्ने देशभित्र नेपाल पनि समावेश गरेका कारण आउँदा दिनहरुमा अवस्था राम्रो हुने सम्भावना भने छ । विगतमा चितवन निकुञ्ज घुम्न आउने विदेशी पर्यटकमध्ये ६० प्रतिशत चिनिँयाहरु हुने गर्दथे ।

प्रकाशित : चैत्र १५, २०७९ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?