प्रदेश र प्रतिनिधिसभा पाँचै वर्ष टिकाउनुपर्छ : मुख्यमन्त्री जम्कट्टेल

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जनप्रतिनिधिमूलक संस्थामा संविधानले तोकिए अनुसार कार्यकाल पूरा गर्ने वातावरण तयार गर्न जरुरी रहेको औंल्याएका छन् । शुक्रबारको प्रदेशसभा बैठकमा विश्वासको मत माग्दै उनले प्रदेश र प्रतिनिधिसभा पाँचै वर्ष टिकाउन जरुरी रहेको औंल्याएका छन् ।

‘संविधानले दिएको सीमासम्म कार्यकाल पूरा गर्ने वातावरण हामीले बनाउनुपर्नेछ,’ उनले भने,‘ कसैको बहुमत नहुँदा पनि मिलिजुली सरकार बनाएर, कम्तीमा पाँच वर्ष संविधानले दिएको समय सीमासम्म नेपालको राजनीतिक दलहरुले आफ्नो सुझबुझका साथ स्थिरता देशमा कायम गर्न जरुरी छ ।’

मुख्यमन्त्री जम्कट्टेलले सरकार परिवर्तन भएर मात्र अस्थिरता नहुने बताए । ‘अस्थिरताको मूल पक्ष भनेको जनप्रपतनिधिको मूलक संस्था समयभन्दा अगाडि विघटन गरेर चुनाव गर्न खोज्नु हो ।’, उनले एमालेप्रति लक्षित गर्दै भने ।

जम्कट्टेललाई कांग्रेस ३७, माओवादी केन्द्र २१, नेकपा (एस) ७ र हाम्रो नेपाली दलका २ सांसदले विश्वासको मत दिने भएका छन् । ११० सदस्यीय प्रदेशसभामा ५६ मत भएको खण्डमा बहुमत पुग्छ ।

केन्द्रीय सत्ता समीकरणमा भएको परिवर्तनसँगै राप्रपा प्रदेश सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो । राप्रपाले सरकारमा सहभागी आफ्ना तीन मन्त्रीलाई फागुन १३ गते फिर्ता बोलाएकाले चैत १२ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने सरकारसँग बाध्यता थियो ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेताले जम्कट्टेल नेतृत्वको सरकारलाई विश्वासको मत नदिने घोषणा गरेका छन् । एमाले दलका नेता जग्गनाथ थपलिया, राप्रपाका उद्धब थापा र नेमकिपाका सुरेन्द्रराज गोसाईंले मुख्यमन्त्री जम्कट्टेलले मागेको विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका हुन् । सदनमा एमालेको २७, राप्रपाको १३ र नेमकिपाको ३ मत रहेको छ । तीनवटा दलले मुख्यमन्त्रीलाई विश्वासको मत नदिए पनि सहजै बहुमत पुग्ने देखिएको छ ।

प्रकाशित : चैत्र १०, २०७९ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्

साढे १२ प्रतिशत ब्याज दिँदा पनि बिकेन वैदेशिक रोजगार बचतपत्र

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल राष्ट्र बैंकले १२.५० प्रतिशत ब्याजदर दिँदा पनि वैदेशिक रोजगार बचतपत्र बिक्री हुन सकेन । चैत १० देखि गणना हुनेगरी जारी भएको ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्रमा जम्मा २ करोड २४ लाख रुपैयाँ बराबरको मात्रै बिक्री भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार माग गरिएभन्दा जम्मा ४.४९ प्रतिशत मात्रै वैदेशिक रोजगार बचतपत्र बिक्री भएको हो ।

वैदेशिक रोजगारमा गएकालाई लक्षित गर्दै राष्ट्र बैंकले साढे १२ प्रतिशत ब्याजदरमा ५ वर्षे अवधिको बचतपत्र जारी गरेको थियो । वैदेशिक रोजगार बचतपत्रमा राष्ट्र बैंकले दिएको साढे १२ प्रतिशत ब्याजदर हालसम्मकै उच्च हो भने बैंकहरूले मुद्दतीमा दिनेभन्दा पनि बढी हो । हाल बैंकहरूले व्यक्तिगत मुद्दतिमा जम्मा ११ प्रतिशतसम्म मात्रै ब्याज दिँदै आएका छन् । अहिले मात्रै नभएर यसअघि निस्कासन भएका कुनै पनि वैदेशिक रोजगार बचतपत्रमा माग गरेजतिको लागि आवेदन परेको छैन । हालसम्म निस्कासन भएका वैदेशिक रोजगार बचतपत्रमा माग गरेको भन्दा औसत ५.२ प्रतिशत रकमका लागि मात्रै आवेदन परेको राष्ट्र बैंकको तथ्यांक छ ।

यस्तो बचतपत्रमा लगानी गर्नेले कम्तीमा १० हजार रुपैयाँ लगानी गर्नुपर्छ । लगानीवापतको ब्याज ६–६ महिनामा पाइन्छ । आफूले इच्छाएको व्यक्तिमार्फत पनि नेपालमा ब्याज लिन सकिन्छ । मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुबा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी)को नाममा पनि खरिद गर्न सकिन्छ । यस्तो बचतपत्र बैंकमा धितो राखेर आवश्यक परेका बेला ऋण समेत पाइन्छ । यसको जोखिम पनि न्यून हुन्छ ।


प्रकाशित : चैत्र १०, २०७९ १५:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×