१० वर्षमा पनि पुल नबनेपछि सिन्धुलीको फिक्कलमा दिनहुँ चक्काजाम- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१० वर्षमा पनि पुल नबनेपछि सिन्धुलीको फिक्कलमा दिनहुँ चक्काजाम

राजकुमार कार्की

सिन्धुली — निर्माण सुरु भएको दशक बित्दासमेत पुल अलपत्र परेपछि मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–६ मा स्थानीयले दबाबस्वरुप दिनहुँ यातायात अवरुद्ध गर्दै आएका छन् ।

राजमार्गको सोखुखोलामा निर्माणाधीन पक्की पुल छिटो सम्पन्न गर्न दबाब दिने उद्देश्यले यातायात अवरोध गर्नुपरेको स्थानीयको भनाइ छ ।

शुक्रबार तीनघण्टा चक्काजाम गरेका स्थानीयले शनिबार बढाएर बिहान ८ बजेदेखि दिउँसो एक बजेसम्म पुर्‍याएका छन् । चक्काजामका कारण मध्यपहाडी राजमार्ग भएर ओखलढुङ्गा, सोलुखुम्बु,भोजपुर, उदयपुर र सिन्धुलीबाट राजधानी आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बाटैमा अलपत्र परेका छन् ।

स्थानीय रामप्रसाद भण्डारीका अनुसार पुल निर्माण ठेक्का सुरुमा पप्पु कन्स्ट्रक्सन पाएको थियो । पप्पुले अलपत्र पारेर छाडेपछि ठेक्का तोडेर लोहनी–आत्रेय जेभीलाई दिइएको थियो । जेभीले तीन वर्ष बित्दासमेत सम्पन्न नगरेपछि स्थानीयहरु चक्का जाम गरेर आन्दोलनमा उत्रिएका हुन् । तत्काल निर्माण कार्यको थालनी गरी सम्पन्न गर्ने वातावरण तयार नभए दिनहुँ यातायात अवरोध गरी दबाब दिइने स्थानीय भण्डारीले जनाए ।

गाउँपालिका अध्यक्ष पार्वती सुनुवारका अनुसार पुल निर्माण सम्पन्न गर्नका लागि सम्बन्धित निकायमा बारम्बार ताकेता गर्दा पनि बेवास्ता गरिएको छ । पुलको पिल्लर ढलान भएको स्ल्याभसमेत पूरा भएको छैन । सोखुखोलामा पुल नहुँदा वर्षा आउने बाढीले यातायात अवरुद्ध हुने गरेको छ ।

प्रकाशित : चैत्र ४, २०७९ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्

सुर्खेत उडेको बुद्धको जहाज प्राविधिक समस्यापछि बीचबाटै काठमाडौं फर्कियो

कान्तिपुर संवाददाता

काठमाडौँ — सुर्खेतका लागि उडेको बुद्धको जहाज प्राविधिक समस्या देखिएपछि ३२ मिनेटमै काठमाडौं फर्किएको छ । शनिबार बिहान त्रिभुवन विमानस्थलबाट ८ बजेर १६ मिनेटमा उडेको बुद्धको ९ एन–एएमडी कलसाइन भएको जहाजको इन्डिकेटरमा प्राविधिक समस्याको संकेत देखिएपछि ८ बजेर ४५ मिनेटमा काठमाडौं फर्किएको त्रिभुवन विमानस्थलका एक अधिकारीले बताए ।

बुद्ध एयरका अधिकारीहरुले भने गतिबारे जानकारी दिने यन्त्र स्पिडोमिटरमा समस्या देखिएपछि जहाज फर्काइएको बताएका छन् । जहाजमा ६२ जना सवार थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्गत फ्लाइट सेफ्टी स्टयान्डर्ड विभागले उक्त जहाज र मर्मतमा संलग्न प्राविधिकलाई तत्कालका लागि ग्राउन्डेड गर्न पत्राचार गरेको छ । बुद्धले जहाजको समस्या जाँच गरी मर्मत सम्भार गरेर मात्र उडाउने बताएको छ । उक्त जहाजका यात्रुहरूलाई बुद्धले १० बजेर १६ मिनेटमा अर्को जहाजमा राखेर सुर्खेत पठाएको जनाएको छ ।

यसअघि गत फागुन अन्तिम साता श्री एयरलाइन्सको जहाजमा पनि प्राविधिक समस्या देखिएपछि श्रीका सबै जहाजहरू ग्राउन्डेड गरी अनुसन्धान थालिएको थियो ।

प्रकाशित : चैत्र ४, २०७९ ११:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×