कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

श्रीमान्‌सँगै उनको कमाइ पनि गुमाएको पीडा

लक्ष्मी साह

बारा — कलैया उपमहानगरपालिका–११ विश्वम्भरपुरकी २६ वर्षीया रम्भाकुमारी कुसवाहाको प्रसौनी–७ बन्जरियाका ३० वर्षीय सन्दीपप्रसाद कुसवाहासित मागी विवाह भयो । २०७८ जेठ १५ मा उनीहरूको विवाह भएको हो । चार कक्षासम्म मात्रै पढेकी रम्भा अहिले नाबालिक डेढ वर्षीया छोरीका साथ माइतीमै बसेकी छन् । 

श्रीमान्‌सँगै उनको कमाइ पनि गुमाएको पीडा

विवाह भएको केही महिनामै सन्दीप वैदेशिक रोजगारीका क्रममा साउदीको रियाद सहर पुगेका थिए । सडक निर्माणका लागि एक्साभेटर चलाउँदै गर्दा २०८० वैशाख २४ मा दुर्घटनामा परेर उनको घटनास्थलमै मृत्यु भयो ।

त्यतिबेलासम्म उनले कमाएको १२ हजार ५९ रुपैयाँ अर्थात् त्यतिबेलाको सटही दरअनुसार ४ लाख २६ हजार रुपैयाँ जम्मा भएको रहेछ । श्रीमान्‌ले कमाएको त्यही रकम पनि रम्भाले अहिलेसम्म पाएकी छैनन् ।

श्रीमान्को वियोगले त सताएकै छ, त्यसमाथि उनले कमाएर जम्मा गरेको पैसा नपाउँदा आफू बेसहारा बनेको उनले सुनाइन् । रियादका लागि नेपाली दूतावासले ३५ जना नेपालीले कमाएको रकम नेपालस्थित ‘कन्सुलर’ विभाग काठमाडौं त्रिपुरेश्वरमा २३ जुन २०२३ मा पठाएको विवरणमा सन्दीपले कमाएको उक्त रकम पनि उल्लेख छ । तर, घटना भएको एक वर्ष हुन लाग्दा पनि उक्त रकम आफूले नपाएको रम्भाले बताइन् ।

‘श्रीमान्‌को विदेशमा मृत्युपछि परिवारले घरमा बस्न नदिएर माइतीमा बसेकी छु, उता श्रीमान्ले कमाएको पैसा पनि पाएकी छैन,’ उनले भनिन्, ‘सानो बच्चा लिएर बेघर भई माइतीमा गुजारा गर्दैछौं । सरकार वा कम्पनीबाट पाउनुपर्ने क्षतिपूर्ति त परै जाओस्, श्रीमान्‌ले पसिना बगाएर कमाएको रकम पनि ‘कन्सुलर’ विभागबाट पाउन सकिनँ ।’

पैसा पाउनका लागि रम्भाले सम्पूर्ण कागजात ‘कन्सुलर’ विभागमा बुझाइसकेकी छन् । ‘तर कन्सुलर विभागले कहिले पैसा आइसकेको छ अब दिन्छौं भन्छ त कहिले छलफल हुँदैछ भनेर टारिरहेको छ,’ रम्भाले भनिन्, ‘अलमल्याएर राखेको छ । दुई पटक काठमाडौं गएँ । तर, पैसा पाइनँ ।’

बहिनीलाई ससुरालीमा उनका जेठाजु, सासू र ससुराले बस्न नदिएको रम्भाका दाजु राजेश कुसवाहाले बताए । ‘घटनाको दिन बहिनीसित ज्वाइँको कुरा भएको रहेछ, कमाएको पैसा जम्मा गरेर राखेको छु भनेका थिए रे,’ उनले भने, ‘बहिनीको जीवन दुर्भाग्यमै बितिरहेको छ । जसोतसो घरमा सानी भान्जी (चुनुमुनु) र बहिनीको गुजारा चलाउँदै छु ।’

ज्वाइँ बितेपछि बहिनीलाई ससुराली घर जाँदा बस्नै नदिने गरी दुःख दिएको पनि उनले बताए । ‘बहिनीको ज्यानै खतरामा परेको देखेपछि माइतीमै ल्याएर राखेका हौं,’ उनले भने, ‘समाजको सहयोगले गत साउनमा बहिनीको विवाह दर्ता र नागरिकता बनाएका थियौं ।’ भाइबुहारीलाई घरमा त्यस्तो कुनै समस्या नभएको रम्भाका जेठाजु प्रदीप कुसवाहाले बताए । ‘बुहारी आफैं माइतीमा गएर बसेकी हुन्,’ उनले भने, ‘आफ्नो राजीखुसीले गएकालाई के भन्ने ?’

प्रकाशित : चैत्र २१, २०८० १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?