कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

मधेशमा एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

अजित तिवारी

जनकपुर — गत निर्वाचनमा पर्सा ३ (क) बाट लोकप्रिय मत ल्याएर निर्वाचित स्वतन्त्र प्रदेश सांसद प्रमोदकुमार जयसवाल शनिबार एमालेको कोटाबाट मन्त्री बनेका छन् । उनले यसअघि जसपा सरकारलाई समर्थन दिएका थिए ।

मधेशमा एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

प्रदेश सांसद जितेदेखि नै मन्त्री पद ताकिरहेका जयसवालको जसपाबाटै मन्त्री बन्ने जोडबल थियो । मन्त्री बनेपछि जयसवालले भने, ‘काम गर्ने मेरो इच्छा थियो, एमालेले अवसर दियो । अनि मन्त्री बनें ।’

केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेशमा मुख्यमन्त्री सरोजकुमार यादवले गत साता नै कांग्रेसलाई हटाएर सरकारमा एमालेलाई भित्र्याएका थिए । मुख्यमन्त्रीसहित ११ मन्त्रालय रहेको मधेश प्रदेशमा एमालेले चार मन्त्रालयमा दाबी गरेको थियो । तर, मुख्यमन्त्री यादव भने एमालेलाई ३ मन्त्रालय मात्रै दिने योजनामा थिए । एमाले स्रोतका अनुसार जयसवाललाई एमाले कोटाबाट मन्त्री बनाउन मुख्यमन्त्री यादवले पनि जोडबल गरेका थिए । ‘स्वतन्त्र सांसद जयसवाललाई मन्त्री बनाए एमालेलाई ४ मन्त्रालय दिने, नभए ३ मात्रै दिने मुख्यमन्त्रीज्यूको अडान थियो,’ एमालेका एक प्रदेश सांसदले भने, ‘हाम्रै पार्टीभित्र मन्त्री बन्न धेरै सांसदको इच्छा थियो । तर जयसवाललाई मन्त्री बनाउन पार्टी बाध्य भयो ।’ जयसवाललाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

शनिबार मधेश सरकारमा एमालेबाट थपिएका तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तार गर्दै नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण तथा मन्त्रालय बाँडफाँट गरेका हुन् । गत सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादव (महोत्तरी) लाई मन्त्री बनाउँदै मुख्यमन्त्री यादवले कांग्रेससँग रहेको सत्ता समीकरण फेरेका थिए । एमाले प्रदेश सांसद राजकुमार लेखीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालय, शत्रुधन सिंहलाई स्वास्थ्य तथा जनसंख्या र जयसवाललाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको छ । एमालेका सांसद केशव रायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

एमालेबाट गृह, सञ्चार तथा कानुनमन्त्री बनेका लेखी यसअघि मधेश सरकारमा प्रदेश मामिला तथा कानुनमन्त्री थिए । लेखी यसअघिका मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा मधेश प्रदेशका नीति तथा योजना आयोगका सदस्यसमेत थिए । स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका सिंह भने यसअघि प्रदेश सरकारमा गृह तथा सञ्चारमन्त्री बनेका थिए । एमालेले यसअघि छोटो अवधिमै मन्त्री पद गुमाएका संसदीय दलका नेता यादव, लेखी र सिंहलाई नै मन्त्रीमा दोहोर्‍याएको छ । थपिएको एक मन्त्रालयमा भने एमालेले स्वतन्त्र सांसदलाई प्रवेश गराएर मौका दिएको छ । स्वतन्त्र सांसद जयसवाल एमालेमा प्रवेशसँगै मधेश प्रदेशमा एमालेका प्रदेश सांसद संख्या २४ पुगेको छ । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराइन् ।

प्रकाशित : चैत्र १०, २०८० १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?