कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

जनकपुरमा होली कहिले ? 

अजित तिवारी

जनकपुर — आइतबार पहाडमा र सोमबार तराई/मधेशमा होली पर्व मनाइँदै छ । तर, जनकपुरमा मंगलबार मनाउने कि बुधबार भन्ने बहस चलिरहेको छ । होली पर्व जनकपुरमा मंगलबार वा बुधबार सार्ने प्रयत्न हुनुका दुई कारण छन् । 

जनकपुरमा होली कहिले ? 

पहिलो कारण : होली पर्वको १५ दिनअघि सुरु हुने मिथिला माध्यमिकी धार्मिक परिक्रमा आइतबारमात्र जनकपुर आइपुग्छ । परिक्रमाकर्मी आइतबार जनकपुर आएपछि दिनभर रंगभूमि मैदानमा विश्राम गरेर भोलिपल्ट सोमबार बिहानमात्रै अन्तरगृह परिक्रमा गर्नेछन् । धार्मिक चलनअनुसार अन्तरगृह परिक्रमा गरिएको भोलिपल्ट मात्र जनकपुरमा होली मनाइन्छ । सोमबार बिहान अन्तरगृह परिक्रमा घुमेपछि जनकपुरमा धार्मिक चलनअनुसार नै मंगलबार होली पर्व मनाउनुपर्ने हो ।

बुधबार किन सार्ने त ? यो दोस्रो कारण खानपानसँग जोडिएको छ । धार्मिक सहर जनकपुरमा आइतबार, मंगलबार र बिहीबार घरमा माछामासु चल्दैन । होली पर्वमा मासु खानुपर्ने भएकाले धेरैजसोले होली जनकपुरमा बुधबार मनाउनुपर्ने तर्क गरिरहेका छन् । होली निर्धारित दिनभन्दा पछि सार्न खोजिएको यो जनकपुरमा पहिलोपटक भने होइन । अन्तरगृह परिक्रमा जनकपुर घुमेको भोलिपल्ट आइतबार, मंगलबार वा बिहीबार पर्ने बेलामा भने यहाँ यसअघि पनि होली पर्व अनुकूल (माछामासु खाने) दिन सार्ने गरिएको छ ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले अन्तरगृह परिक्रमा घुमेको भोलिपल्ट अर्थात् मंगलबार नै जनकपुरमा होली पर्व मनाउन आह्वान गरेका छन् । भिडियो सन्देशमार्फत उनले बैष्णव संघको प्रतिनिधिका रुपमा आफूले होली पर्व मंगलबार नै मनाउन अपील गरेका हुन् । ‘जनकपुरको होली परिक्रमासँग जोडिएको छ,’ उत्तराधिकारी महन्थ दासले भने, ‘यसपाली जनकपुरमा मंगलबार होली पर्व हुनेछ । मंगलबार होली कसरी मनाउने धेरैको मनमा छ । होली महोत्सव सीतारामको रंग हो । त्यसैले मंगलबार मनाउन अपिल गर्छु ।’ उनका अनुसार खानपिनका लागि अरु दिन रहे पनि त्यही निहुँमा मंगलबार जनकपुरमा होली नमनाउने तर्क उपयुक्त छैन ।

१५ दिने परिक्रमाको किशोरीजीको डोलाका महन्थ नवलकिशोर दासका अनुसार तिथिमितिअनुसार जनकपुरमा मंगलबार नै होली पर्व मनाइने बताए । ‘परिक्रमा आइतबार जनकपुर आइपुग्नेछ । सोमबार अन्तरगृह घुमेर मंगलबार जनकपुरमा होली मनाइनेछ,’ परिक्रमाकर्मीसँगै रहेका महन्थ दासले कान्तिपुरसँग भने, ‘मंगलबार काटमार हुँदैन भनेर बुधबार होली सार्नु कुतर्क हो । यो मिथिलाको होलीलाई बिर्गोने बहाना हो । मिथिलाको होलीमा खीर, पुरी, काजु किसमिस खाने हो । माछामासु खाने मिथिलाको परम्परा नै होइन ।’

१५ दिने परिक्रमा जनकपुर आइतबार आइपुग्नेछ । सोमबार पूर्णिमा पर्छ । पूर्णिमाको दिन अन्तरगृह परिक्रमा गरिनेछ । यसअनुसार जनकपुरमा मंगलबार होली पर्व मनाइनेछ । फागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिलाबिहारीको डोला र जनकपुरको रत्नसागर तथा अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको सुरुवात हुन्छ । नेपालको ९० किलोमिटर र भारतको ३० किलोमिटर गरी १ सय २० किमि दूरी परिक्रमा गरिन्छ ।

जनकपुरमा होली पर्व सोमबार, मंगलबार वा बुधबार कहिले मनाउने टुंगो नलाग्दा अन्योल बढेको छ । यहाँका शैक्षिक संस्थाहरुले भने होली पर्वको अन्योलकै कारण आइतबारदेखि साताभरि बिदा दिएका छन् । जनकपुरको मोडल मल्टिपल कलेजका प्रशासन प्रमुख प्रदीप लालले बुधबार जनकपुरमा त्रिभुवन विश्वविद्यालय र बिहीबारदेखि एसईई परीक्षा प्रारम्भ हुने भएकाले माछामासुकै कारण होली बुधबार सार्न नहुने बताए । उनले समाजिक सञ्जाल फेसबुकमा होलीका दिन ‘माछामासु र रक्सी’लाई महत्व दिनुको साट्टो परीक्षाको ख्याल गरिदिन आग्रह गरेका छन् । उनले लेखेको स्ट्याट्समा योजना आयोगका पूर्वसदस्य सुरेन्द्र लाभले कमेन्ट गर्दै लेखेका छन्, ‘जनकपुरमा सोमबार होली भए राम्रो ।’

जनकपुरको युवाहरुको अग्रणी संस्था महावीर युवा कमिटीका अध्यक्ष अजयकुमार गुप्ताले जनकपुरमा होली पर्व कहिले मनाउने विषय स्थानीय सरकारले टुंगो लगाउनुपर्ने माग गरे । उनले परम्परा र संस्कृतिअनुसार जनकपुरमा मंगलबार होली मनाउनुपर्ने बताए । ‘खानपानका कारण जनकपुरको होली सार्ने गरिएको हो । यो राम्रो होइन,’ गुप्ताले भने, ‘जनकपुरधाम उपमहानगरपालिकाले यो विषय टुंगो लगाउनुपर्छ ।’

जनकपुरका मेयर मनोज साहले जनकपुरमा मंगलबार होली मनाइने बताए। उनले भने, 'माछा मासु र मदिरा खानेलाई हरेक दिन होली हुन्छ ।जनकपुरमा चाहिाँ मंगलबार होली मनाऔं ।'

प्रकाशित : चैत्र ९, २०८० १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?