२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

गाउँलेको सहयोगमा सेनाले निभाए वनको डढेलो 

सर्लाही — सर्लाहीको चुरे क्षेत्रमा पर्ने आँपटार बस्ती नजिक आइपुगेको डढेलो स्थानीयको सहयोगमा नेपाली सेनाले निभाएका छन् । बस्ती तर्फ सल्कदै गएको आगो दुई दिन लगाएर निभाइएको हो । 

गाउँलेको सहयोगमा सेनाले निभाए वनको डढेलो 

बागमती नगरपालिका–११ पर्ने आँपटार बस्ती नजिकका हरिहरक्षेत्र र पशुपति सामुदायिक वनमा लागेको डढेलो बस्ती तर्फ सल्कने जोखिम बढेपछि नेपाली सेनाको भैरवीदल गणका सेना र स्थानीय वासिन्दा मिलेर आगो नियन्त्रणमा लिएका हुन् ।

साबेलले माटो हालेर तथा हरियो स्याउला लगायतका सामग्रीले वनमा लागेको डढेलो निभाइएको सेनाले जनाएको छ । आगो नियन्त्रणका लागि कर्मैया पोस्टका कमाण्डर हस्त बहादुर थापाको कमाण्डमा २५ जना सेना तथा बस्तीका गाउँलेको सहयोगमा आगो नियन्त्रणमा लिइएको भैरवीदल गणका गणपति कर्णेल सूर्य वहादुर कार्कीले जानकारी दिए । उनका अनुसार बस्ती नै जोखिममा परेका जानकारी आएपछि सेना परिचालन गरि वनमा लागेको डढेलो नियन्त्रणमा लिइएको हो ।

सुक्खापन बढेसँगै जिल्लाको चुरेभेगमा पर्ने वन जङ्गलमा डढेलो लागिरहेको छ । कतिपय स्थानमा वन उपभोक्ता समितिले अगुवाइ गरेर डढेलो निभाउने प्रयास गरेपनि उनीहरुको नियन्त्रण भन्दा बाहिर छ । फूलजोर बाबा साझेदारी वन, लालबन्दी साझेदारी वन, जानकीनगर साझेदारी वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणका लागि स्थानीय र उपभोक्ता नै बढी सक्रिय र सचेत हुनुपर्ने डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ । वन क्षेत्रका जानकार रहेका रजनीकान्त झाले वन कार्यालय र उपभोक्ता समिति दुवैले आ–आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्दा वनहरुमा लागेको डढेलो नियन्त्रणमा आउन नसकेको बताए ।

उनका अनुसार वनमा लागेको डढेलोले काठ नस्ट हुने, बातावरणमा असर पर्ने भएकाले डिभिजन वन कार्यालय नै बढी सजग हुनुपर्छ । झाले सुक्खा मौसममा वन हेरालुको संख्या दोब्बर पार्न वन कार्यालय तथा उपभोक्ता समितिलाई आग्रह गरे ।

प्रकाशित : चैत्र ३, २०८० १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?