कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

निजगढको बिष्फोट : पक्राउ परेकामाथि कर्तव्य ज्यान कसूरमा अनुसन्धान

लक्ष्मी साह

बारा — निजगढ बजारको शहिद चोकमा तीन जनाको ज्यान जाने गरी सोमबार भएको शंकास्पद धातु बिष्फोट घटनामा पक्राउ परेका दुई जनामाथि प्रहरीले कर्तव्य ज्यान कसुरअन्तर्गत् अनुसन्धान थालेको छ । प्रहरीले घटनापछि पक्राउ परेका कवाड मालिका भारतीय नागरिक राज भनिने रमेश जयसवाल र निजगढ-९ का २६ वर्षीय टिकाराम पाख्रिङलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाएको हो । 

निजगढको बिष्फोट : पक्राउ परेकामाथि कर्तव्य ज्यान कसूरमा अनुसन्धान

उनीहरुविरद्ध अनुसन्धानका लागि मंगलबार जिल्ला अदालतले ७ दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

निजगढमै रहेको आफ्ना कवाडबाट कवाड मालिक रमेशले ती शंकास्पद धातुबाट तामाको तार निकाल्न लेथमा काट्न लगेपछि काट्ने क्रममा बिष्फोट हुँदा लेथ सञ्चालक रेशम मगरसहित तीन जनाको मृत्यु भएपछि थप अनुसन्धानको क्रममा त्यस कसुरमा हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । धातु काटिरहेको अवस्थामा बिष्फोट भएको थियो । ती बिष्फोटक धातु काट्न लग्ने कवाड मालिक रमेश र धातु बिक्री गर्ने पाख्रिङलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले बिष्फोटको घटनाको सुरुमा लेथमा ग्याँस सिलिण्डर पडकेर भएको बताए पनि पछि शंकास्पद धातु बिष्फोट भएको दाबी गर्दै घटनाको अनसन्धान गरिरहेको छ । बिष्फोटक धातुको यकिन हुन सकेको छैन । बिष्फोटक धातुको परीक्षणपछि यकिन हुना साथ बिष्फोटक पदार्थ कसुरअन्तर्गतसमेत अनुसन्धान गरिने उनले बताए ।

बिष्फोटबाट कबाड मालिक रमेशसमेत घाइते छन् । उनको अनुहार जलेको छ । उनी प्रहरी हिरासतमा छन् । उनी एम्बुलेन्समा भारत भाग्ने क्रममा कोल्हबीबाट र पाख्रिङ निजगढबाट पक्राउ परेका हुन् ।

‘धातुको ‘फोरेन्सिक’ परिक्षणपछि यकिन हुन्छ,’ प्रहरी नायब उपरीक्षक न्यौपानेले भने, ‘कबाड साहुले तामा निकाल्ने लोभमा धातु लिएर लेथमा काट्न लगेका थिए ।’

प्रहरी नायब उपरीक्षक न्यौपानेकाअनुसार वर्कशपका सञ्चालक निजगढ नगरपालिका ५ का ४५ बर्षीय रेशम मगर, वीरगन्ज महानगर ९ का २० बर्षीय रितु रजत र भारत, विहार गवाईका ३५ वर्षीय राकेश जयसवालको मृत्यु भएको हो । घटनामा अर्का एक भारतीय नागरिकसहित तीन जना घाइते भएको उनले बताए । उनकाअनुसार रेशम र राकेशको सोमबार मृत्यु भयो भने रितुको मंगलबार मृत्यु भएको हो ।

भारत विहार रमघडवाका घाइते २० वर्षीय अरबिन साहको बयोधा अस्पतालमै आइसीयूमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ । अन्य घाइते वीरगन्ज-९ कै ३४ वर्षीय फिरोद देवान र गम्भीर घाइते अरबिनको पनि बयोधा अस्पतालमै उपचार भइरहेको छ । समान्य घाइते भएका निजगढ-५ का अर्का ४५ वर्षीय सुर्यबहादुर थापाको निजगढको सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : फाल्गुन १६, २०८० १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?