कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्सामा गहुँको उत्पादन घट्यो 

शंकर आचार्य

पर्सा — जिल्लामा यस वर्ष गहुँको उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्र पर्साको तथ्यांक अनुसार यस वर्ष अघिल्लो बर्षको तुलनामा झण्डै १५ हजार टन गहुँ उत्पादन घटेको छ । यस वर्ष २६ हजार ६५ हेक्टरमा गहुँ खेती गरिएकोमा प्रति हेक्टर २ दशमलव ७ टनको दरले ७० हजार ३ सय ७५ दशमलव ५ टन गहुँ उत्पादन भएको छ । 

पर्सामा गहुँको उत्पादन घट्यो 

गत वर्ष २६ हजार ५० हेक्टरमा प्रति हेक्टर ३ दशमलव ०३ टनको दरले ८५ हजार ९ सय ६५ टन गहुँ उत्पादन भएको थियो । केन्द्रका सूचना अधिकृत सुरेन्द्र प्रसाद कुर्मी यस वर्ष हिउँदे वर्षा नहुनु नै गहुँ उत्पादन घट्नुको प्रमुख कारण रहेको बताउँछन् । ‘किसानले जसोतसो बालीमा छर्न मलको जोहो त गरे,’ उनले भने, ‘तर गहुँको बाला पसाउने बेलामा अघिल्ला वर्षहरुको जस्तो एक पटक पनि हिउँदे वर्षा भइदिएन, जसले गर्दा गहुँको दाना सुकेर चाउरियो ।’

यस वर्ष एक पटक पनि हिउँदे वर्षा नभएको उनले बताए । पछिल्लो केही वर्षयता जिल्लामा गहुँ खेतीले व्यापकता पाउँदै गएको कुर्मी बताउँछन् । ‘विगत देखिनै जिल्लामा गहुँ बाली दोस्रो प्रमुख बालीको रुपमा रहीआएको छ,’ उनले भने, ‘तर पछिल्ला केही वर्षयता भने किसानले व्यापक रुपमा गहुँ खेती गर्न थालेका छन् । यस्तै अवस्था रहे आउँदो केही वर्षभित्रै जिल्लामा गहुँ बाली धान बालीकै हाराहारीमा खेती हुन थाल्ने छ ।’

जिल्लाको ठोरी गाउँपालिका बाहेक सबै पालिकामा गहुँको खेती व्यापक रुपमा हुने गरेको उनले बताए । ‘ठोरीमा हिउँदमा तेलहन बालीको बढी खेती हुने गरेको छ,’ उनले भने, ‘ठोरीमा अधिकांश भागमा सिँचाइको समस्या रहेकाले त्यहाका किसानले गहुँभन्दा तोरी खेतीलाई प्राथमिकता दिन्छन् । गहुँ बालीलाई सिँचाइ आवश्यक हुन्छ तर तोरी बालीलाई सिँचाइको आवश्यकता हुदैन र वन्यजन्तुले पनि यो बालीलाई नष्ट गर्दैनन् ।’


प्रकाशित : वैशाख ८, २०८० १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?