कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४०

६ लाख ऋण, साढे ३३ लाख तिर्दा पनि सिद्धिएन

पीडित भन्छन्- ‘बैंक भौचर, पैसा लिएको तमसुकलगायत सबै कागजात सुरक्षित छ, मैले न्याय पाउनुपर्छ
सुनीता बराल

महोत्तरी — महोत्तरी औरही–१ का गोविन्द चौधरीले घर चलाउन साहुबाट २०६८ मा ५ लाख ऋण लिएका थिए । ऋण दिने रामगोपालपुर–७ का सुशीलकुमार चौधरीलाई एक महिनामै राष्ट्रिय वाणिज्य बैंकमार्फत अढाई लाख रुपैयाँ फिर्ता पनि गरे ।

तिर्न बाँकी अढाई लाखमा थप गर्दै सुशीलबाटै एक महिनापछि उनले १ लाख १० हजार ऋण लिए । कुल ६ लाख १० हजार ऋण लिएर अढाई लाख फिर्ता गरेका उनले तिर्न बाँकी ३ लाख ६० हजार र ब्याज रकम थियो । तर, बाँकी ऋण समयमा तिर्न नसकेपछि सावाँ र ब्याज गरी ३६ लाख भएको भन्दै सुशीलले निरन्तर दबाब दिन थाले ।

गोविन्दले ऋण लिँदा आफ्नो १० कट्ठा १५ धुर जग्गासमेत दृष्टिबन्धक राखेका थिए । ‘साहुले पहिलो पटक ३६ लाख तिर्नुपर्छ भनेर दबाब दिएपछि म छाँगाबाट खसेजस्तै भएँ,’ गोविन्दले भने, ‘बाँच्नै नदिएपछि पटक पटक राष्ट्रिय वाणिज्य बैंकमार्फत २४ लाख तिरें, त्यसपछि पनि मलाई गाउँको पञ्चायतले ७ लाख तिराएर थप अन्यायमा पार्‍यो । मलाई उठीबास बनाइदियो ।’ सबै पैसा बैंकमार्फत बुझाएको भौचर, पैसा लिएको तमसुकलगायतका अन्य कागजात आफूसँग रहेको उनको भनाइ छ । ‘म यति धेरै रकम तिर्न सक्दिनँ भन्दा साहुले कि पैसा तिर कि मर भनेका थिए । बाँच्नका लागि डराईडराई जग्गा बेचेरै ब्याजसहित साढे ३३ लाख रुपैयाँ बुझाएँ,’ उनले भने, ‘सबै कारोबारको प्रमाण प्रस्ट छ, मैले न्याय पाउनुपर्छ ।’

अहिले जिल्लामा ‘मिटरब्याजी ठगी विरोध किसान मजदुर संघर्ष समिति’ बनाएरै गोविन्द त्यसको नेतृत्व गरिरहेका छन् । आफूजस्तै जिल्लामा ठगिएका ५० भन्दा बढी पीडितको न्यायको आन्दोलन जारी रहेको उनले सुनाए । महोत्तरीमा मिटरब्याजसम्बन्धी तीन सय उजुरी परिसकेको छ । तीमध्ये १ सयभन्दा बढी उजुरीका सम्बन्धित व्यक्तिलाई छलफलका लागि पत्र काटिसकिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए । अहिलेसम्म लेनदेन मिलाएर २ वटा मुद्दामा सहमति गरिएको छ । मिटरब्याजसम्बन्धी कानुन नभएकाले परेका उजुरीमा के कसरी कारबाही गर्ने भन्ने जटिलता रहेको न्यौपानेले बताए । उनका अनुसार अहिले उजुरी पर्ने क्रम जारी छ ।

जिल्ला प्रशासनमा उजुरी दिएर आफू न्याय पर्खिरहेको गोविन्दले बताए । ‘प्रशासनबाट के न्याय हुन्छ हेरौं, यहाँबाट नभए अदालत जान्छु,’ उनले भने । गरिब र विपन्नलाई झुक्याएर सजिलै जालमा पार्ने हुँदा मिटरब्याजी साहुलाई कडा कारबाही गर्नुपर्ने संघर्ष समितिको माग छ ।

प्रकाशित : फाल्गुन २४, २०७९ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?