१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

सुरु भयो जनकपुर साहित्य उत्सव

चुरे दोहन रोकिएन भने मुलुक मरुभूमि बन्‍नेछ : पूर्वराष्ट्रपति यादव
श्यामसुन्दर शशि

जनकपुर — पूर्वराष्ट्रपति डा. रामवरण यादवको ‘जनकपुर गाथा’सँगै जनकपुर साहित्य उत्सव– २०७९ को चौथो संस्करण बिहीबारदेखि सुरु भएको छ । जानकी मन्दिर प्राङणमा आयोजित तीन दिवसीय उत्सवमा विभिन्न २० सत्रमा देश विदेशका १ सय ५० भन्दा धेरै स्रष्टा सहभागी छन् ।

सुरु भयो जनकपुर साहित्य उत्सव

झण्डै आधा घन्टाको मन्तव्यमा पूर्वराष्ट्रपति डा. यादवले जनकपुरको पाँच दशकको इतिहास स्मरण गरेका थिए । उनको सम्मझनामा निराशा धेरै र आशा थोरै थियो । ‘बाल्यकालमा पिताजीसँग जानकी दर्शन गर्न आउँदा पोखरीमा नुहाउँथें । मन्दिरहरुमा दर्शन गर्थें अनि च्युरा–दही, जलेवी खाएर फर्किन्थे । अहिले यहाँका पोखरीहरु फोहरको डुंगुर बनेको छ,’ उनले भने ।

यहाँका मठ मन्दिर र पवित्र पोखरीहरु जोखिममा परेको, शिक्षाको गुणस्तर खस्केको तथा सामाजिक अवस्था संकटमा परेको उनको भनाइ थियो । ‘सरस्वती हाईस्कुल र राराव क्याम्पस नेपालकै गनिएका शिक्षालय थिए । अचेल यहाँका विद्यार्थीहरु गुणस्तरीय शिक्षाको लागि बाहिर जान बाध्य छन्,’ डा. यादवले भने ।

पछिल्लो पटक जनकपुरमा पक्की सडक र नाला बने पनि सरसफाईमा खासै सुधार हुन नसकेको उनको गुनासो थियो । डा. यादवले नगरलाई सफा सुग्घर बनाएर देशी विदेशी पर्यटकलाई आकर्षित गर्नसक्ने पर्याप्त सम्भावना रहेको बताए ।

चुरे दोहनले मुलुक मरुभूमिकरण हुने आफ्नो पुरानो भनाइ दोहोर्‍याउँदै उनले चुरे संरक्षणमा तीनै तहको सरकारको भूमिका आवश्यक रहेको बताए । डा. यादवले भने, 'हिजो खाद्यान्न निर्यात गर्ने हामी आज वार्षिक ३ अर्बको अन्न आयात गर्न बाध्य छौं । चुरे दोहन रोकिएन भने मुलुक मरुभूमि बन्नेछ ।’

२०१८ सालमा राजा महेन्द्रमाथि बम प्रहार गरिएको घटनालाई स्मरण गर्दै उनले प्रजातन्त्र र गणतन्त्र ल्याउन जनकपुरले अग्रणी भूमिका निर्वाह गरेको बताए ।

साहित्यकार राजेन्द्रप्रसाद विमलले साहित्य र राजनीति सँग अघि बढे मुलुक समृद्धितर्फ अग्रसर हुने बताए ।नव मिथिला फाउण्डेशनद्वारा आयोजित जनकपुर साहित्य उत्सवमा अंजल श्रेष्ठ, शिशिर खनाल, विजयकुमार सिंह दुनुवार, मनिष झा, ममता शर्मा, प्रदीप परियार, कुन्दन झा, गजेन्द्र बुढाथोकी, प्रकाश अर्यालसँगै गायिका मैथिली ठाकुरको पनि सहभागिता रहने आयोजक संस्थाकी प्रियंका झाले जानकारी दिइन् ।

प्रकाशित : फाल्गुन ११, २०७९ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?