कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हस्तान्तरण नहुँदै भासियो सडक

राजविराज — सप्तरीको राजविराज–कुनौली सडकखण्ड निर्माण सकिएर हस्तान्तरण नहुँदै भासिन थालेको छ । बेल्हीस्थित राजविराज भन्सार कार्यालय अगाडि करिब ५ मिटर सडक भासेर ठूलो खाल्डो नै भइसकेको छ । अन्य स्थानमा कालोपत्र उप्किन सुरु भएको छ ।

हस्तान्तरण नहुँदै भासियो सडक

हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीमार्फत कन्छाराम कन्स्ट्रक्सनले निर्माण गरेको उक्त सडक कमसल बनाइएको भन्दै स्थानीयले विरोधसमेत जनाएका छन् । सडक निर्माणका लागि सम्झौता गरिएको समय गत चैतमै सकिएको थियो । काम सकेपछि निर्माण कम्पनीले रकम भुक्तानीका लागि बिलसमेत पेस गरिसकेको छ ।

तर, भुक्तानी भने भइनसकेको हुलाकी राजमार्ग आयोजना इटहरीका इन्जिनियर सञ्जयकुमार ठाकुरले बताए । ‘छेउमा नदी भएकाले सडक भासिएको हो,’ ठाकुरले भने, ‘त्यहाँ पर्खाल लगाउनुपर्ने हुन्छ ।’ सडक निर्माणका लागि निर्माण कम्पनीले ४१ करोड ६२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ११ किलोमिटर लम्बाइको उक्त सडक निर्माण सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।

तर, दुई लेयरमा अलकत्रा हालेर गिटी हाली सडक बनाउनुपर्नेमा एक लेयर मात्र बनाइएको छ । डबल विटुविन सर्फेस ट्रिटमेन्ट (डिबिएसटी) अन्तर्गत दुई लेयरमा अलकत्रा हाली गिटी हालेर सडक निर्माण गर्नुपर्ने थियो । यसअघि आयोजनाले पनि निर्माण कम्पनीलाई उप्किएको स्थानमा मर्मतसम्भार गर्न भने पनि निर्माण कम्पनीले अटेर गर्दै आएको छ ।

निर्माण कम्पनीले ८० प्रतिशतभन्दा बढी भुक्तानी लिइसकेको छ । बाँकी भुक्तानीका लागि पनि उसले आयोजनामा ताकेता गरिरहेको छ । भारतसित जोड्ने सप्तरीको मुख्य नाका कुनौली सडक वर्षौंदेखि जीर्ण थियो । वर्षौपछि निर्माण भए पनि सडक उप्किन थालेपछि स्थानीयले कामको गुणस्तरियतामाथि प्रश्न उठाएका छन् । यसअघि सोही सडकको निर्माणमा ९० लाख रुपैयाँ नियमविपरीत खर्च भएको महालेखा परिक्षकले ठहर गरेको थियो ।

प्रकाशित : माघ १९, २०७९ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?