२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९४

अनियमितताको रकम फिर्ता

डम्बरसिंह राई

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित चम्पावती माविमा विद्यार्थी खाजाबापतको रकम अनियमितता गरेकामा नगरपालिकाले असुलउपर गरेको छ । दिवा खाजाबापतको रकम अनियमितता भएको बारे नगरपालिकाले अनुसन्धान सुरु गरेपछि ५० हजार रुपैयाँ फिर्ता भएको हो ।

अनियमितताको रकम फिर्ता

उक्त विद्यालयका निवर्तमान प्रधानाध्यापक गोविन्द पोखरेलले बढी विद्यार्थी देखाएर दिवा खाजाबापतको रकम अनियमितता गरेकामा अहिले आएर राजस्व कार्यालयको खातामा फिर्ता गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका शिक्षा शाखा प्रमुख लीला विश्वकर्माले बताए । विद्यार्थीको दिवा खाजामै अनियमितता भएको गुनासोपछि नगर प्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विसन राईलगायतको टोलीले गत पुस २१ गते विद्यालय अनुगमन गर्दा तथ्य फेला पारेको उपप्रमुख राईले बताए ।

अनुगमनका क्रममा खाजाबापतको रकम स्थानीय गाउँबेसी साना किसान कृषि सहकारीमा राखेको भन्ने जानकारी आएको तर सहकारीमा बुझ्दा त्यहाँबाट पनि निकालिएको पाइएको उपप्रमुख राईको भनाइ थियो । उक्त सहकारीकी प्रबन्धक लीला ढुंगानाले विभिन्न समयमा जम्मा गरेको रकममध्ये १ हजार ६ सय रुपैयाँ मात्र अहिले खातामा भएको बताइन् ।

उक्त विद्यालयका निवर्तमान पोखरेल प्रअ हुँदा विद्यालयको लेखा प्रणाली ध्वस्त देखिएकाले थप अनुसन्धान सुरु गरिएको उपप्रमुख राईले बताए । प्रअ जेनी राईले कार्यभार सम्हालेको ६ दिनपछि निवर्तमान प्रअ पोखरेलको हस्ताक्षरमा दिपेश पोखरेलको नामबाट गत असोज २२ गते २९ हजार रुपैयाँ निकालिएको पाइएको राईले जनाए । उक्त रकम पनि अहिले निवर्तमान प्रअ पोखरेलले जम्मा गरेका छन् । वर्तमान प्रअ राईले असोज १६ गतेको नियुक्तिपछि १७ गतेदेखि कार्यभार सम्हालेको यत्तिका दिनसम्म निवर्तमान पोखरेलले बरबुझारथ गरेका छैनन् ।

यसबाहेक उक्त विद्यालयमा बनाइएको विज्ञान प्रयोगशाला, भवन निर्माण र खानेपानी योजनामा अनियमितता भएको भन्दै छानबिन सुरु गरिएको छ । आर्थिक वर्ष २०७६/७७ मा विज्ञान प्रयोगशालामा ६ लाख ५० हजार, भवन निर्माणमा १५ लाख र खानेपानी योजनामा ७ लाख ४० हजार रुपैयाँ अनियमितता भएको भन्दै छानबिन सुरु गरिएको उपप्रमुख राईले बताए । ‘हामी निर्वाचित भएपछि शून्य सहनशीलतालाई मध्यनजर गरेर काम गरिरहेका छौं,’ उनले भने, ‘अनियमितता गर्ने जोकसैलाई पनि छाडिंदैन ।’

उक्त विषयमा छानबिनका लागि पुस १९ गते विद्यालय पुग्दा यससम्बन्धी कागजात नै गायब भएको पाइएको नगर प्रमुख भट्टराईले बताए । ‘छानबिन गर्न सम्बन्धित विद्यालय पुग्दा अनियमितता भएको भनिएको योजनाको कुनै पनि कागजात भेटिएन,’ उनले भने, ‘कागजात नभेटिएपछि वडाध्यक्ष, वडासचिव लगायतको रोहबरमा मुचुल्का गरिएको छ ।’

विद्यालयमा सञ्चालन गरिएका योजना अनुगमन गर्दा विज्ञान प्रयोगशाला खासै सञ्चालनमा नआएको, कम्प्युटर कक्षमा धेरैजसो कम्प्युटर नचल्ने देखिएको, भूकम्प पुनःनिर्माण प्राधिकरणको योजनाबाट बनेको चारकोठे भवनमाथि नै विज्ञान प्रयोगशाला र कम्प्युटर कक्ष भवन थपिएको, धाराभन्दा मुनि खानेपानी ट्यांकी बनाइएकाले विद्युत्मार्फत धारामा पानी तान्नुपर्ने भएकाले महसुलले आर्थिक भार पर्ने देखिएको, पुस्तकालय सञ्चालन नभएको लगायतका समस्या देखिएको उपप्रमुख राईले बताए । अनियमितताबारे अख्तियारमा समेत उजुरी परेको र अख्तियारले समेत छानबिन सुरु गरेको छ ।

प्रकाशित : माघ १७, २०८० १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?