कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

कोशीमा भारततर्फको सीमा स्तम्भ मर्मत गरिँदै

देवनारायण साह

(मोरङ) — कोशी प्रदेशमा नेपाल सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलले संयूक्त रुपमा नेपाल–भारत सीमास्थित सीमा स्तम्भ मर्मत तथा रंगरोगन कार्य सुरु गरेका छन् । नेपाल–भारत सीमास्थित १८६७ सीमा स्तम्भमध्ये ८२७ वटा मर्मत तथा रंगरोगन सुरु गरिएको हो । 

कोशीमा भारततर्फको सीमा स्तम्भ मर्मत गरिँदै

उक्त सीमा स्तम्भमध्ये बिजोर नम्बरको नेपाल सशस्त्र प्रहरी बलले ४८३ वटा र जोर नम्बरको भारतीय सीमा सुरक्षा बलले ३४४ वटा स्तम्भ मर्मत तथा रंगरोगन कार्य सुरु गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेड क्वाटर कंकालिनी मोरङले विराटनगर महानगर १८ दामादिगीस्थित १७७/१(६५) नम्बरको सीमा स्तम्भबाट मर्मत तथा रंगरोगन कार्य सुरु गरेको छ । उक्त गणका गणपति तिर्थबहादुर थापाले मोरङस्थित ३३ वटा सीमा स्तम्भको मर्मत शुक्रबारबाट सुरु भएको बताएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अन्जनीकुमार पोखरेलका अनुसार सुनसरी, मोरङ र झापामा जोर नम्बरका सीमा स्तम्भ मर्मत कार्य सुरु गरिसकेको र भारतीय पक्षले बिजोर नम्बरको मर्मत तथा रंगरोगन कार्य सम्पन्न गरिसकेका छन् ।

उनले सुनसरीमा १३३, मोरङमा ३३ र झापामा ३१७ गरी ४८३ वटा सीमा स्तम्भको मर्मत कार्य डेढ महिनाभित्र सम्पन्न गरिने बताए ।

उक्त सीमा स्तम्भमध्ये १९९ वटाको रंगरोगन, २२१ वटाको सामान्य मर्मत, ५९ वटाको मध्यम मर्मत र ४ वटाको पूर्ण मर्मत गर्नुपर्ने अबस्था रहेको पोखरेलले बताए । नेपाल–भारत बाउन्ड्री वर्किङ ग्रुपको सन् २०१८ सेप्टेम्बर २१ तारेखका दिन बसेको पाँचौ बैठकले सन् २०१४ पछि मर्मत तथा निर्माण भएका सीमा स्तम्भहरुमध्ये जोर नम्बर भारतीय सशस्त्र सीमा बलले नेपाल सशस्त्र प्रहरी बलको उपस्थितिमा र बिजोर नम्बरको नेपाल सशस्त्र प्रहरी बलले भारतीय सीमा बलको उपस्थितिमा मर्मत तथा रंगरोगन गर्ने निर्णय भएको थियो । उक्त निर्णय अनुसार नेपाल सरकारको मन्त्रिपरिषद्ले २०७७ साउन १९ गते सशस्त्र प्रहरीलाई मर्मतका लागि जिम्मेबारी दिने निर्णय गरेका थिए । त्यसपछि सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरुको निर्माण, मर्मतसम्भार र पुनर्स्थापना सम्बन्धी मापदण्ड २०८० अनुसार मर्मत तथा रंगरोगन कार्य सुरु भएको सशस्त्र प्रहरी नायव महानिरीक्षक पोखरेलले बताए ।

कोशी प्रदेशमा चीततर्फ २६१.७ र भारततर्फ ४२७.६ गरी ६८९.३ किलोमिटर अन्तर्राष्ट्रिय सीमाना रहेको छ । जसमा चीनतर्फ २० वटा र भारततर्फ ८६७ वटा सीमास्तम्भ रहेको छ । उक्त सीमा क्षेत्रमा नेपाल सशस्त्र प्रहरी बलको ५७ वटा बोर्डर आउट पोष्ट रहेको र त्यसमा कार्यरत जनशक्तिले प्रभावकारी रुपमा सीमा सुरक्षाका लागि सीमा क्षेत्रका बासिन्दाको सहयोग अपरिहार्य रहेको पोखरेलले बताए । ‘सीमा क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीले खुल्ला सीमानाको प्रत्यक्ष निगरानी गर्न कठीन रहेकाले सीमाको वास्तविक रक्षक सीमा क्षेत्रका बासिन्दा नै हो,’ उनले भने, ‘त्यसैले सशस्त्र प्रहरीले सीमा क्षेत्रका बासिन्दाहरुको सहयोग र समन्वयमा सीमाको सुरक्षालाई प्रभावकारी बनाउँदै लगेका छन् ।’

भारतीय सशस्त्र सीमा बल ५६ बटालियन बथनाहाका कमाण्डेण्ट सुरेन्द्र बिक्रमले सीमा स्तम्भ नेपाल–भारतको एकताको प्रतिकका साथै सम्प्रभूता रहेको बताएका छन् । उनले सीमामा अनेकौं अपराधिक गतिविधि हुँदै आएको र यो नै दुबैतर्फका सुरक्षाकर्मीको प्रमुख चुनौति भएको बताए । उनले सन् २०१४ अगाडि मर्मत नभएका सीमा स्तम्भको पनि मर्मतका लागि नेपाल सरकारको ध्यानाकर्षण गराए । उनले सीमा क्षेत्रका बासिन्दाको समस्यामा पनि दुबै देशका सुरक्षाकर्मी खरो उतिर्नु अहिलेको आवश्इकता भएको सुनाए ।


प्रकाशित : मंसिर २२, २०८० १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?