कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

हर्क साम्पाङद्वारा खानेपानी अभियानको हिसाब सार्वजनिक

कोकाह खानेपानीमा ७ करोड रुपैयाँभन्दा बढी जुट्यो
प्रदीप मेन्याङ्बो

सुनसरी — पछिल्लो समय वृक्षरोपणमा व्यस्त रहेका धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले कोकाह खानेपानी श्रमदान अभियान अन्तर्गत जुटेको रकम र खर्चको हिसाब सार्वजनिक गरेका छन् ।

हर्क साम्पाङद्वारा खानेपानी अभियानको हिसाब सार्वजनिक

उनले असार २१ गतेसम्म जुटेको रकम र खर्च भएको हिसाब सार्वजनिक गरेका छन् । अभियान सञ्चालन हुँदा धरान खानेपानी व्यवस्थापन बोर्ड र विभिन्न दाताहरुबाट नगदी र जिन्सी गरेर ७ करोड ४ लाख १८ हजार ६ सय ३२ रुपैयाँ संकलन भएको हिसाब राईले सार्वजनिक गरेका छन् ।

गत फागुन २३ गतेदेखि सुरु भएको कोकाह खानेपानी अभियानको ९८ औं दिनमा धरान– २० पकुवामा पानी खसाइएको थियो । ४२ किलोमटिर लामो पाइपलाइनमार्फत कोकाह खोलाबाट ल्याएको पानी हाल विष्णु चोकको ट्यांकीमा झारेर वडा १७ र ११ को केही भागमा वितरण भइरहेको छ । उक्त पानी सुम्निमा ट्यांकी र स्वास्तिका चोकको ट्यांकीसम्म पनि पुर्‍याउन अब ५/५ किलोमिटर पाइप खरिद गरेर बिछ्याउने योजना रहेको बताइएको छ ।

प्रमुख राईले भने, ‘धरानमा खानेपानीको हाहाकार भएकोले कोकाह खानेपानी अभियान सुरु गरेका हौं । कोकाहको पानीले कम्तीमा २५ देखि ३० हजार उपभोक्ताको तिर्खा मेट्न सकिन्छ ।’ उनले आफ्नो मुख्य उद्देश्य नै खानेपानी रहेको बताए ।

सार्वजनिक गरिएको हिसाब अनुसार ७ करोड ४ लाख १८ हजार ६ सय ३२ रुपैयाँमध्ये विभिन्न दाताहरुबाट ४ करोड ८२ लाख ५२ हजार ३५ रुपैयाँ नगद र १ करोड २० लाख ३८ हजार ७ सय ४ रुपैयाँ बराबरको जिन्सी (पाइप) प्राप्त भएको थियो ।

कोकाह खानेपानी अभियानका संयोजकसमेत रहेका पूर्व ब्रिटिश गोर्खा सैनिक दत्तकुमार लिम्बुले धरान खानेपानी व्यवस्थापन बोर्डबाट ६६ लाख ५१ हजार २ सय २० रुपैयाँ बराबरको पाइप प्राप्त भएको बताए । उनले भने, ‘बोर्डले दिएको बाहेक अभियानमार्फत पाइप खरिदमा ४ करोड ९४ लाख ५९ हजार ७०१ रुपैयाँ खर्च भएको भएको छ भने इन्धन खर्च ७ लाख १२ हजार ९ सय ९९ रुपैयाँ, भाडा ढुवानीमा २९ लाख ९४ हजार ८ सय ७८ रुपैयाँ, खाना तथा खाजा, पानीमा ५० लाख २४ हजार ५ सय ५८ रुपैयाँ, विषेश प्राविधिक कामदारलाई ज्याला खर्च २७ लाख १ हजार ५२ रुपैयाँ, टोचन तार र भल्व खरिद गर्दा ४२ लाख ९७ हजार ४ सय १० रुपैयाँ खर्च भएको छ ।’

यस्तै अभियानका सदस्य समिर तामाङले ७ लाख ३३ हजार ९ सय ४८ रुपैयाँ पाइप खरिदको भुक्तानी गर्न बाँकी रहेको र मर्मत तथा फिटिङको ३४ हजार ४ सय रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताए ।

कोकाह खानेपानीको हिसाब सार्वजनिक गरेपछि स्थानीय बुद्धिजीवि महेन्द्र बहुमुखी क्याम्पसका पूर्व सहप्राध्यापक डा. राजेन्द्र शर्माले भने, ‘यो कामलाई सार्वजनिक खरिद ऐन नियमावली अनुसार ठेक्का लगाएको भए ९८ दिनमा कोकाहको पानी धरानको ट्यांकीमा झर्दैनथ्यो र त्यति बजेटले पनि पुग्दैनथ्यो । तर श्रमदान शीर्षक राखेर खाना खाज पानी खर्चमा ५० लाख २४ हजार ५ सय रुपैयाँ, ढुवानी खर्च २९ लाख ९४ हजार रुपैयाँ र ज्याला खर्च भनेर २७ लाख रुपैयाँ खर्च देखाउँदा हिसाब हेर्दा अलिक अस्वभाविक भने लाग्छ ।’

शर्माले अस्वभाविक लाग्ने खर्चको विषयमा प्रमुख साम्पाङले जवाफ दिने ठाउँ भने प्रसस्त रहेको बताए । उनले भने, ‘यो काम आफैंमा सुन्दर र सफल काम त हुँदै हो । तर उपमहानगरपालिकाको वैधानिक र नीतिगत बाटो अपनाएर गरे झन सुनमा सुगन्ध हुन्थ्यो ।’

प्रकाशित : असार २५, २०८० १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?