कञ्चनजंघा क्षेत्र आरोहीले भरिभराउ

यसै सिजन ५०–६० जनासम्म विदेशी आरोही 
आगामी सातादेखि ३ सयको हाराहारीमा बेसक्याम्पमा हुने अनुमान
आनन्द गौतम

ताप्लेजुङ — विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणका लागि यो सिजन पाँच दर्जन बढी विदेशीको उपस्थिति हुने भएको छ । दक्षिणी मोहडाबाट आरोहण गर्नेहरू अर्को साता बेसक्याम्प पुग्ने तयारीमा रहेको पर्यटन व्यवसायीले बताएका छन् ।


अन्नपूर्ण र सगरमाथापछि मात्रै चहलपहल बढ्ने कञ्चनजंघा क्षेत्रको घुन्सा बेसक्याम्पमा अहिले नै ट्रेकिङ गर्नेहरू पुग्न थालेको स्थानीय बताउँछन् ।

पर्यटन मन्त्रालयले कञ्चनजंघा हिमाल आरोहीको संख्या यकिन गरिसकेको छैन । तर, यो सिजनमा ५० देखि ६० जनासम्म त विदेशी आरोही मात्रै हुने इलाइट एक्सपिडिसन ग्रुपका मिङमा डेभिड शेर्पा बताउँछन् । कञ्चनजंघा हिमालमा व्यवसायी स्वयंले बाटो बनाउनुपर्ने भएकाले कतिको संख्यामा आरोही हुन्छन् भन्ने प्रारम्भिक तथ्यांक निकालिएको उनले बताए । उनको कम्पनीबाट पनि यो वर्ष दर्जन बढी विदेशी आरोही छन् । पैदलमार्ग खराब भएकाले उनीहरूका लागि खाद्यान्न, एक्सपिडिसनमा प्रयोग हुने सामग्री हेलिकप्टरबाट लाने तयारी भइरहेको पनि उनले बताए । आरोही, सहयोगी, खाना पकाउने, बाटो बनाउने शेर्पासमेत गरी अर्को सातादेखि तीन सयको हाराहारीमा बेसक्याम्पमा उपस्थिति हुने अनुमान मिङमा डेभिडको छ ।

कोरोना संक्रमणका कारण २०७५ देखि ०७७ सालमा हुन नसकेको कञ्चनजंघामा गतवर्ष आरोहण भएको थियो । यो वर्ष पनि गत वर्षकै जस्तै विदेशी आरोही रहेको व्यवसायी बताउँछन् । कञ्चनजंघा संरक्षण क्षेत्रका पर्यटन सहायक टाँसी शेर्पाका अनुसार जर्मन, इरान, जापानलगायतबाट ट्रेकिङ गर्नेहरूचाहिँ घुन्सा पुगेका छन् । साउथ र नर्थ दुई बेसक्याम्पबाट आरोहण गर्न सकिने भए पनि नर्थबाट आरोहण गर्ने कोही पनि नभएको टाँसीले बताए ।

‘अब केही दिन पछि गाउँनै पर्यटकले भरिनेछ,’ टाँसिले थपे, ‘होटलवालालाई सोध्दा राम्रै संख्यामा बुक गरेको जानकारी दिनुभएको छ ।’ सामान्य अवस्थामा १ हजार ४ सय सम्मले भ्रमण गरेको तथ्यांक रहेको कञ्चनजंघा संरक्षण क्षेत्रको दुवै बेसक्याम्पमा पुगिसकेका होटल व्यवसायी टाँसीले बताए । कञ्चनजंघामा जापानी, जर्मनी, अस्ट्रेलिया, अमेरिका, फ्रान्स, बेलायत, नेदरल्यान्ड, क्यानडा, स्विजरल्यान्ड, बेल्जियम, फिलिपिन्स, स्पेन, स्विडेनलगायत देशबाट आउने गरेको तथ्यांक छ । भारत र चीनबाट पनि आरोहण तथा भ्रमणका लागि आउने गरेका छन् । सहज अवस्थामा पुस, माघ, असार र साउनमा बाहेक विदेशी पर्यटक आउने गरेको टाँसी बताउँछन् ।

ठूलो संख्यामा भने चैत, वैशाख, जेठ र असोज, कात्तिक, मंसिरमा आउँछन् । आरोहण भने वैशाख र जेठमा मात्रै हुने गरेको छ । सामान्यतः ४५ दिनको कोसिसमा आरोहण गरेर फर्कने मिङमाडेभिड बताउँछन् । १९५५ मे २५ का दिन पहिलो पटक कञ्चनजंघाको आरोहण भएको थियो ।

सदरमुकाम फुङलिङदेखि पैदल यात्रा गर्दा २४ दिनमा मात्रै एक फन्को लगाएर फर्कन सकिने कञ्चनजंघा क्षेत्रको भ्रमण दूरी अहिले छोटिएको छ । अहिले १६ दिनमा दुवै बेसक्याम्प पुगेर फर्कन सकिने पर्यटन व्यवसायी बताउँछन् । यात्रा गर्न सक्नेले ११ दिनमै पनि टुंग्याउँछन् । पूर्वमा सिरिजंघा गाउँपालिकाको याम्फुदिन र उत्तरमा फक्ताङलुङ गाउँपालिकाको लेलेपसम्म यातायातका साधन चल्छ । त्यहाँदेखि भने पैदल यात्रा गर्नुपर्छ । हिमाली क्षेत्रमा लेक लाग्ने भएकोले आराम गर्दै हिँड्न पर्यटक गाइडको सुझाव छ ।

प्रकाशित : चैत्र १२, २०७९ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्

गीतमार्फत एकताको सन्देश

दुर्गालाल केसी

दाङ — टुटफुट र खण्डित कुरा नगरआत्मसमर्पणको कुरा नगरएकढिक्का एकताको कुरा गरवीरताको कुरा गर

देशव्यापी सञ्चालन भएको राष्ट्रका लागि संगीत अभियात्राअन्तर्गत शुक्रबार घोराहीस्थित दाङ जिल्ला उद्योग वाणिज्य संघको सभाहलमा यो गीत गुन्जँदा दर्शकदीर्घा भावुक भयो । देशमा नेताहरू नमिलेको, टुटफुट चलिरहेको प्रसंग जोड्दै गायकले दलहरूलाई एकताको सन्देश दिन उक्त गीत प्रस्तुत गरेका थिए ।

जनवादी गीतमार्फत देशमा एकताको सन्देश दिन चैत ४ गते धनगढीबाट संगीत यात्रा थालिएको र वैशाख ५ मा काठमाडौंमा सबै शीर्ष नेताहरूलाई राखेर समापन गर्ने गायक जीवन शर्माले बताए । ‘हामी नेताहरू मिलेको हेर्न चाहन्छौं । नेताहरूलाई जनताप्रति जिम्मेवार बनाउन चाहन्छौं,’ उनले भने, ‘गीत–संगीतको शक्तिमार्फत देशव्यापी सन्देश दिन हिंडेका छौं ।’ नेताहरूको बढ्दो अस्थिरता देखेर देशव्यापी संगीत यात्रामा निस्केको उनले बताए ।

सानो सानो बुकुरो पहराको छेउमा

मेरो घर

त्यही नि साउले खाइदियो अब मलाई झनै केको डर ।

शर्माको यो गीतमा रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष नारायण शर्माले अभिनयमूलक प्रस्तुति गर्दा दर्शक भावुक भएका थिए । झरनाको चिसो पानी..., सिमली छायामा बसी भरिया लामो सास फेरेको... लगायतका गीत गाएर शर्माले हल तताएका थिए ।

शर्माका साथै गायक तथा पूर्वमन्त्री मणि थापालगायतका अग्रज कलाकारले एकसाथ प्रस्तुति दिँदा दर्शकले नाचेर साथ दिएका थिए । गायक उदय श्रेष्ठ, उदय रिजाल, मोहित श्रेष्ठ, गायिका निलिमा पुन, प्रगति महरा, कर्ण विद्रोही, चिरन सी, कुस्मिता दर्लामी, लक्ष्मण पाख्रिनलगायतका कलाकारले एकसाथ हाम्रो रातो लालटिन... गीत प्रस्तुत गरेर दर्शकलाई जुरुक्कै उचालेका थिए । कलाकारले शासन सत्तामा पुगेपछि नफेरिने नेताहरूको चरित्रलाई निम्न गीतमार्फत सचेत बनाएका थिए :

लेकै फुल्यो लालीगुराँस बेसी सुनाखरी

शासनको रूप एउटै हो, शासक आए थरीथरी ।

गायकहरू माधव प्रधान, टेक बलम्पाकी, केशरी घर्ती मगर, कविता पुन, अनु शर्मा, सन्ध्या मगरलगायतका कलाकार राष्ट्रिय संगीत यात्रामा सहभागी छन् । देशमा विकृति र विसंगति मौलाउन थालेको बेला कलाकार चुप लागेर बस्न नसक्ने गायक एवं पूर्वमन्त्री थापाले बताए । ‘देश अस्थिरतातर्फ धकेलिइरहेको छ । नेताहरूमा विग्रह छ,’ उनले भने, ‘यस्तो बेला हामी कलाको माध्यमबाट सन्देश दिन निस्किएका छौं । नेताहरूले केही सन्देश ग्रहण गर्नुहुनेछ भन्ने अपेक्षा छ ।’

प्रकाशित : चैत्र १२, २०७९ ०८:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×