कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अलपत्र योजनाले लियो गति

काम नगरे कारबाही प्रक्रिया अघि बढाउने नगरपालिकाको लिखित चेतावनीपछि ठेकेदारले थाल्यो काम
डम्बरसिं राई

खोटाङ — स्थानीय तहका ताकेतापछि खोटाङका अलपत्र योजनाले गति लिएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने छेपेखोला, मेवाखोला, पङखुखोलालगायतमा पुल निर्माण सुरु भएको छ । निरन्तरको ताकेतापछि काम सुरु भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए ।

अलपत्र योजनाले लियो गति

दिक्तेल–खोटाङबजार सडकअर्न्तगत दिक्तेल–लफ्याङ–दुबेचिवासम्मको सडक प्याकेज ठेक्का लिएर अलपत्र पार्ने ढुकुछु–बगाले–बीएनट निर्माण कम्पनीको एस्क्जाभेटर, क्यालोडरलगायतका निर्माण सामग्रीलाई नगरपालिकाले नियन्त्रणमा लिएको थियो । काम नगरे कारबाही प्रक्रिया अघि बढाउने लिखित चेतावनीपछि काम थालेको उनले बताए । ५ करोड ६ लाख ५५ हजार रुपैयाँको लागतमा २०७९ पुस २० भित्र सक्ने गरी उक्त निर्माण कम्पनीले २०७८ जेठ २० मा सम्झौता गरेको थियो ।

उक्त सडकअन्तर्गत दुबेचिवा–साप्सुखोला प्याकेजको काम पनि धमाधम भइरहेको छ । २ करोड ९६ लाख ३७ हजार रुपैयाँको लागतमा २०७९ माघ १५ भित्र सक्ने गरी सगरमाथा सजीव आर एन जेभीले २०७८ चैत २८ मा सम्झौता गरेको थियो । दिक्तेल हाटडाँडादेखि लफ्याङ काफ्लेगाउँ घुम्तीबर सडक स्तरोन्नतिको ठेक्का लिएर अलपत्र पार्ने लगलगे कन्ट्रक्सनले पनि चेतावनीपछि काम थालेको छ । करिब ४६ लाख रुपैयाँको लागतमा असारसम्म सक्ने गरी सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगासँग २०७८ माघ २० मा सम्झौता गरेको थियो ।

उक्त म्यादसमेत गुजारेपछि फेरि पुससम्मको लागि थपिएको थियो । थपिएको समयसम्म पनि नगरेपछि उक्त निर्माण कम्पनीको एस्क्जाभेटर र ट्र्याक्टर नगरपालिकाले नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया बढाएपछि काम सुरु गरेको उक्त नगरपालिका–५ लफ्याङका वडाअध्यक्ष दिनेश घिमिरेले बताए । हलेसी तुवाचुङ नगरपालिकाको कडाइपछि बृहत् पम्पिङ खानेपानी आयोजना पनि अघि बढेको छ । उक्त आयोजना अन्तिम चरणमा पुगेको छ ।

करिब ९६ करोड ४५ लाख रुपैयाँको लागतमा सम्पन्न गर्ने भनेर विभिन्न कम्पनीले ठेक्का लिएका हुन् । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा लिलिमाबेसीबाट भुम्जुडाँडा र उक्त नगरपालिकाकै वडा ८ सल्लेको महादेवबेसीबाट हलेसी तुवाचुङ नगरपालिका–७ हलेसी काभ्रेडाँडामा पानी तान्न दिवा–महादेव–खिम्ती निर्माण कम्पनीले २०७६ मंसिरमा सक्ने गरी २०७४ असार २१ मा सम्झौता गरेको थियो ।

उक्त काम करिब ३१ करोड ७६ लाख रुपैयाँको लागतमा सक्ने गरी लिएको हो । दुवै मेनलाइनको काम ८६ प्रतिशत भइसकेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख इन्जिनियर हीराकाजी महर्जनले बताए । मेनलाइनबाहेक पानी वितरणका लागि भने अर्कै निर्माण कम्पनीले ठेक्का लिएको थियो । लिलिमाबेसीबाट भुम्जुडाँडासम्म निकालिएको पानी वडा १, २, ३ का २४ सय नौ घरधुरीलाई वितरणको ठेक्का लामा कन्ट्रक्सनले लिएको हो । ३७ करोड ९३ लाख रुपैयाँको लागतमा २०७७ साउन १ मा सक्ने गरी २०७५ साउन १ मा सम्झौता गरेको थियो ।

यसअर्न्तगत ४ लाख लिटर क्षमताको तीन ट्यांकी, तीन लाख लिटरको एक, एक लाख लिटरको पाँच ट्यांकी र चार किलोमिटर पाइप लाइन र महादेवबेंसीबाट तुवाचुङको काभ्रेडाँडासम्म ४ लाख लिटर क्षमताका तीन, तीन लाख लिटरको एउटा र एक लाख लिटर क्षमताको ५ ट्यांकी तथा ८ किलोमिटर मेन लाइनको पाइप विस्तार गर्ने योजनामा पर्छ ।

त्यस्तै महादेवबेसीबाट काभ्रेडाँडामा निकालिएको पानी नगरका वडा ५, ६ र ७ का २४ सय ८८ घरधुरीलाई वितरण गर्ने ठेक्का रमण–सगरमाथा–सगरमाथा घिमिरे लिएको थियो । करिब २६ करोड ७५ लाख ५१ हजार ९ रुपैयाँको लागतमा २०७७ साउन १ मा सक्ने गरी २०७५ साउन १ मा संझौता गरेको थियो । उक्त आयोजनाअन्तर्गत ७३ ट्यांकी, डीसी/डीपीटी ७३ वटा निर्माण गर्नुपर्नेछ ।

प्रकाशित : चैत्र ११, २०७९ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?