'कोशी' को विरोधमा पाँचथरका ११ वटा वडा कार्यालयमा तालाबन्दी

लक्ष्मी गौतम

पाँचथर — कोशी प्रदेश नामकरणको विरोधमा पाँचथरका तीन स्थानीय तहका ११ वटा वडा कार्यालयमा तालाबन्दी गरिएको छ । प्रदेशको नाम सच्याउनुपर्ने माग गर्दै प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले फिदिम नगरपालिकाका आठवटा वडा, फाल्गुनन्द गाउँपालिकाको वडा नम्बर १ र फालेलुङ गाउँपालिकाको वडा नम्बर ७ मा तालाबन्दी गरेको हो ।

संघर्ष समितिले फिदिम नगरपालिकाका वडा नं १, २, ४, ५, ६, ९, ११ र १२ वडा कार्यालयमा तालाबन्दी गरेको हो । प्रदेशसभा बैठकले फागुन १७ गते साविकको एक नम्बर प्रदेशलाई ‘कोशी’ नामाकरण गरेपछि उक्त नामले पहिचान नसमेटेको भन्दै किराँत, याक्थुङ चुम्लुङ र किराँत राई यायोक्खा लगायतका संस्थासँगै लिम्वुवान मञ्च, लिम्वुवान राज्य परिषद र जनता समाजवादी पार्टीसहितका दल र तिनका भ्रातृ संघठनले पुनः नामकरण संयुक्त संघर्ष समिति गठन गरेका थिए ।

समिति गठनपछि समितिले फागुन २८ गते कोशी प्रदेशमा आम हड्तालसँगै ठाँउठाँउमा मसाल जुलुस निकालिएको थियो । समितिले चैत ५ गते प्रदेशको राजधानी विराटनगरमा प्रदर्शनसमेत गरेको छ ।

आन्दोलनकारीहरुले प्रदेशको पहिचानका आधारमा नामाकरण गर्नुपर्ने माग गर्दै आएका छन् । यद्यपि प्रदेशको नाम लिम्वुवान किराँत वा किराँत लिम्वुवान राख्नुपर्ने भन्ने विषयमा किराँत याक्थुङ चुम्लुङ र किराँत राई यायोक्खाबीच नै एकमत छैन । चुम्लुङले लिम्वुवान र यायोक्खाले किराँतको मुद्दा अगाडि सारेकाले आन्दोलनमा रहेका संस्थाहरुबीच नै मतऐक्यता हुन नसकेको हो ।

पुनः नामकरणका लागि नाममा सहमति जुटाएर आन्दोलनलाई सशक्त बनाउने तयारी भइरहेको किराँत याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले बताइन् ।

‘पहिलो सर्त कोशी नामकरण खारेजी हो, त्यसपछि आन्दोलनकारीबीच साझा नाममा सहमति खोजिन्छ, सरकारले हाम्रो माग सम्बोधन गरेर बोलाए वार्तामा बस्न तयार छौं,’ तुम्बापोले भनिन् ।

आन्दोलनका क्रममा पाँचथरसहित इलामको माङसेवुङ र मोरङको मिक्लाजुङका वडाहरुमा पनि तालाबन्दी गरेको तुम्बापोले बताइन् । यससँगै संघीय राजधानी काठमाडौंमा पनि प्रदेश नामकरणको विरोधमा प्रदर्शन भएका छन् ।

प्रकाशित : चैत्र ६, २०७९ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्

पुरानो दरबारमा नेपाली स्वाद

०५५ सालबाट सञ्चालित भोजन गृहमा नेपाली खानाका पारखीहरूको भीड लाग्छ, जसको विशेषता दरबारमा बसेर दर्जनौं स्वाद पाउनु हो
कान्तिपुर संवाददाता

काठमाडौँ — पुतलीसडकबाट डिल्लीबजारतर्फ उकालो लाग्दै गर्दा बायाँ मोडिनेबित्तिकै देखिन्छ, पुरानो शैलीको चारतले ‘दरबार’ । बिहानीपख यो प्रायः सुनसान रहन्छ । मध्याह्न १२ बजेपछि भीडभाड बढिहाल्छ– खानाको स्वाद लिनेहरू पस्छन् । साँझको ६ बजेपछि नौला अनुहारहरू नेपाली खानाको स्वाद लिन ‘दरबार’ छिरिहाल्छन् ।

ती पाहुनालाई दौरा–सुरुवाल र ढाकाटोपीमा सजिएकाहरूले स्वागत गर्दै बस्ने ठाउँसम्म पुर्‍याउँछन् । त्यसपछि विभिन्न समुदायका पोसाकमा सजिएका युवतीले करुवामा पानी लगेर काँसको गिलासमा राखिदिन्छन् ।

०५४ सालमा जीर्णोद्धार गरी ०५५ सालबाट ‘दरबार’ मा सञ्चालित ‘भोजन गृह’ मा नेपाली खानाको स्वाद लिन विदेशी पाहुनाको भीड लाग्ने गरेको छ । नेपालीहरूको रोजाइमा पनि आफ्नो रेस्टुराँ परेको सञ्चालक भरत बस्नेत बताउँछन् । खोटाङको चिसापानीमा जन्मिएका उनीसँग विदेशदेखि स्वदेशकै विभिन्न संघसंस्थामा आबद्ध भएर काम गरेको अनुभव छ ।

पूरा पढ्न : पुरानो दरबारमा भोजनको भण्डार

प्रकाशित : चैत्र ६, २०७९ १८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×