राष्ट्रपतिद्वारा योगमायाको शालिक अनावरण- कोशी - कान्तिपुर समाचार

राष्ट्रपतिद्वारा योगमायाको शालिक अनावरण

दीपेन्द्र शाक्य

संखुवासभा — राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार भोजपुरको साल्पासिलिछो गाउँपालिकास्थित सामाजिक अभियन्ता योगमाया न्यौपानेको शालिक अनावरण गरेकी छन् । पशुपतिधाम गौडेनीमा पूजा अर्चनासहित उनले शालिक अनावरण गरिन् ।

यस क्रममा राष्ट्रपति भण्डारीले योगमाया स्मृति प्रतिष्ठानको अवलोकन समेत गरिन् । साल्पासिलिछो गाउँपालिका, योगमाया स्मृति प्रतिष्ठान र षडानन्द नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी भोजपुरको उत्तरी क्षेत्र आएकी हुन् ।

षडानन्द नगरपालिकास्थित बालागुरु षडानन्द अधिकारीको जन्मथलो दिङ्ला र सामाजिक अभियन्ता योगमायाको कर्म तथा समाधिस्थल मझुवाबेसी र गौंडेनीको भ्रमणका लागि राष्ट्रपति भण्डारी हेलिकप्टोरबाट भोजपुर आएकी हुन् । भोजपुर राष्ट्रपति भण्डारी जन्मिएको जिल्लासमेत हो ।

राष्ट्रपति भण्डारीबाट षडानन्द नगरपालिका १ मझुवाबेसीमा रहेको योगमायाको समाधि स्थलको अवलोकन समेत भएको थियो । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले योगमाया समाधिस्थल पार्कको शिलन्यास गरेका थिए ।

षडानन्द नगरपालिका ७ मा रहेको बालागुरु षडानन्द अधिकारीको जन्म भएको स्थानमा राष्ट्रपति भण्डारीले अधिकारीको शालिक अनावरण समेत रहेको नगर प्रमुख सुरेन्द्र उदासले बताए । सोही क्रममा राष्ट्रपति भण्डारीले कैलाश डाँडामा रहेको गुरुकुल र जनस्तरबाट स्थापना गरिएको नेपालको पहिलो पाठशाला षडानन्द माध्यमिक विद्यालय र त्यसको नजिकै रहेको अरुण माविको समेत अवलोकन गरेकी थिइन् ।

प्रकाशित : माघ २५, २०७९ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनी एमालेको प्रमुख सचेतकमा चौधरी र सचेतकमा शर्मा

सरकार विस्तारको तयारीमा मुख्यमन्त्री गिरी
घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रदेशसभामा नेकपा एमालेले तुलसी चौधरीलाई प्रमुख सचेतकको रुपमा चयन गरेको छ। बुधबार नेकपा एमालेको दाङको देउखुरीमा बसेको प्रदेश संसदीय दलको बैठकले प्रदेशसभाको प्रमुख सचेतकमा चौधरी र सचेतकमा दाङकी रेखा शर्मालाई चयन गरेको हो ।

चौधरी रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ (१)बाट दोस्रो पटक निर्वाचित हुन् । उनी यसअघि मन्त्रीका दावेदारको रुपमा चिनिएका थिए । रेखा शर्मा भने समानुपातिकबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

यससँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आफ्नो सचिवालय विस्तार गरेका छन् । गिरीले प्रमुख राजनीतिक सल्लाहकारमा एमाले पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेलाई नियुक्त गरेका छन्। यसअघि उनले प्रमुख स्वीकय सचिवमा कृष्ण कुमाल, स्वकीय सचिवमा अमृत गिरी र प्रेस संयोजकमा टीका बस्नेतलाई नियुक्त गरेका थिए ।

सरकारका प्रवक्ता एंव मन्त्री चेतनारायण आचार्यका अनुसार मुख्यमन्त्री गिरीले सचिवालय विस्तारसँगै सरकार विस्तारको पनि तयारी गरेका छन्। शुक्रबारसम्म सरकार विस्तार हुने बताइएको छ । सरकार विस्तारका लागि मुख्यमन्त्री गिरी माओवादी केन्द्र र अन्य संवाद गरिरहेका छन् ।

प्रकाशित : माघ २५, २०७९ १८:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×