कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपतिजस्तो सम्मानित संस्थालाई विवादमा नतानौं : भट्टराई

आनन्द गौतम

ताप्लेजुङ — नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले राष्ट्रपतिजस्तो सम्मानित संस्थालाई विवादमा तान्न नहुने बताएका छन् । प्रेस चौतारी ताप्लेजुङले आयोजना गरेको स्थापना दिवस एवं पत्रकार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले सवैदलका नेताले भनेजस्तै राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताए ।  

राष्ट्रपतिजस्तो सम्मानित संस्थालाई विवादमा नतानौं : भट्टराई

बहुमत प्राप्त हुँदाहुँदै पनि २०४८, ५६ र ७४ सालमा मध्यावधि निर्वाचन गर्नुपरेको स्मरण गर्दै भट्टराईले नेपालको राजनीति चुनावदेखि चुनावको गोलचक्करमा फसेको र त्यस्तो स्थिति नहोस् भनेर राजनीतिक नेतृत्व र सबै सचेत हुनुपर्ने बताए । सञ्चार क्षेत्रले पनि यसमा खबरदारी गर्न जरुरी रहेको उनको भनाइ छ ।

‘बहुमत प्राप्त भएको संसद् पनि पूरा समय नचल्नु, त्यसले पूर्णकाल चल्न नपाउनु आफैँमा एउटा दुःखदायी कुरा हो,’ भट्टराईले थपे, ‘यस्तो अवस्थामा हाम्रो विकास निर्माण, हाम्रो पछौटेपन हाम्रो अविकासजस्ता विषयमा राजनीतिक नेतृत्वको ध्यान जान सक्दैन ।’ यसमा राजनीतिक नेतृत्वले गम्भीर समीक्षा गर्नुपर्छ ।

पहिलो राष्ट्रपति निर्वाचनमा पहिलो चरणमा बहुमत नपुग्दा एमालेले पनि मतदान गरेको स्मरण गर्दै भट्टराईले यो पटकको निर्वाचनमा कांग्रेसले एमालेका उम्मेदवारलाई मतदान गर्ने अपेक्षा गरे । ‘राष्ट्रपतिजस्तो सम्मानित संस्थालाई कुनै राजनीतिक दलको घेराभित्र ल्याएर छलफल गर्नु हुँदैन,’ भट्टराईले भने, ‘तर विवादमा तान्ने कोसिस भइरहेको छ ।’

उनले एमालेले योग्य उम्मेदवार प्रस्ताव गर्ने र अरु दलले त्यसमा समर्थन जनाउने पनि दाबी गरे । सभामुख, राष्ट्रिय सभाका उपाध्यक्षजस्ता पदमा सहमति भइरहेको बेला राष्ट्रपति र उपराष्ट्रपतिमा पनि गठबन्धन कायम रहने उनले दाबी गरे ।

प्रकाशित : माघ २२, २०७९ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?