बचत फिर्ता माग गर्दै सहकारीका बचतकर्ताहरू आन्दोलित

खोटाङ — लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरुले आफूले बचत गरेको रकम फिर्ता गर्नुपर्ने माग गर्दै सोमबार दिक्तेल बजारमा प्रदर्शन गरेका छन् । सञ्चालक समितिको लापर्बाहीले सहकारी डुबाएको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

४ हजार ५ सय बचतकर्ताको करिब सात करोड रुपैयाँ रकम डुबेकाले आन्दोलन गर्नुपरेको बचतकर्ता धनिराम राईले बताए । बचतकर्ताहरुले जम्मा गरेको रकमबाट सहकारीका तत्कालीन अध्यक्ष स्व. अनिल जोशी र प्रबन्धक रुकु जोशीले अपचलन गरेकाले डुबेको बचतकर्ताहरुको भनाइ छ ।
अध्यक्ष जोशीले आफ्नै आफन्तको नाममा रहेको खातामा रकम जम्मा गरेको पाइएको र उक्त रकम फिर्ता गर्न पहल सुरु गरिएको सहकारीका निमित्त व्यवस्थापक सुमना राईले बताइन् । अनिलको गत २०७८ वैशाख १५ गते कोरोनाले निधन भइसकेको छ ।
उनका अनुसार जोशीकी बुहारी रविना श्रेष्ठ जोशीको ज्योति विकास बैंकमा रहेको खातामा २ करोड ४१ लाख ५७ हजार ५ सय ५८ रूपैयाँ, भान्जा दीपेन्द्र श्रेष्ठको सेन्चुरी कमर्सियल र ज्योति विकास बैंकमा रहेको खातामा ४३ लाख १५ हजार ७ सय ५०, भाइ सन्तोष जोशीको सेन्चुरी कमर्सियल बैंकमा रहेको खातामा ८५ हजार, भाइ ईश्वर जोशीको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा १९ लाख ९५ हजार ३ सय ५० लगायत अन्य विभिन्न नातेदारको खातामा गरी ३ करोड ६१ लाख ६ हजार ६ सय ५८ रुपैयाँ जम्मा गरेको देखिन्छ । उक्त रकम किन जम्मा गरियो भन्ने खुल्न नसकेको राईले बताइन् ।
यसबाहेक साविक महादेवस्थान गाविस–४ हाल हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कित्ता नम्बर ८९३ को तीन रोपनी दुई आना र कित्ता नम्बर ८९४ को तीन रोपनी, एक पैसा, एक दाम गरी ६ रोपनी तीन आना एक पैसा एक दाम जग्गासमेत आफ्नै सहोदर भाइ सुनिल जोशीको नाममा पास गरेको पाइएको सहकारीका तत्कालीन सचिव मनोज राईले बताए । यसरी अनियमित तवरले गरिएका क्रियाकलापका कारण सहकारी डुबेकाले जोशीको परिवारलाई माघ ५ गते ठगी मुद्दा दायर गरिएको छ ।
उक्त निवेदनमा जोशीका भाइ सुनिल, बुहारी रविना, बुवा हरिप्रसाद, तत्कालीन सहकारीकी प्रबन्धक रुकु जोशी लगायत अन्य आफन्त तथा साथीहरु जसुदा पौडेल, राम श्रेष्ठ, ईश्वर श्रेष्ठ, दीपेन्द्र श्रेष्ठ, सिर्जना खड्का, सन्तोष जोशी, देवराज सुवेदी, जानकी कक्षपति, कविता तिमल्सिना र सन्देश जोशीसमेतको नाम उल्लेख छ । उनीहरुले संस्थाको रकम अपचलन, हिनामिना तथा ठगी गरेको निवेदनमा उल्लेख छ । यसबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङले जानकारी दिए ।
प्रकाशित : माघ ९, २०७९ २०:३३