कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झिमरुक फाँटमा रोपाइँको रौनक

शमशेरविक्रम जीसी

प्यूठान — झिमरुक फाँटमा अहिले रोपार र बाउसेको चहलपहल निकै बढेको छ । मानो रोपेर मुरी फलाउने यो समय किसानहरु खेतमै व्यस्त छन् । आली लगाउनेदेखि बाउसेले खेत जोत्ने गर्छन् । रोपारले गुञ्जाउने भाकाले अहिले झिमरुक फाँट गुञ्जिएको छ । छेउमै बग्ने झिमरुक नदीको पानीले फाँट सिञ्चित हुने भएपछि झिमरुक फाँटमा अहिले किसानलाई धान रोप्न भ्याइ–नभ्याइ छ ।

गौमुखीको ठूलाबेसीदेखि झिमरुक र माडीको संगमस्थल ऐरावतीसम्मै चलिरहेको धान रोपाइँले प्यूठानमा मेला लागेजस्तै भएको छ । ४२ हजार हेक्टर खेतियोग्य जमिनमध्ये प्यूठानमा ६ हजार ५ सय ५० हेक्टरमा धान रोपाइँ हुन्छ । जेठ अन्तिमसम्ममा प्यूठानका फाँटहरुमा धान रोपाइँ सकिन्छ । सिचाइँको राम्रो व्यवस्था भएकै कारण यहाँ छिटो धान रोपाइँ हुने गरेको किसानहरु बताउँछन् । जेठ अन्तिमसम्म फाँटमा ८५ प्रतिशत रोपाइँ सकिन्छ, बाँकी टारी खेतमा असारमा रोपाइँ हुन्छ ।

अघिल्ला तीन वर्षयता प्यूठानमा धान उत्पादन बढेको तथ्यांक छ । २०७५ सालमा प्रतिहेक्टर ३ दशमलव ८७ मेट्रिक टन धान उत्पादन भएको प्यूठानमा २०७६ सालमा ४ मेट्रिक टन प्रतिहेक्टर र गएको वर्ष प्रति हेक्टर ४.१ मेट्रिक टन धान उत्पादन भएको तथ्यांक छ । तर पछिल्लो समय खाद्यान्न उत्पादनको ठूलो हिस्सा ओगटेको झिमरुक फाँट घरजग्गाको कारोबारले मासिँदै जान थालेको छ ।


प्रकाशित : जेष्ठ १९, २०८० १२:०६
प्रतिक्रिया
पठाउनुहोस्