कीर्तिमानी आरोही हरि बुढामगरलाई सरकारी स्वागत

बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका हरिले कृत्रिम खुट्टाको सहारामा गत शुक्रबार सगरमाथा चढेका थिए ।
तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका रोल्पाका हरि बुढामगरलाई मंगलबार काठमाडौंमा भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थलमा उनलाई स्वागत गर्न पर्यटनमन्त्री सुदन किरातीसहितको सरकारी टोली र सर्वसाधारणले उनलाई खादा र मालाले अभिनन्दन गरी स्वागत गरेका हुन् । मन्त्री किरातीले उनलाई खादासँगै ढाकाटोपी पहिरिदिएका थिए ।

रोल्पा थबाङको मिरुल घर भएका बुढामगरले बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका थिए । विद्युतीय धरापमा परेर उनको घुँडाभन्दा मुनिको भाग गुमेको थियो। दुवै खुट्टा गुमाएका पूर्वबेलायती गोर्खा सैनिक बुढामगरले गत शुक्रबार दिउँसो ३ बजे सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए । उक्त कीर्तिमान उनले ‘घुँडाभन्दा माथिबाट दुवै अंग विच्छेदन भएका व्यक्ति’ ले पहिलो पटक सगरमाथा आरोहण गरेको नाममा राखेका हुन् ।

झन्डै ५ वर्षको प्रयासपछि उनले सगरमाथाको सफल आरोहण गरेका हुन् । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा आफ्ना दुवै खुट्टा गुमाएका थिए । विद्युतीय धरापमा परेर घुँडाभन्दा मुनिको दुवै खुट्टा गुमेको थियो । बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए । बेलायती सेनामा भर्ना हुनुअघि सगरमाथा आरोहण गर्ने उनको सपना थियो ।


प्रकाशित : जेष्ठ ९, २०८० १३:१०
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय वाणिज्य बैंकद्वारा क्रिकेट खेलाडीलाई  १-१ लाख प्रदान 

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीले गरेको योगदानको सम्मानार्थ जनही १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ । खेलाडीलाई अझ उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा टिम अफिसियलहरुलाई सोमबार एक समारोहकाबीच बैंकले सम्मान गरेको हो । 

हालै सम्पन्न एसीसी प्रिमियर कप २०२३ को विजेता भएको राष्ट्रिय क्रिकेट टिमका १८ जना खेलाडीलाई जनही एक लाख रुपैयाँ र ८ जना टिम अफिसिलयललाई जनही ५० हजार रुपैयाँका दरले नगद प्रदान गरिएको राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ । नेपालले हालै सम्पन्न डिभिजन २ को प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी विश्वकप छनोट खेलमा सहभागी हुने अवसर पाएको छ भने अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल्ने मान्यता कायम राख्न सफल भएको छ ।

बैंकका अध्यक्ष बलराम पाठकले खेलाडी तथा टिम अफिसिलयहरुलाई सम्मान गर्दै नेपाललाई विश्वमा चिनाउने क्षेत्रमा क्रिकेट पनि थपिएको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अन्तर्राष्ट्रिय जगतमा क्रिकेट खेलाडीले राष्ट्रको गरिमा बढाएको बताए । क्रिकेट एसोसिएसन अफ नेपाल(क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्राष्ट्रिय रुपमा नेपालको नाम क्रिकेटले चिनाएको बताउँदै बैंकको सहयोगले आगामी दिनमा अगाडि बढ्न हौसला पुगेको बताए । त्यस्तै राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले देशको लागि खेल्ने आफ्नो सपना मात्रै नभई सबै नेपालीको चाहना पूरा गर्न पाएकोमा खुसी लागेको बताए ।


प्रकाशित : जेष्ठ ९, २०८० १३:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×