कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४०

तोकिएकै ठाउँमा पाठ्यपुस्तक किन्नुपर्ने बाध्यता

पाठक पत्र

नयाँ शैक्षिक सत्र सुरु हुनासाथ अधिकांश निजी विद्यालयमा व्यापार सुरु हुन्छ । नयाँ भर्ना, नयाँ पाठ्यपुस्तक, नयाँ ड्रेस खरिदको समय हो यो । पाठ्यपुस्तक, ड्रेसमा निजी विद्यालयहरूले सिन्डिकेट नै चलाएका छन् । उनीहरूले तोकेकै ठाउँबाट पुस्तक र ड्रेस लिनुपर्ने, अन्य ठाउँको लिए त्यो स्वीकार्य नहुने अघोषित नियम चलाएका छन् ।

यो विकृत व्यापारलाई रोक्न काठमाडौंका मेयर बालेन शाहले केही नियम त बनाएका थिए तर पनि अर्कै ठाउँबाट नयाँ धन्दा सुरु भएको देखिन्छ । बालेनले विद्यालय स्वयंले पाठ्यपुस्तक बिक्री गर्न नपाउने नियम बनाए तर विद्यालयहरूले आफूले नबेचेर फलाना ठाउँबाट गएर किन्नु भन्ने उर्दी जारी गरेका छन् । यस्ता विकृति रोक्न देशभरिकै स्थानीय सरकारले अनुगमनलाई तीव्रता दिनु आवश्यक छ ।

स्कुलको किताबको भारीमा पनि स्थानीय सरकारले मापदण्ड बनाई लागू गर्नुपर्ने अवस्था छ । बालबालिका स्कुलको किताबको भारीले थचक्क भुइँमा बस्नुपर्दा र त्यसपछि त्यो किताबको भारी बोक्न नसक्दाको पीडा शब्दमा वर्णन गर्न सकिँदैन । आफूभन्दा ठूलो किताबको भारी बोकेर हिँडिरहेका हजारौं बालबालिका हामी प्रत्येक दिन देखिरहन्छौं तथापि उनीहरूका लागि हामीले केही गर्न सकिरहेका छैनौं ।

कुनै आवाज उठाउन सकिरहेका छैनौं । कुनै न्याय माग गरिरहेका छैनौं । बालबालिका आफैंले कुनै आवाज उठाउन सक्दैनन् । उनीहरूको दिमागले त्यो सोच्न पनि सक्दैन । स्कुलको डरले उनीहरू लुरुलुरु भारी बोकिरहेका हुन्छन् । अनि हामी ठूला मान्छे भनाउँदा टुलुटुलु त्यो दृश्य हेरिरहन्छौं ।

यो हामीले आफ्नो दायित्व ननिभाएको नमुना हो । किन हामी आवाजविहीन ती नानीहरूको आवाज बनेर प्रस्तुत हुन सक्दैनौं ? किन स्कुल र सरकारलाई यस्तो अमानवीय काम नगर, नगराऊ भन्न सक्दैनौं ?
– गोपाल देवकोटा, गोकर्णेश्वर–८, काठमाडौं

प्रकाशित : वैशाख ६, २०८१ ०५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?