कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

प्रसूति गृहबाट सुरु भएको नयाँ बहस

सृजना पोख्रेल

थापाथलीस्थित प्रसूति गृहबाट २६ दिनको बच्चा चोरी भयो । सीसीटीभी फुटेजमा देखिएकी बच्चो चोर्ने महिला सामाजिक सञ्जालमा ‘भाइरल’ भइन् । उता, वास्तविक आमा रुँदारुँदा बेहोससरह थिइन् । यता, सीसीटीभी फुटेज पछ्याउँदै प्रहरी ती महिलाको कोठामा पुग्दा बच्चा रोइरहेकै थियो । जब बच्चा भेटियो, ‘चोरेको चाहिँ किन ?’ भन्ने आमप्रश्न मत्थर भयो ।

प्रसूति गृहबाट सुरु भएको नयाँ बहस

यो केही दिनअघिको घटना हो । बिहे गरेर तीन वर्षसम्म पनि प्रयास गर्दा पनि मनकुमारी आमा बन्न सकिनन् । कुनै बेला बल्लतल्ल भ्रुण आएर कोखसम्म त बस्थ्यो, तर शिशु बनेर धरतीमा उत्रिन पाएन । बिस्तारै मनकुमारीको दिमागमाथि मन हाबी हुन थाल्यो । आमा बन्ने मन । अर्की आमामाथि बज्रपात नै किन नपरोस्, बस् आफू आमा बन्ने ।

घटनाको दिन हजारौं मान्छेले सरापे उनलाई– पापै लागोस् बच्चा चोरलाई । तर उनलाई त्यो दिनको सराप, पापसँग कुनै डर थिएन । ईश्वरले पहिल्यै त सरापिसकेको छ, अब कति थपिन्थ्यो र उनको अन्तस्करणलाई सायद यसै लाग्यो ।

मनकुमारीको कारण थाहा पाएपछि मेरो मन अलमलियो । अब दया मान्नु कि रिसाउनु ? सामाजिक सञ्जालका रिसाउने जमातमा सबैभन्दा बलियो तर्क थियो– आफ्नो सन्तान नभए धर्मपुत्र/पुत्री ग्रहण गरेको भए भइहाल्थ्यो नि । चोर्नैपर्थ्यो र ? झट्ट सुन्दा यो कुरा सही हो । तर के मनकुमारीले अहिले चाहेको भए धर्मपुत्र/पुत्री पाल्न पाउँथिन् ?

विवाहित दम्पतीले बिहे भएको केही वर्षमै आफ्नो सन्तान हुन सक्दैन भन्ने थाहा पाए पनि धर्मसन्तान ग्रहण गरिहाल्न पाउँदैन । दस वर्षसम्म कुर्नुपर्छ । ती महिलाको उमेर त २३–२४ मात्रै रहेछ । धर्मसन्तान र आमाबुबाबीचको उमेर अन्तर नै २५ वर्ष हुनुपर्छ । त्यसैले अहिले उनको कुरा छाडौं । तर, २५ कटेकी, मानसिक, शारीरिक, आर्थिक रूपमा स्वस्थ अर्की कुनै निःसन्तान मनकुमारी । अविवाहित भए पनि एक्लै कुनै अनाथलाई पिताको माया दिन चाहने मनकुमार । के यिनीहरूले धर्मसन्तान लिनु सजिलो छ ?

धर्मसन्तान ग्रहण गर्नेसम्बन्धको मुख्य कानुन, मुलुकी देवानी (संहिता) २०७४ को दफा १७२ अनुसार, कुनै पनि विवाहित दम्पतीले बिहे भएको दस वर्षसम्म पनि चाहेको सन्तान नभएमा मात्र धर्मपुत्र वा धर्मपुत्री लिन सक्छन् । त्यसैगरी अविवाहित, विधुर, विधवा र सम्बन्धविच्छेद वा न्यायिक पृथकीकरण गरी बसेका (अदालतको आदेशबमोजिम अंश लिएका, कानुनबमोजिम भिन्न बसेका वा मानो छुट्टिएका) महिला/पुरुषले ४५ वर्ष पुगिसकेपछि बल्ल धर्मसन्तान हुर्काउँछु भन्न पाउँछन् ।

काठमाडौंमा बच्चा चोरी भएकै दिन प्यूठान नगरपालिकाले बच्चासम्बन्धी नै सूचना जारी गर्‍यो । केही दिनअघि स्थानीयकै बाख्रा कटेरोभित्र बेबारिसे अवस्थामा नवजात शिशु (छोरी) भेटिएकी रहिछन् । तिनै शिशुलाई धर्मसन्तानको रूपमा हुर्काउन इच्छुक बाआमाको आह्वान गर्दै सूचना आएको थियो । मलाई त्यो सूचना एक दिदीले पठाएकी थिइन् । उनी अविवाहित हुन् । ३० वर्ष पुगेकी, मनग्गे कमाइ अनि ममतामयी मन भएकी उनलाई ती छोरी आफूसँग ल्याएर हुर्काउन मन थियो । तर कानुनले दिदीलाई खिस्स पार्‍यो ।

दुई दिनपछि फेरि अर्को खबर आयो, छोरी जन्मेका कारण परिवारले झगडा गरेको सहन नसकी एक आमा भर्खर जन्माएकी छोरीलाई अस्पतालमै छोडेर गायब । दिदीले ती छोरी पाउने हो भने पनि त्यो विभेदी परिवारले छोरालाई दिनेभन्दा बढी स्नेह दिएर हुर्काउँथिन् । तर दिदीको उमेर ४५ पुगेको छैन । दिदी फेरि खिस्स परिन् । हुन त कानुन दिदीलाई खिस्याउने लक्ष्य लिएर बसेको होइन । सायद विधायिकाको मनसाय हुन सक्छ– ४५ भन्दा अघि नै धर्मसन्तान दिएमा पछि त्यस्ता अविवाहितले बिहे गर्न सक्छन्, आफ्नो सन्तान भए धर्मसन्तानलाई बेवास्ता गर्न सक्छन् । तर, बिहे नै नगरी आफूलाई मातृवात्सल्य थाहा दिने, पितृसुख थाहा दिने सन्तानलाई अर्को कथित ‘आफ्नो’ सन्तान जन्मिँदैमा बिर्सेला र कसैले ? कहिल्यै त्यस्तो हुँदैन भनेर ठोकुवा गर्न त सकिँदैन । तर ठोकुवा त कोखबाटै जन्माएकी आमाले पनि आफ्नै शिशुलाई झाडीमा फाल्दिनन् भनेर गर्न नसकिने रहेछ । श्रीमतीसँगको रिस पोख्ने नाममा कुनै बाबुले श्रीमतीसँगै ‘आफ्नै’ कलिली छोरीसमेतको हत्या गर्दैनन् भनेर पनि ठोकुवा गर्न नसकिने रहेछ । आफैंले जन्माएका सन्तानमा एउटालाई काँध चढाउने अनि अर्कोलाई लात्ती बोकाउने बाआमा पनि त हुन्छन् । ४५ कट्दैमा कसैले पछि बिहे गरेर सन्तान पाउनै सक्दैन भनेर पनि त ठोकुवा गर्न सकिँदैन ।

यो असम्भव निश्चितता खोज्ने चक्करमा, एकातिर बच्चा चाहिरहेको घरले सुनसान बस्नुपर्ने, अर्कोतिर घर चाहिरहेको बच्चाले सडकको कोलाहलमा बाँच्नुपर्ने, के इन्साफ हुन्छ ? मुलुकी देवानी संहिताले दफा १७८ (२) मा धर्मपुत्र/पुत्री राखिसकेपछि पनि अर्को सन्तान जन्मिन सक्ने कल्पना गरेको छ । अर्को सन्तान जन्मिए पनि धर्मसन्तानको हैसियतमा कुनै असर पर्न हुँदैन भनेको छ । भनेपछि ४५ सम्म कुर्नपर्नुको औचित्य चाहिँ के ?

अनाथहरूको सुरक्षा राज्यको जिम्मेवारी हो । एउटा जिम्मेवार निकायले धर्मसन्तान लिन चाहनेको आर्थिक, सामाजिक, नैतिक अवस्था जाँच्नैपर्छ । तर ४५ कटेपछि वृद्ध हुँदै जाने बुवा वा आमा पाउनुभन्दा ३०–३५ कै तन्दुरुस्त बुबा वा आमा पाउनु बच्चाको लागि बढी हित होइन र ? कानुनतः नेपालमा सरोगेसी बन्देज गरिएको छ । तर अहिले पनि नेपालकै कति जोडीले सन्तानको रहरमा लुकीछिपी विदेश गई लाखौं खर्च गरेर सरोगेसीको बाटो रोजिरहेका छन् । आफ्नो गच्छेले नभ्याउँदा ऋण लिएरै पनि ।

नेपालमा कुल बालबालिका जनसंख्याको ९ प्रतिशत, अर्थात् १० लाख जना बाबुआमाविहीन छन् । यीमध्ये कति त अनाथाश्रममा अटाउँछन् । संयुक्त राष्ट्रसंघको विश्वव्यापी आँकडाअनुसार गर्भावस्था जटिलताकै कारण विश्वभर बर्सेनि करिब ३ लाखभन्दा बढी महिलाको मृत्यु हुन्छ । कति स्त्रीलाई आमा बन्न मन नहुने होइन तर एकातिर बच्चाको रहर हुन्छ, अर्कोतिर प्रशव पीडाको भयानक कहर । एकातिर पाठेघर, अर्कोतिर त्यही पाठेघरका कारण ज्यान जाला भन्ने डर । कहिलेकाहीं यही डरका कारण जो बच्चा देख्दा पनि नदीजसरी छचल्किने वात्सल्य आफैंले जन्माउने बच्चा सम्झिँदाचाहिँ उराठ लाग्नेगरी सुकिदिन्छ । धर्मसन्तानले त्यो सुकेको वात्सल्य मूल फेरि फुटाउन सक्छन् ।

प्रसिद्ध भारतीय अभिनेत्री तथा सन् १९९४ कि मिस युनिभर्स विजेता सुस्मिता सेन अविवाहित हुन् । तर उनका दुई धर्मपुत्री छन् । सन् २००० मा पहिलो सन्तान रेने र २०१० मा दोस्रो सन्तान अलिशालाई अँगालेकी उनी अन्तर्वार्तामा छोरीको प्रसंगमा सुनाउँछिन्, ‘जेठी छोरी बालिग भइसकी, उसलाई प्रस्टसँग भनेकी छु– तिमीले चाहँदा आफूलाई जन्मदिने बाआमाबारे थाहा पाउन सक्छ्यौ । जानकारी उच्च अदालतको खामभित्र राखिएको छ, मन लाग्दा ढुक्कले गएर खोल्न पाउँछ्यौ । तर उसलाई कहिल्यै त्यो इच्छा जागेकै छैन ।’ आफूलाई जन्म दिने बाआमा को हुन् भनेर चिन्ने इच्छा एकपटक पनि नजाग्नु, यो तहको सन्तुष्टि पाउन कति मीठो बालापन बाँचिन् होला ती बच्ची ।

सुस्मिता तीन वर्षअघि मात्र ४५ पुगिन् । नेपालको कानुनअनुसार, उनी धर्मपुत्री लिएर आमा बन्न सक्षम भएको जम्मा तीन वर्ष भयो । तर आज उनले ६ महिनाकी हुँदा काखमा लिएकी छोरी रेने २३ वर्ष पुगिन् । कान्छी अलिशाले ‘बाआमा ज्युँदै हुने भाग्यमानी’ साथीसँगै बसेर तेह्रौं जन्मदिनको केक काटिसकिन् । भारतीय कानुनले पनि सुस्मितालाई, ‘तिमी अविवाहित हौ, ४५ वर्ष त पुग्नैपर्छ’ भनेको भए, थाहा छैन अहिले खुसीसाथ जिन्दगी बिताइरहेका रेने र अलिशा कुन सडकमा हुन्थे या अनाथालयमा ।

आमा भन्नु कोख मात्र होइन । गर्भबाट उत्रिएका सन्तानजस्तै धर्मसन्तान हृदयबाट जन्मिएका सन्तान हुन् । कसैलाई सन्तान चाहिएको छ, कसैलाई ‘बाआमा’ बन्नुपरेको छ । तर यी दुईबीचको सेतु बन्नुपर्ने कानुनचाहिँ ‘तिमीहरूका आवश्यकताभन्दा मेरा सिद्धान्त ठूला हुन्, म त ज्यान जाला बदलिन्नँ’ भन्दै बसेको छ । कानुन संशोधन गर्ने हो भने उमेरको हद व्यावहारिक भएन भने अरू मापदण्ड कस्ता राख्ने, कति उमेर सही हुन्छ ? लामो बहसपछि यो विधायिकाले निर्क्यौल गर्ला । सुरुवातमा, हामीसँग परिवेश मिल्ने अन्य देशको उदाहरण लिएर अध्ययन गर्न सकिन्छ ।

भारतमा अविवाहित पुरुष वा महिलाले धर्मसन्तान ग्रहण गर्न केबल बालिग भए पुग्छ । बस्, अभिभावक र सन्तानबीचको उमेर अन्तर २५ वर्ष हुनुपर्‍यो । विवाहित जोडीले पनि बिहे गरेर सुमधुर सम्बन्धमा रहेको दुई वर्षपछि नै धर्मसन्तानका लागि आवेदन दिन पाउँछन् । उमेरभन्दा बच्चा चाहनेको नियत, आर्थिक, शारीरिक र मानसिक अवस्थालाई बढी प्राथमिकता दिइन्छ । त्यसैले बरू धर्मसन्तान माग गर्नेको न्यूनतम उमेरभन्दा अत्यधिक उमेरमा चाहिँ हद तोकिएको छ । जति सानो बच्चा उती तन्दुरुस्त बुवाआमा होऊन् भनेर धर्मसन्तान लिँदा बच्चाको उमेर कति छ, त्यहीअनुरूप अभिभावक बढीमा कति उमेरको हुन सक्ने भनेर तोकिएको छ । जस्तै– ४० भन्दा बढी उमेरको अविवाहितले दुई वर्षभन्दा कम उमेरको बच्चालाई धर्मसन्तान लिन पाउँदैन । जोडीको हकमा पतिपत्नीको उमेर जोडेर बन्ने उमेर अर्थात् ‘कम्पोजिट एज’ लाई आधार मानिन्छ । यदि बच्चा ८ देखि १८ वर्षबीचमा छ भने, एक्लो अभिभावक बन्न चाहे ५५ वर्षभन्दा कम भए मात्र र विवाहित जोडीको हकमा कम्पोजिट एज ११० वर्षभन्दा कम हुँदा मात्र धर्मसन्तान ग्रहण गर्न पाइन्छ । भारतमा जे छ, त्यही नै हाम्रा लागि सर्वोत्कृष्ट नहुन सक्छ । तर, जसका लागि बनेको हो, उसलाई नै असहज भइरहने कानुन बदलिनुपर्छ । कम्तीमा बहस सुरु गर्न धेरै ढिला भइसक्यो ।

सुन्दर बालापन पाउने हकका लागि मात्र एक पूर्वसर्त हुनुपर्छ– बच्चा हुनु । बालापनको सुख केवल जन्मका बाआमा ज्युँदा हुनेहरूको शिरको ताज होइन । कुनै बच्चाले सुन्दर बालापन बिताउन आमाबा पाउने सम्भावना छ भने त्यहाँ बाधक बन्ने राज्यलाई संरक्षक भन्न सकिँदैन ।

(राजनीति मात्र होइन, उद्योग, व्यवसाय, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, बैंकिङ, सिनेमा, साहित्य सर्वत्र अहिले निराशा छ । देशले यो निराशाको भारी लामो समय बोक्न सक्दैन । सजीव विश्वास प्रवर्द्धन गर्न कान्तिपुरले सुरु गरेको छ विचार शृंखला– ‘प्रस्थानबिन्दु’ जहाँ फरक–फरक विज्ञले लेख्नेछन् सुधारका प्रस्तावना, निरन्तर ।)

प्रकाशित : फाल्गुन २५, २०८० ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?