कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

बहुसंख्यकवाद अर्थात् राजनीतिक उन्माद 

कतिपय निर्वाचनले कमजोरलाई अझ कमजोर बनाउँछन् र बलियोलाई अझ फासिस्ट । कुनै निर्वाचनले बहुसंख्यकको अहंकारलाई स्थापित गर्छन् र लोकतन्त्रको हुर्मत लिन्छन् । अत: निर्वाचनमा बहुसंख्यकको अहंकार वा उन्माद हाबी नहोस्, अनि मात्र लोकतन्त्र प्रभावकारी हुन्छ ।
केशव दाहाल

व्यक्ति वा पार्टी निर्वाचित हुने प्रचलित चुनावभन्दा माथिबाट लोकतन्त्रलाई हेर्दा कस्तो देखिन्छ ? के लोकतन्त्र भनेको सधैं र सबै प्रयोजनमा अल्पमत र बहुमतको खेल हो ? जसरी आम निर्वाचनमा अल्पमत र बहुमतले काम गर्छ, त्यसरी नै हाम्रा अन्य सामाजिक, आर्थिक र राजनीतिक मुद्दामा पनि लोकतन्त्रले काम गर्छ ? लोकतन्त्रमा संख्याको महत्त्व र सीमा के हो ? आज हामी यी र यस्तै विषयमा चर्चा गर्नेछौं । 

बहुसंख्यकवाद अर्थात् राजनीतिक उन्माद 

एउटा कथाबाट कुरा सुरु गरौं । ५० घरको एउटा सानो गाउँ छ, विजयपुर । गाउँमा १० घर दलित छन् । जनजाति छन् ५ घर । ३ घर मधेसी छन् । बाँकी ३२ घर छन् आर्यखसहरू । गाउँ निकै परम्परागत छ । स्कुल छैन । कजेल छैन । पुस्तकालय छैन । नाट्यशाला छैन । मान्छेहरू आधुनिक ज्ञान र चेतनाबाट कोसौं टाडा छन् । त्यसैले गाउँमा चर्को छ छुवाछूत । हेलाहोचो छ । वर्ण विभाजन छ । त्यसो त, विजयपुरमा कहिलेकाहीँ जातीय मुक्ति र परिवर्तनको कुरा पनि हुन्छ । फेरि त्यो त्यसै हराउँछ, जस्तो पानीको थोपा मरुभूमिमा हराउँछ । त्यसपछि सबै कुरा उसरी नै चल्छ, जस्तो सनातनदेखि चलिआएको छ । मान्छेलाई लाग्छ– ‘विजयपुरमा जे हुन्छ, भाग्य, कर्म र पूर्वजन्मको लीलाअनुसार हुन्छ । त्योभन्दा बाहिर अरू केही पनि हुँदैन ।’

गाउँको बीचमा एउटा कुवा छ । सबैले त्यही कुवाबाट पानी खान्छन् । तर, एक दिन अन्यथा हुन्छ । गाउँमा आएको कुनै पाहुनाले कुवाको पानी दलितहरूले छोएकामा गुनासो गर्छ । त्यो गुनासोले शान्त पोखरीमा ढुंगा हानेझै लहरहरू उठ्छन् । कुवाको पानी दलितले छुन पाउने कि नपाउने भन्ने प्रश्नमा गाउँ दायाँ र बायाँ कोणमा बाँडिन्छ । कोही दलितको पक्षमा उभिन्छन्, कोही वर्णव्यवस्थाको पक्षमा । विवाद बढ्दै जान्छ । जो हेर्दाहेर्दै द्वन्द्वमा फेरिन्छ । के गर्ने, गाउँ अलमलमा पर्छ । यस्तैमा एक दिन आफूलाई निकै पढेलेखेको ठान्ने मान्छे आइपुग्छ । चोकको चौतारोमा बसेर गाउँलेहरूलाई नयाँनयाँ शब्द र तिनका अर्थ सिकाउँछ । जस्तो– लोकतन्त्र, निर्वाचन, बहुमत, अल्पमत आदि । त्यसपछि, निकै रोवसाथ भन्छ, ‘अज्ञानी मनुवाहरू ! नाथे कुवाको सवालमा अल्झिएर कसरी प्रगति गरौला । मूर्खहरू, यो लोकतन्त्रको जमाना हो । लोकतन्त्रले तिमीहरूको समस्या क्षणमा समाधान गरिदिन्छ ।’

‘कसरी महोदय ?’ गाउँले जिज्ञासा राख्छन् । ऊ गर्वसाथ भन्छ, ‘लौ यसो गर, दलितले कुवाको पानी छुन हुन्छ कि हुँदैन भन्ने प्रश्नमा चुनाव गर । एकक्षणमा फैसला भइहाल्छ । आखिर लोकतन्त्रमा सबै कुराको समाधान हो निर्वाचन । निर्वाचनमा जुन पक्षको बहुमत आउँछ, त्यही निर्णय सदर हुन्छ ।’

त्यसपछि विजयपुर गाउँमा के भयो होला, त्यो हामी अनुमान गर्न सक्छौं । अहिलेलाई भने केही प्रश्न गरौं, जस्तो कि त्यो मान्छेको प्रस्ताव तपाईंलाई कस्तो लाग्यो ? के विजयपुरको त्यो संकटलाई निर्वाचनले समाधान गर्ला ? कतिपयलाई लाग्न सक्छ कि आखिर समस्या समाधानका लागि निर्वाचन सबैभन्दा उपयुक्त विधि हो । मान्छेलाई भोट हाल्न लगायो, भोट गन्यो र परिणाम सुनायो । यस्तो विचार राख्नेहरू ठान्दछन्, लोकतन्त्र भनेकै संख्याको खेल हो । अर्थात्, बहुसंख्यकले जे भन्छन्, त्यही नै लोकतन्त्र हो । उनीहरूलाई लाग्छ, बहुसंख्यकको अभिमतलाई अस्वीकार गर्नु अलोकतान्त्रिक हुनु हो । गाउँको साधारण चिया पसलमा मात्र होइन, पार्टीका भव्य अफिस, केन्द्रीय कमिटीका बैठक र बौद्धिक विमर्शमा पनि यस्तो धारणा राख्ने प्रशस्तै भेटिन्छन् । उनीहरूलाई यति थाहा छ कि लोकतन्त्र भनेको निर्वाचन हो र निर्वाचनलाई सबैले मान्नुपर्छ ।

के कुरा ठ्याक्कै यस्तै हो ? आंशिक रूपमा हो । किनभने लोकतन्त्रमा निर्वाचन हुन्छ । अल्पमत र बहुमतले निर्वाचनलाई निष्कर्षमा पुर्‍याउँछ । तर लोकतन्त्रलाई व्यापक अर्थमा हेर्ने हो भने, होइन । किनभने, सबै अवस्थामा न त निर्वाचन मात्र लोकतन्त्र हो, न त लोकतन्त्र मात्र निर्वाचन । न सबै अवस्थामा निर्वाचनले काम गर्छ, न त सबै निर्वाचनले न्याय नै गर्छ । यति भन्नैपर्छ कि जसले लोकतन्त्रलाई फगत निर्वाचन ठान्दछन्, या त उनीहरू लोकतन्त्रलाई बुझ्दैनन्, अथवा उनीहरू मान्छेलाई भ्रम दिइरहेका छन् । या त उनीहरूले बुझेको लोकतन्त्र पुरानो भयो, या उनीहरू सामाजिक संवेदनशीलतालाई अवमूल्यन गर्दछन् ।

विचार गरौं, विजयपुर गाउँमा दलितले कुवा छुन पाउने कि नपाउने भन्ने विषयमा गरिएको निर्वाचनले कस्तो परिणाम देला ? त्यो निर्वाचनमा दलितलाई कुवा छुन नदिने पक्षमा बहुमत आयो भने के होला ? किनभने गाउँको चेतना, जातीय संरचना र विवेकको स्तर हेर्दा सम्भावना त्यही छ । यो अर्थमा, के जताततै निर्वाचनको प्रस्ताव गर्दै हिँड्नु लोकतन्त्र हो ? जस्तो दलितलाई आरक्षण चाहिन्छ कि चाहिँदैन भन्ने विषयमा निर्वाचन । पैतृक सम्पत्तिमा छोरीलाई समान अंश दिने कि नदिने भन्ने विषयमा निर्वाचन । विधवाले विवाह गर्न पाउने कि नपाउने भन्ने विषयमा निर्वाचन । नेपालमा कुन जात ठूलो र कुन जात सानो भन्ने विषयमा निर्वाचन । कुन धर्म राज्य धर्म हुने र कुन नहुने, त्यो विषयमा निर्वाचन । अथवा, दौरासुरुवाललाई राष्ट्रिय पोसाक बनाउने कि धोतीलाई भन्ने विषयमा निर्वाचन । के यावत् विषयमा निर्वाचन गरेर सही निर्णय गर्न सम्भव छ ? कतै यो लोकतन्त्रका नाममा संख्याको अहंकार वा उन्माद त हुँदैन ?

लोकतन्त्र फगत निर्वाचन मात्र होइन । किनभने, कतिपय निर्वाचनले समस्या समाधान गर्दैनन्, बरु बल्झाउँछन् र मुद्दालाई अझ जटिल बनाउँछन् । कतिपय निर्वाचनले विभाजनको नमेटिने रेखा कोरिदिन्छन् र समाजलाई भड्काउँछन् । कतिपय निर्वाचनले कमजोरलाई अझ कमजोर बनाउँछन् र बलियोलाई अझ फासिस्ट । कुनै निर्वाचनले मात्र बहुसंख्यकको अहंकारलाई स्थापित गर्दछन् र लोकतन्त्रको हुर्मत लिन्छन् । अत: निर्वाचनमा बहुसंख्यकको अहंकार वा उन्माद हाबी नहोस्, अनि मात्र लोकतन्त्र प्रभावकारी हुन्छ । अन्यथा, मात्र निर्वाचन गर्नु लोकतन्त्र होइन । अझ निर्वाचनका माध्यमबाट बहुसंख्यकको वर्चस्वलाई स्थापित गर्नु त लोकतन्त्र हुँदै होइन ।

अर्थात्, बहुसंख्यकवाद

बहुसंख्यकवाद भनेको के हो ? यो संख्याको सर्वोच्चतामा विश्वास गर्ने विचार हो । यो अल्पमत वा बहुमतको सामान्य स्वीकारोक्ति होइन । यो यस्तो अहंकार हो, जसले चुनावमार्फत आफ्नो वर्चस्व स्थापना गर्ने अभीष्ट राख्छ । जस्तो– उसलाई थाहा छ, आफ्नो वर्गको बहुमत छ । आफ्नो जातको बहुमत छ । आफ्नो भाषाको बहुमत छ । आफूले मान्ने धर्म, पन्थ वा अस्थाको बहुमत छ । अर्थात्, आफ्नो अहंकारको बहुमत छ । मानौं ऊ ठाउँ कुठाउँ, भाषण गर्दै हिँड्छ र भन्छ, ‘मेरो धर्म तिम्रोभन्दा विशेष छ । मेरो भाषा तिम्रोभन्दा विशेष छ । मेरो जात तिम्रोभन्दा विशेष छ ।’ ऊ आफ्नो जाति, भाषा, धर्म, संस्कृति र ईश्वरलाई अगाडि सारेर पाखुरा सुर्किंदै अरूलाई हियाउँछ र भन्छ, ‘आऊ, कसको देउता ठूलो जनमतसंग्रह गरौं ।’ कसैले ऊसँग थोरै बराबरीको कुरा गरे गर्जिन्छ र भन्छ, ‘आऊ चुनावबाट हिसाबकिताब मिलाऊ ।’ ऊ यसरी चुनावको पक्षमा उभिन्छ, मानौं ऊ लोकतन्त्रको सच्चा सिपाही हो । वस्तुत: ऊसँग लोकतन्त्रको कुनै साइनो छैन । ऊ मात्र हो उन्मादी । र, उसको उन्मादको स्रोत हो बहुसंख्यकवाद ।

प्राविधिक रूपमा बुझ्दा निर्वाचन अवश्य लोकतन्त्रको आधार हो । लोकतन्त्रले बहुमत र अल्पमतकै आधारमा निर्णय गर्छ । यो साधारण निर्वाचनको कुरा भयो । जब सामाजिक, आर्थिक सवाल वा मान्छेको व्यक्तिगत मूल्यमान्यता, आस्था र पहिचानको कुरा आउँछ, संख्याभन्दा महत्त्वपूर्ण हुन जान्छ मुद्दा । महत्त्वपूर्ण हुन्छ, त्यो मुद्दाले पार्ने सामाजिक, आर्थिक र मानवीय प्रभाव । महत्त्वपूर्ण हुन्छ, त्यो मुद्दासँग जोडिएर आउने, व्यक्तिका निजी मामला र अधिकारहरू ।

माथिको सन्दर्भमा विजयपुर गाउँका दलितले कुवा छुन नपाउने पक्षमा बहुसंख्यकले मत हाले भने के हुन्छ ? के त्यो चुनावको परिणाम सभ्य समाजले मान्न सक्छ ? यसमा दुइटा कुरा छन् । पहिलो, जहाँको समाजले प्रस्तावित मुद्दाको अर्थ, गम्भीरता र गहिराइ बुझ्दैन, त्यो मुद्दामा गरिने निर्वाचनले मात्र संख्याको अहंकार स्थापित गर्छ । दोस्रो, जहाँ निर्वाचनका लागि सोधिने प्रश्न नै आमरूपमा बेठिक र अर्थहीन छ, त्यहाँ निर्वाचनले सही परिणाम दिँदैन । वस्तुत: यस्ता विषयमा निर्वाचनबारे सोच्नु नै बेठिक हुन्छ, जसले कुनै खास जाति, भाषा, धर्म र सम्प्रदायलाई अन्याय गर्दछ । यदि कसैले यस्ता विषयमा चुनावको माग गर्छ भने, यो यस्तो खतरनाक प्रवृत्ति हो जसले लोकतन्त्रलाई त बर्बाद गर्छ नै, समानता, न्याय र समावेशीकरणलाई समेत अवमूल्यन गर्छ । जसलाई भनिन्छ, बहुसंख्यकवाद ।

लोकतन्त्र भनेको निर्वाचन हुनु, जित्नु र जित्नेको वर्चस्व स्थापित गर्नु होइन । लोकतन्त्र निर्वाचनभन्दा धरै माथिल्लो विषय हो । लोकतन्त्र भनेको मुख्यत: सामाजिक न्याय हो । मानवता हो । सत्यको पक्षमा उभिने दृढता हो । र, हो परिवर्तनको मुद्दा । यस्तो मुद्दा, जसले सभ्यतालाई अझ धेरै मानवीय, उदार र प्रेममय बनाओस् । सत्य र न्यायलाई स्थापित गरोस् । समाजलाई अगाडि जान मद्दत गरोस् । मान्छेको स्वतन्त्रता र स्वाभिमानलाई अझ माथि लगोस् । जहाँ अल्पमतको पनि अधिकार उल्लंघन नहोस् र बहुमत अझ उदार र विनम्र बनोस् । अन्यथा निर्वाचनले, कसैको आस्थामाथि चोट पुग्छ भने त्यो निर्वाचन लोकतन्त्र होइन । निर्वाचनले कसैलाई सीमान्तीकृत गर्छ भने, त्यो निर्वाचन लोकतन्त्र होइन । निर्वाचनले मान्छेमा हिनताबोध सिर्जना गर्छ भने त्यो निर्वाचन लोकतन्त्र होइन । निर्वाचनले मान्छेलाई विभाजन गर्छ भने, त्यो निर्वाचन लोकतन्त्र होइन । त्यो हो, बहुसंख्यकवाद । बहुसंख्यावाद यसकारण हानिकारक छ कि यसले या त बहुसंख्यकको दम्भ देखाउँछ, अथवा बहुसंख्यकलाई खुसी पार्न लोकरिझ्याइँको सहारा लिन्छ ।

बहुसंख्यकवादीलाई लाग्छ, संख्या शक्ति हो । तर लोकतन्त्रले सधैं संख्या मात्र हेर्दैन । हेर्छ, सवाल । लोकतन्त्र मुख्यत: सत्य र न्यायको उच्चतम् अभिव्यक्ति हो । अन्यथा बहुसंख्यकहरूको वर्चस्व स्थापना गर्ने अर्थमा लोकतन्त्रलाई बुझ्ने हो भने, सामाजिक न्यायको अवस्था के होला ? अल्पसंख्यकहरूको स्वाभिमान के होला ? यदि संख्याको मात्र रजगज चल्ने हो भने त्यो संसार निकै पक्षपातपूर्ण र अन्यायी हुनेछ । किनभने जहाँ बहुसंख्यकले लोकतन्त्रको बर्को ओडेर शासन गर्छ, त्यो संसार उन्मादी हुन्छ र किमार्थ बस्न योग्य हुँदैन । यो संसार यसकारण बस्न लायक छ कि यहाँ संख्याले मात्र काम गर्दैन । अन्यथा बहुसंख्यकवादले अल्पमतका लागि उभिने एक इन्च जमिन पनि दिने थिएन ।

हाम्रो जस्तो समाजमा लोकतन्त्र बहुसंख्यकवादी हुँदैन, हुन्छ बहुलवादी । बहुसंख्यकवादी हुनु र बहुलवादी हुनु नितान्त विपरीत कुरा हो । बहुसंख्यकवादीले संख्याको अहंकार देखाउँछ । बहुलवादीले बहुलतामा एकता र समभावको कुरा गर्छ । बहुलवादी लोकतन्त्र यस्तो अवधारण हो, जसले समाजमा अल्पमत र बहुमत हेर्दैन । समाजको इन्द्रेणी हेर्छ । त्यसको सुन्दरतालाई हेर्छ, अनुभूत गर्छ र रङहरूको विविधतालाई स्विकार्छ । बहुलवादी लोकतन्त्र, एकताको लोकतन्त्र हो । सद्भावको लोकतन्त्र हो । बहुसंख्यकवाद विग्रह, विभाजन, कट्टरता र द्वन्द्व हो ।

अब विचार गरौं, हाम्रो देश कस्तो छ ? बहुजातीय, बहुभाषिक, बहुधार्मिक र विविधतायुक्त छ । यो यस्तो चरित्र हो, जसमा कसको संख्या कति छ, त्यो महत्त्वपूर्ण हुँदैन । महत्त्वपूर्ण हुन्छ सबैका लागि स्वाभिमान र समृद्धि । किनभने आजको लोकतन्त्रले भन्छ– जन्मले प्रत्येक व्यक्ति बराबर छ । व्यक्तिले मान्ने धर्म बराबर छ । व्यक्तिले बोल्ने भाषा बराबर छ । व्यक्तिले लगाउने भेष बराबर छ । प्रत्येक व्यक्तिको ईश्वर बराबर छ । प्रत्येक व्यक्तिको आस्था बराबर छ । किनभने प्रत्येक ब्यक्तिको सार्वभौमिकता बराबर छ । संख्या जति होस्, व्यक्ति महत्त्वपूर्ण छ । चाहे एक जना होस् वा होस् लाख, सबैको अस्तित्व समान छ । र, उसको निजी आस्था, मूल्यमान्यता कसैसँग पनि तुलनीय छैन । यो अर्थमा लोकतन्त्र अल्पमत र बहुमत हैन, सम्पूर्ण न्याय हो । त्यसैले यो बहुसंख्यकवादी हुँदैन, हुन्छ बहुलवादी । किनभने, बहुलवादी समाजमा संख्या फगत प्राविधिक कुरा हो, मुख्य कुरा हो साझा सभ्यता, साझा भावधारा । मुख्य कुरा हो, सबैका लागि स्वाभिमान र समृद्धि ।

लोकतन्त्र मुख्यत: मान्छेलाई उसको समान अस्तित्वसहित एकाकार गर्ने विधि हो । यो अर्थमा, लोकतन्त्रको आडमा बहुसंख्यकको उन्मादलाई राजनीतिको रङ दिनु फगत अहंकार हो । अत: सधैं र सबै अवस्थामा संख्याको लोकतन्त्रका पछाडि नलागौं । लागौं, सत्य र न्यायका मुद्दातिर । अन्यथा, बहुसंख्यकको उन्मादले हामीलाई कहिल्यै अगाडि जान दिनेछैन ।

प्रकाशित : फाल्गुन २, २०८० ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?