१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

विभ्रममा परेको कम्युनिस्ट राजनीति

नेपालको कम्युनिस्ट आन्दोलनको नराम्रोसँग भ्रष्टीकरण भएको छ । गुटहरू स्वार्थ समूहमा बदलिएर पुनः नयाँ स्वरूपको समीकरण बनाउन खोज्दै छन् । पार्टी विभाजन र एकता स्वार्थपूर्ति गर्ने साधन बनेको छ ।
हरिबोल गजुरेल

मार्क्सवादका आधारभूत मान्यतालाई उपयोगितावाद (व्यवहारवाद) को चंगुलमा फसाएर सत्यापनको गलत प्रयास गर्नाले नेपाल र विश्वमा समाजवादी आन्दोलन संकटबाट गुज्रिरहेको छ । विश्वको एकतिहाइ भूभागमा प्रभाव जमाएको कम्युनिस्ट आन्दोलन आज रक्षात्मक भइरहेको छ । यसको कारण सक्षम नेतृत्व अग्रपंक्तिमा नहुनु हो ।

विभ्रममा परेको कम्युनिस्ट राजनीति

नेतृत्व गर्न इमानदारी, ज्ञान र चातुर्य चाहिन्छ । जब यी तीन गुणको सन्तुलन बिग्रन्छ, त्यतिखेर ठूलो संकट पैदा हुन्छ । प्राकृतिक नेतृत्व यी गुणले परिपूर्ण हुन्छ । यसको परिपूर्ति अनिवार्यता र आकस्मिकताको नियमअनुरूप हुने गर्दछ । यसर्थ यस प्रकारको नेता पार्टीमा नियमित रूपमा आइरहेको हुँदैन ।

संकटका बेला ‘डिफ्याक्टो’ नेता निस्कन्छ र संकटबाट राष्ट्रलाई मुक्त गर्छ । पुँजीवादी परिवर्तनको प्रक्रियामा पुष्पलालको प्रभावमा मदन भण्डारी, प्रचण्ड र नारायणकाजीलाई दृष्टान्तका रूपमा लिन सकिन्छ । तर पुँजीवादी परिवर्तनको कार्यभार पूरा गर्न सफल नेता समाजवादी कार्यभार पूरा गर्न असफल हुन सक्छ ।

समाजवादी कार्यभार पूरा गर्न इमानदारी र ज्ञानको स्केल धेरै माथि हुनु जरुरी हुन्छ । यस स्तरको इमानदारी र ज्ञान सोहीअनुरूपको चातुर्यबाट प्रयोग हुन सक्छ । निम्न पुँजीवादी प्रवृत्ति, चरम महत्त्वाकांक्षा र व्यक्तिवाद समाजवादी कार्यभार पूरा गर्न बाधक हुन्छ । सामन्तवादविरुद्ध कामयाब भएको चातुर्य समाजवादी कार्यभारसँग मेल खाँदैन । पुँजीवादी परिवर्तनको परिवेशमा भनाइ र गराइमा कायम गरिएको सन्तुलन समाजवादी कार्यभार पूरा गर्न अपुग हुन्छ । अहिले नमिलेको यसैमा हो । त्यो हो— भनाइ र गराइमा चिनियाँ पर्खाल । अर्थात्, ‘कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ ।

इतिहासको जगमै वर्तमान उभिएको हुन्छ । यसर्थ उपर्युक्त निष्कर्षलाई पुष्टि गर्न इतिहासको गर्भमा रहेका विषयहरूतर्फ पनि घोत्लिन आवश्यक छ । २०४८ सालको संसदीय निर्वाचनमा ‘वाम’ तालमेल करिबकरिब अन्तिम निष्कर्षमा पुगेको थियो । मुख्यतः सिरहाको ३ नं. क्षेत्र मा कुरा नमिल्दा ‘क्लिक’ हुन सकेन । ‘वाम’ तालमेल भएको भए स्पष्ट बहुमत हुने रहेछ भन्ने कुरा चुनाव परिणाम आएपछि स्पष्ट भयो ।

२०४८ सालमा वामपन्थीहरू बहुमतमा भएका भए नेपालको राजनीतिक कोर्स कसरी अगाडि बढ्थ्यो भन्ने विषय इतिहासको गर्भमा रहन गयो । वामपन्थीहरूको उक्त अधुरो सपना २०७४ सालको संघीय संसद्को निर्वाचनमा पूरा भयो । यस अर्थमा एमाले र माओवादी पार्टीबीचको त्यो चुनावी गठबन्धन ऐतिहासिक कदम थियो । तर हामीले यो ऐतिहासिक कदमको रक्षा गर्न सकेनौं । पार्टी एकताको त कुरै छाडौं, गठबन्धनसम्म कायम राख्न सकेनौं । यसका कारणहरू खोतल्न आवश्यक छ ।

२०६४ सालको संविधानसभामा नेकपा (माओवादी) सबभन्दा ठूलो दल भयो । पार्टीभित्रको अन्तरविरोधको समुचित संश्लेषण र व्यवस्थापन गर्न नसक्दा संविधान निर्माणको ऐतिहासिक दायित्व पूरा गर्न नसकेको मात्र होइन, पार्टीसमेत सग्लो रहन सकेन । जनताले त्यसको सजाय २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा दिए । जेजस्तो भए पनि एक थान संविधान जनताले प्राप्त गरे । तर जनअपेक्षाअनुरूप जनयुद्ध, १९ दिने आन्दोलन र मधेश आन्दोलनको छाप देखिने गरी संविधान बन्न सकेन । शासकीय स्वरूप, संघीयता र भूमिसुधारको सवालमा जनता नराम्रोसँग ठगिए ।

कमजोर माओवादीका लागि २०७४ सालमा चुनावी तालमेल आवश्यक भयो । त्यसैगरी कांग्रेस– माओवादी सहकार्य तोड्न एमाले लाग्यो । स्थानीय तह निर्वाचनबाट माओवादीले कांग्रेससँग गठबन्धन सहज नहुने देखिसकेको थियो । कांग्रेसले न्यूनतम सिट दिन आनाकानी गरेपछि यसको फाइदा एमालेले लियो र एमाले–माओवादी गठबन्धनलाई झन्डै दुईतिहाइ बहुमत प्राप्त भयो । केपी ओलीको नेतृत्वमा सरकार बन्यो । कांग्रेसले गठबन्धन तोड्न प्रधानमन्त्री पद बाँड्दै हिँड्यो तर सफल हुन सकेन । कांग्रेसले हार मानेन ।

अन्तर्राष्ट्रिय सहयोगमा गठबन्धन भत्काउन कांग्रेस लागिरह्यो । यता एमालेलाई सधैं सरकार ढल्ने त्रासले पिछा छोडेन । यो त्रासका कारण एमालेले पार्टी एकताको जाल फाल्यो, जुन आलोपालो प्रधानमन्त्रीका रूपमा व्यक्त भयो । एमालेले संघीय समाजवादीलाई मिलाएर वा विभाजित गरेर आफूलाई बाइपास गर्ने त होइन भन्ने त्रास माओवादीलाई पर्न गयो । एकअर्काप्रति अविश्वासको जग कायमै राखेर एकता भयो । दुवै पार्टीका नेता–कार्यकर्ताबीच सामान्य छलफलसम्म नगरी भएको एकतालाई चमत्कारको पगरी गुथाइयो । तर त्यो क्षणिक साबित भयो । नेकपाको विभाजनपछि जनतामा निराशा निकै चुलियो । यसमा टेकेर प्रतिगमनले टाउको उठायो । यसको चर्को मूल्य माओवादीले चुकाउनुपरिरहेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको संघर्ष चर्कंदै जाँदा धोबीघाट समीकरणको परिणामबाट शिक्षा लिन सकिएन । २०६८ सालमा माओवादीभित्रको गुटगत संघर्ष धोबीघाट र नयाँबजार समिकरणमा बदलिएपछिको विभाजनले जनतामा चरम निराशा पैदा भयो । दोश्रो संविधानसभा चुनावको परिणाम अकल्पनीय थियो । त्यसलाई सजिलै बिर्सन पुग्यौं । यो तीतो अनुभव बेहोरेको हुनाले नेकपाभित्रका गुटहरूको संघर्ष समीकरण र फुटतिर अग्रसर नहोऊन् भन्ने चाहना राखेर रोक्न केही प्रयास गर्नु साझा कर्तव्य थियो ।

तर भैंसेपाटी र बालुवाटार समीकरण बनेर इतिहासको पुनरावृत्ति भएरै छाड्यो । र फुट्यो पनि । २००७ सालपछि नेपालमा कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न नपाएको तीतो यथार्थको पृष्ठभूमिमा यो फुटलाई रोक्न गरिएको प्रयास ऐतिहासिक थियो भन्दा अतिशयोक्ति नहोला । यो तथ्य घटनाक्रमले पुष्टि गरिसकेको छ । यससँगै सहकार्यको नयाँ संस्कृतिको अभ्यास र पर्याप्त वैचारिक–राजनीतिक छलफल नगरी क्षणिक फाइदाका लागि पार्टी एकता गर्नु गलत थियो भन्ने कुरा पनि पुष्टि भएको छ ।

नेपालका कम्युनिस्ट पार्टीहरूको वामपन्थी चरित्रमा स्खलन आइरहेको वर्तमान स्थितिमा के गर्ने भन्ने प्रश्न निकै पेचिलो छ । यस विषयमा क्रान्तिकारीहरू गम्भीर हुनुपर्छ । यतिखेर पुष्पलालको धैर्य, साहस र दूरदर्शिताबाट शिक्षित हुनैपर्छ । इतिहास र वर्तमानको संश्लेषण गरेर भविष्यको बाटो तय गर्नुपर्दछ । २०१७ सालमा राजाले ‘कु’ गरे । २०१९ सालमा सम्पन्न तेस्रो महाधिवेशनले संशोधनवादी बाटो समात्यो ।

फलतः कम्युनिस्ट पार्टी विघटन भयो । तर पुष्पलालले हरेस खाएनन् । संस्थापक महासचिव पुष्पलालले पञ्चायती क्रूर दमनको प्रतिरोध गर्दै देशभित्र र प्रवासमा घनीभूत छलफल चलाए । २०२५ सालमा सम्भव भएसम्म क्रान्तिकारीहरूलाई समेटेर गोरखपुर सम्मेलनमार्फत नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरे । जनयुद्ध र २०४६ सालको परिवर्तनको वैचारिक–राजनीतिक आधार पुष्पलालले नै खडा गरेका हुन् । अन्य नेताले बरालेको कम्युनिस्ट आन्दोलनलाई पुष्पलालले सही बाटामा ल्याएर युवाहरूलाई आकर्षित गरी बलियो राजनीतिक जग निर्माण गरे । ठीक त्यसरी नै अहिले बरालिएको समाजवादी आन्दोलनलाई नयाँ दिशा दिन आवश्यक छ ।

यस सन्दर्भमा उत्तराधिकारीको विषयले सर्वाधिक महत्त्व राख्दछ । यो कुनै व्यक्तिलाई तोकेर हुने विषय होइन । यो दुई तरिकाले अगाडि आउँछ— (१) नेतृत्वसँग छलफल र सहकार्य गरेर, (२) नेतृत्वसँग रचनात्मक संघर्ष गरेर । पहिलो दृष्टान्त मार्क्स–एंगेल्स हुन् भने दोस्रो दृष्टान्त लेनिन र ट्रटस्की । आज युवा नेतृत्वलाई आकर्षित गर्न सक्ने दोस्रो प्रकारको नेतृत्व कम्युनिस्ट आन्दोलनले खोजिरहेको छ । कुनै कम्युनिस्ट पार्टीले यो आवश्यकता पूरा गर्न सक्ने लक्षण देखिँदैन । यसका लागि फराकिलो घेराभित्र खुकुलो खालको वैचारिक फोरम निर्माण गर्न सकिन्छ । यतिखेर विभिन्न बहानामा पार्टीभित्र अभ्यास भइरहेको गुट निर्माणको प्रतिस्पर्धा एकदमै घातक छ ।

कम्युनिस्ट पार्टीमा घातक र मुख्य रोग नै गुटबन्दी हो । विश्वमा कम्युनिस्ट अस्तव्यस्त हुनुको मूल कारण गुटबन्दी हो । बुर्जुवाहरूको मूल चरित्र नै प्रतिस्पर्धात्मक हुन्छ, आपसी प्रतिस्पर्धाबिना उनीहरूको पार्टी फस्टाउँदैन । कम्युनिस्टको मूल चरित्र सहकार्य हुन्छ, प्रतिस्पर्धा सहायक हुन्छ । यसर्थ प्रवृत्तिहरूबीच बहसको संश्लेषण र व्यवस्थापनले पार्टीको विचार–नीति विकास मात्र गर्दैन, सबै प्रवृत्तिलाई पार्टीवरिपरि एकताबद्धसमेत गर्दछ ।

जब नेतृत्व संश्लेषण र व्यवस्थापन गर्न असफल हुन्छ तब प्रवृत्ति गुटमा, गुट स्वार्थ समूहमा र स्वार्थ समूहहरू समीकरण र प्रतिसमीकरणमा बदलिन्छन् अनि कम्युनिस्ट पार्टी टुक्राटुक्रा हुन्छ । नेपालमा यति धेरै कम्युनिस्ट पार्टी हुनुको मूल कारण यही हो । यससँग जोडिएको विषय साध्य र साधनबीचको अन्तरसम्बन्ध पनि हो । साध्य प्राप्त गर्न जस्तोसुकै साधन पनि प्रयोग गर्न सकिन्छ भन्ने बुर्जुवा मान्यतालाई कम्युनिस्टहरूले जस्ताको तस्तै प्रयोग गर्नाले कम्युनिस्ट पार्टीभित्र गुट जन्मने, फस्टाउने मात्र होइन, ख्रुस्चेभ र लिनपियाओजस्ता गलत पात्र पनि उत्तराधिकारी हुन पुग्छन् ।

नेपालको कम्युनिस्ट आन्दोलनको नराम्रोसँग भ्रष्टीकरण भएको छ । गुटहरू स्वार्थ समूहमा बदलिएर पुनः नयाँ स्वरूपको समीकरण बनाउन खोज्दै छन् । पार्टी विभाजन र एकता स्वार्थपूर्ति गर्ने साधन बनेको छ । पार्टीविशेषमा मात्रै छलफल, बहस र संघर्ष चलाएर निकास दिने समयसीमा कटिसकेको छ । २०६२–६३ सालको आन्दोलनपछिका विभाजन र एकताले यसको पुष्टि गरिसकेकाले अब अलमलिनु आवश्यक छैन ।

अब आ–आफ्नै पार्टीमा रहेर देशभित्र र बाहिर विभिन्न परिवेशमा रहेका सापेक्षिक इमानदारहरूबीच छलफल चलाई नयाँ परिवेश खडा गर्न आवश्यक छ । यो नयाँ परिवेश निर्माण गरेर पार्टीभित्र र बाहिर चल्ने बहसमा क्षमतावान्, नयाँ, प्रतिभाशाली प्रौढ र युवालाई समावेश गर्नुपर्दछ तब मात्र कम्युनिस्ट आन्दोलनमा ध्रुवीकरण र एकताले सार्थकता पाउँछ । अन्यथा ‘जति डोरी बाटे पनि गाँठो एउटै’ भनेजस्तै हुनेछ ।

प्रकाशित : माघ १०, २०८० ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?